आजको पञ्चाङ्ग एवम् राशिफल (२६ श्रावण २०८२ सेमबार, ११ अगस्ट २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ श्रावण २०८२ सेमबार, ११ अगस्ट २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन २६ गते तद्अनुसार सन् २०२५ अगस्त ११ तारिख सोमबार भाद्र कृष्ण पक्षको द्वितीया तिथि शतभिषा नक्षत्र अतिगण्ड योग वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ मा भयो र सूर्यास्त साँझ १८ः४४ मा हुनेछ । आज रोपाईं जात्रा ।

आजको राशिफल

मेष – केही चुनौती वृद्धि हुनसक्ने समय छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउन सक्छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्ला, ध्यान राख्नुहोस् । सन्तानपक्षबाट फाइदा र सुख मिल्ने, रोकिएका काम सुरु हुने योग छ । तर, स्वास्थ्यमा बाधा र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्न सक्छन्, व्यवहारमा सावधानी अपनाउनु उचित होला । प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिन्छ ।

वृष – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । आजको दिन साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । तथापि, धेरै परिश्रमबाट थोरै लाभ मिल्ने र घरखर्च पनि बढ्ने देखिन्छ । शिक्षामा राम्रो प्रगति होला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । आफन्तको साथ-सहयोग प्राप्त हुनेछ । आरोग्यबल बढ्ला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता हुनेछ ।

मिथुन – परोपकार र सामाजिक काममा रुचि जाग्ने समय छ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन खोजेपनि रोकिएका काम बन्न थाल्नेछन् । आरोग्यबल बढ्नुका साथै सुख वृद्धि हुनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइलेखाइको दृष्टिले अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ ।

कर्कट – सामाजिक प्रतिष्ठा बढ्ने तथा मानसम्मान पाइने समय छ । विपरीतलिंगीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । नयाँ सफलता प्राप्त होला । साझेदारीमा भने सम्बन्धमा खटपट आउन सक्छ, अप्ठ्यारोमा पर्नुअघि नै सावधानी अपनाउनुहोला । स्थायी सम्पत्ति आर्जन गर्ने योग छ । रोकिएको काम तथा यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

सिंह – बुद्धिको उपयोगले महत्वपूर्ण काम लिने समय छ । बुद्धि-विवेकको उपयोग गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेर विशेष अवसर हात पार्न सकिएला । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । सामथ्र्य वृद्धि होला । काममा सफलता मिल्नुका साथै रमाइलो जमघटमा सरिक हुने योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

कन्या – जटिल समस्यालाई पनि चिर्न सकिने समय छ । कार्यगति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा विदेशमा अध्ययनका लागि अवसर जुर्ने सम्भावना छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्यमा मन जाला । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइने समय छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । तथापि, विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । तर, पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

वृश्चिक – व्यवसायमा थप लगानी बढाउन सकिने समय छ । स्वास्थ्यस्थितिमा सुधार आउला । कर्मयोग अभिवृद्धि हुनेछ, तर सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने सम्भावना छ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको योग छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आजको दिन अरुको भर नपर्नु उचित हुनेछ ।

धनु – आजको दिन मन त्यसै-त्यसै फुरुङ्ग रहला । नसोचेको ठाउँबाट धन आउने सम्भावना छ । प्रियजनसँग भेटघाट र प्रशन्नताको समय भएपनि केही चुनौती खडा हुन सक्छ, तर हितैषीजनको सहयेगले समस्याको निराकरण हुने देखिन्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने योग छ । व्यवसायमूलक भ्रमण हुनसक्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आफन्तको साथ मिल्नुका साथै सुख सुविधाका वस्तु बढ्नेछन् ।

मकर – मिश्रित फलदायी समय छ । आँट र कौशलले जटिल कामसमेत सम्पादन हुनसक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । महत्वपूर्ण योजनामा ढिलासुस्ती र आर्थिक हानी हुनसक्ने योग रहेकोले आजको दिन काममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्ने देखिन्छ । तथापि, परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । विपरीतलिंगीको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – कामबाट सजिलै फुर्सद पाइनुका साथै प्रशन्नता मिल्ने दिन छ । माया गर्ने आफन्तसँग भेटघाट होला । रोकिएका काम बन्नेछन् भने बौद्धिक कार्यमा विशेष सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, ध्यान राख्नुहोला । विद्यार्थीजनका लागि अनुकूल समय छ ।

मीन – भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिनाकारण अनेक चुनौती सामना गर्नुपरे पनि आजको दिन आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ भने राजनीतिमा सक्रिय पात्रका लागि विशेष सफलता प्राप्त हुने समय छ । उन्नति पदोन्नति होला । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । आमोदप्रमोदको भाव वृद्धि होला ।