सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका-६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार यादवलाई शुक्रबार (३० साउन) साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए ।
मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिएका छन् ।
छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए ।
गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने वसन्तपुरमा दुर्घटनामा परेको थियो । जसमा एक जना फरार भएको छ भने अर्का घाइतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको र घटनामा संलग्नहरूको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्दथे । उनले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयहरूले बताएका छन् ।
प्रतिक्रिया