डा. रिजालको ‘दुहुनो गाई’ नै हो त राष्ट्रिय ट्रमा सेन्टर ?

डा. रिजालको ‘दुहुनो गाई’ नै हो त राष्ट्रिय ट्रमा सेन्टर ?


देशकै एकमात्र राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक तथा प्रशासनिक अनियमितता हुने गरेको सन्दर्भ चर्चामा रहँदै आएको छ । सो सेन्टर हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मातहत छ । वीर अस्पताल इमर्जेन्सीको शाखाको रूपमा स्थापित इमर्जेन्सी एण्ड ट्रमा सेन्टर अहिले सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालको ‘चलखेल’को केन्द्र बनिरहेको सम्बद्ध कर्मचारीहरू बताउँछन् ।

सम्बद्ध स्रोतका अनुसार डा. रिजालले अवैधानिक तवरले रकम लिएर कर्मचारी भर्ती गर्ने तथा मेडिकल माफियाको मिलेमतोमा स्वास्थ्य उपकरण लगायत अन्य सामानहरू महँगोमा खरिद गर्दै कमिसन खाने अड्डा बनेको यतिबेला राष्ट्रिय ट्रमा सेन्टर !

प्रमुख रिजालले हालै मात्र पनि एक दर्जनभन्दा बढी कर्मचारी बिना दरबन्दी भर्ना गरेका छन्, जसवापत उनले प्रतिब्यक्ति ३ देखि ५ लाखसम्म रकम लिएर नियुक्ति गरेका स्रोतको दाबी छ । उनले बिना दरबन्दी हालै भर्ती गरेका कर्मचारहीहरूमा हेल्थ असिस्टेन्ट गिरी, चौधरी, धामी थर भएका लगायत पाँच जना, मेडिकल अफिसर डा. ठाकुर, डा. सिद्धिगी, डा. झा, डा. शाह, डा. यादव, डा. रौनियारलगायत ९ जना, स्टाफ नर्स १० जना रहेका छन् । यस्तै, ल्याबमा चार जना घुसाएको सेन्टरका कर्मचारी बताउँछन् ।

बताइएअनुसार स्वास्थ्य मन्त्रालयबाट सिफारिस भएर आएकाहरूसँग पनि ‘माथिबाट भनेर मात्रै कहाँ हुन्छ ? यहाँ पनि मिलाउनुपर्छ, उताचाहिँ नभन्नु’ भन्दै अस्पतालकै एक बिचौलियामार्फत उनी रकम असुल्छन् ।

मन्त्रालयको सचिवालयका एक कर्मचारी भन्छन्- ‘डा. रिजालले कर्मचारी र ब्यापारीलाई दुःख दिँदै बार्गेनिङ गर्ने गरेको सूचना हामीकहाँ पनि आएको छ, यिनले त स्वास्थ्यमन्त्रीकै बदनाम गर्ने भए !’ ट्रमा सेन्टरको ब्यवस्थापन समितिका अध्यक्ष प्रतिष्ठानको रजिस्ट्रार हुने भए पनि डा. रिजालले रजिस्ट्रारबाट टिप्पणी सदर नगरी कर्मचारी नियुक्ति गरेका हुन् । प्रतिष्ठानका एक पदाधिकारीले बताएअनुसार ट्रमा सेन्टर डा. रिजालको निजी अस्पताल अर्थात् ‘दुहुनो गाई’ जस्तो भएको छ ।

डा. रिजाल नेपाल मेडिकल एसोसिएसनका पूर्व महासचिव एवं वर्तमान उपाध्यक्ष हुन् । उनी अब एसोसिएसनको आगामी कार्याकालका लागि अध्यक्षको दाबेदारी गरिरहेका छन् । तर, एसोसिएसनका वर्तमान तथा पूर्व पदाधिकारीहरू यस्ता भ्रष्ट पात्रलाई अगुवा बनाएर संगठनको बदनाम गर्न नहुने धारणा राख्दछन् ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल नेपाल सरकारको ११औँ तहका कर्मचारी तथा कार्यालय प्रमुख भएरपनि गैरकानुनी तथा अवैध रुपमा निजी अस्पतालमा करोडौँ लगानी गरी नियमविपरीत कार्य गरेका छन् । उनको काठमाडौं गोंगबुमा अल नेपाल हस्पिटल प्रालि सञ्चालनमा छ, सो हस्पिटलको दर्ता नं. ८६२२१/०६८/०६९ र प्यान नं. ६००३०३३७६ रहेको छ ।

यस्तै, २०७७/३/०९ मा कम्पनी रजिस्ट्रार को कार्यालयमा बुझाएको शेयर लगतमा बद्री रिजालको शेयर संख्या ११२२१४ देखि २१५६८० सम्म जम्मा १०३४६६ कित्ता रही १०३४६६०० रकम रहेको थियो । उनी २०७८ सालमा उक्त हस्पिटलका अध्यक्ष थिए भने २०७८/११/१४ गते को वार्षिक साधारणसभा बैठकमा अध्यक्षतामा गरेर हस्ताक्षर गरेका छन् । २०८०/३/१६ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको शेयर दर्ता किताबको लगतमा ९०००१ देखि २४३४६६ सम्म १५३४६३ कित्ता शेयर र रकम १५३४६६०० थियो भने २०८०/०९/१९ गते बसेको सञ्चालक समितिको वैठकमा सन्चालक समितिमा भएर बैठक बसी हस्ताक्षर गरेका छन्, अनि २०८०/११/०४ मा पनि साधारणसभामा सञ्चालकको रुपमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको सञ्चालक लगतसम्बन्धी कम्पनी रजिस्ट्रार कार्यालयमा पेश गरेको विवरणअनुसार उनको वर्षैंपिच्छे अस्वाभाविक किसिमले रकम बढेको देखिएपछि सचेत तप्काको पहलमा २०८२/०४/२७ मा प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेको छ । डा. रिजलले कर्मचारी भर्ना एवम् उपकरण खरिदमा अनियमितता र निजी अस्पतालमा अवैध लगानी गरेको निवेदनका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले कारवाही प्रक्रिया अगाडि बढाएको सुत्रको दाबी छ ।

  • डी. महर्जन