- विशेष प्रतिनिधि, टोकियो (जापान)
जापानमा राजधानी टोकियो नजिकै खानागावा प्रान्तको इसुगोमा आगलागीमा परेर एकजना नेपालीको निधन भएको छ ।
मृत्यु हुनेमा रुपन्देही सैनामैनानिवासी अन्दाजी ४० वर्षीय छमबहादुर थापा रहेको बुझिएको छ । प्राप्त जानकारीअनुसार दक्ष सिपअन्तर्गत कुक पेशा गर्दै आएका थापा करिव १० वर्षअगाडि जापान आएका थिए ।
उनी श्रीमतीसहित इसुगोमा रहेको कोठामा बस्दै आएका थिए । कोठामा एक्कासी आगो लागेको खबर पाएपछि प्रहरी आएर अस्पताल लगेको भएपनि अचेत अवस्थामा अस्पताल लगिएका थापालाई अस्पतालले मृत घोषणा गरेको इसुगो प्रहरीलाई उद्धृत गर्दै जापानी समाचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन् ।
घटना यही अगष्ट ७ तारिख साँझ करिब ५ः३० बजे ५ तले भवनको पाचौं तलामा भएको जानकारी अग्निनियन्त्रकहरुले पाएका थिए । आगलागीको कारण थाहा हुन नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
आगलागीको घटनामा मृतक थापाकी श्रीमती भने सकुशल रहेकी छिन् । आगलागीको समयमा थापाकी श्रीमती कोठाबाहिर रहेको बताइएको छ ।
प्रतिक्रिया