✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र १ गते तद्अनुसार सन् २०२५ अगस्त १७ तारिख आइतबार भाद्र कृष्णपक्षको नवमी तिथि कृतिका नक्षत्र ६ः३५ पर रोहिणी नक्षत्र ध्रुव योग तैतिल करण आनन्दादिमा धूम्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३८ मा हुनेछ । श्रीकृष्ण रथयात्रा, गूंगानवमी, भाद्रसंक्रान्ति ।
आजको राशिफल
मेष – आजको दिन घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहनेछ । व्यवसायमूलक काममा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् भने काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । अनुभवी तथा वरिष्ठ ब्यक्तित्वको सहयोग जुट्नेछ । आरोग्यबल वृद्धि होला ।
वृष – ब्यस्तता वा दौडधुप बढेपनि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । स्वास्थ्यगत समस्याबाट पार पाइएला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मिथुन – दिन खास उत्साहजनक नरहन सक्छ । महत्वपूर्ण कार्यमा समयमै होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने देखिन्छ, होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । लापर्वाहीले अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिनसक्ने योग छ । पहिलेका समस्या दोहोरिन सक्छन् । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ ।
कर्कट – मिश्रित फलदायी समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा मित्रजनसँगको सम्बन्ध बिग्रन सक्छ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ, अवसरले उत्साह जगाउनेछ । स्वास्थ्य केही कमजोर रहनाले कार्यसम्पादनमा असर पर्ने देखिन्छ । महत्वपूर्ण अवसर गुम्न सक्छ, सजग रही कार्य-व्यवहार गर्नुहोला ।
सिंह – कर्मबलका साथै व्यस्तता वृद्धि हुनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहला । खास योजनाको कार्यान्वयनमा केही चुनौती देखापर्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कन्या – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउला । श्रमको उचित मूल्यांकन हुनेछ भने आजको कामबाट राम्रै धनलाभ हुने देखिन्छ । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि हुनाले कठिन कार्य पनि सहजै पार लाग्ने देखिन्छ । सहयोगीहरूले उत्साह जगाउनेछन् । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
तुला – आजको दिन व्यावसायिक काममा खर्च बढ्नुका साथै अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने समय छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउला । तार्किक क्षमता बढ्नेछ भने अध्ययन-अध्यापनमा प्रगति हुने देखिन्छ । सावधानीले सामान्य फाइदा उठाउन सकिएला । परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
वृश्चिक – मिश्रित फलदायी समय छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने समयको सीमालाई ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेअनुसारको फाइदा नहुने योग छ । स्वास्थ्यचाहिँ सबल रहनेछ । यात्रापरक कार्य सम्पन्न होला । कलात्मक काममा आंशिक सफलताको योग छ ।
धनु – पराक्रम वृद्धिका साथै कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै उत्साहजनक ढङ्गले काम होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रसरागको भाव वृद्धि होला । प्रतिष्पर्धीहरू परास्त हुनेछन् ।
मकर – गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । तार्किक क्षमताले मान-सम्मान दिलाउनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् । यात्रापरक कार्य सफल रहनेछ । स्वास्थ्य पनि सबल रहला ।
कुम्भ – केही चुनौतीयुक्त समय छ । नियमित कार्यमा बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । टीका-टिप्पणी गर्नेहरू सक्रिय रहलान् । प्रक्रिया नमिल्नाले पुरा गरिसकेको काम पनि दोहोरÞ्याउनुपर्ने हुनसक्छ । गल्तीविना नै आक्षेप लाग्नसक्ने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने योग छ । पारिवारिक समस्याको भने समाधान मिल्ने देखिन्छ । आफन्तको साथले उत्साह जागृत होला ।
मीन – अरूलाई प्रभावित पारेर काम बनाउने समय हुनाले आजको दिन उत्साहपूर्ण रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ तर मुख्य काममा बाधा हुने योग छ, सजगताका साथ कार्य-व्यवहार गर्नुहोला । साझेदारीको काम बन्नेछ । दाम्पत्य सम्बन्धमा मधुरता आउने देखिन्छ ।
प्रतिक्रिया