✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम सम्बत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र ४ गते तद्अनुसार सन् २०२५ अगस्त २० तारिख बुधबार भाद्र कृष्ण पक्षको द्वादशी तिथि पुनर्वसु नक्षत्र सिद्धि योग गर करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३५ बजे हुनेछ । प्रदोषव्रत ।
आजको राशिफल
मेष – दौडधुप बढेपनि आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको विशेष काममा भने बाधा ब्यहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ने तर जश भने नमिल्ने देखिन्छ । परसेवाले आत्मिक सन्तुष्टि भने मिल्नेछ । छरछिमेकमा केही असमझदारी बढ्ने योग रहेकोले सजगताको दरकार छ । प्रतिष्पर्धामा सफलता प्राप्त हुनेछ ।
वृष – पुराना साथीसंगीसँगको भेटघाटले मन हर्षित हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । नयाँ स्थानको यात्राले दिन रमाइलो बनाउने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने योग छ । यात्रागत कार्यबाट केही धन पनि आर्जन हुने सम्भावना छ । आय वृद्धिका साथै उन्नति-पदोन्नति होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । खर्च कटौतीका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मिथुन – समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचेअनुरुप काम नहुने सम्भावना छ, आत्मविश्वास जागृत गरी दैनन्दिन कार्यमा ध्यान दिनु उचित होला । दैनिक प्रयोगको सामानमा खराबी आइ समस्या निम्तन सक्छ, सावधानी अपनाइ व्यवहार गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । खानपानमा ध्यान दिनु हितकर हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाह गर्न सक्षम हुनुहुनेछ ।
कर्कट – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय भएपनि सामान्य शारीरिक अस्वस्थताले दैनन्दिन व्यवहारमा असर पार्न सक्छ । अध्ययन तथा अध्यापन कार्यमा सफलता मिल्नेछ । बन्दव्यापारबाट पनि लाभ नै मिल्ने देखिन्छ । परोपकारी कार्यमा ध्यान दिए मान-सम्मान मिल्ने योग छ । रसरागमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ ।
सिंह – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । धन कमाउने बाटाहरुको थालनी हुने देखिन्छ । सोचेका काममा सहजरूपले सफलता मिल्नेछ भने परिवारमा पनि सुखको माहोल बन्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । ऋण, रोग र शत्रुलाई जित्ने क्षमता अभिवृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ ।
कन्या – अधिकारका लागि केही संघर्ष हुनसक्ने दिन छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अन्ततः जित तपाईंकै हुनेछ । बोलीको भरमा काम सम्पादन हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभावले प्रशंसकहरू बढ्नेछन् । स्वास्थ्य सबल रहला । व्यस्तता केही बढेपनि रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ । घरमा पाहुना आगमन हुने देखिन्छ, जसले प्रशन्नता दिलाउला ।
तुला – सोचेभन्दा विपरीतका परिणाम प्राप्त भइ असन्तुष्टि जागृत गराउनसक्ने समय छ । विगतमा गरेको गल्ती तथा कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ, तर धैर्य राखी कार्य-व्यवहार गरेमा समस्या पन्छाउन सकिनेछ । खर्च वृद्धिको योग छ । विशेष कार्ययोजनाहरू आजको दिन थाती राख्नु नै उचित होला । सामाजिक मर्यादामा संकट आउन नदिन वादविवादबाट बच्ने कोशिस गर्नुहोला । नजिकका साथीभाइको सहयोग प्राप्त हुनेछ ।
वृश्चिक – शुभदायी समय रहेकोले प्रायः सबै कामहरू बन्नेछन् । काममा साथ–सहयोग पनि पाइनेछ । खर्च बढेपनि त्यसले दीर्घकालिक लाभ दिनेछ । आम्दानीकोे नयाँ श्रोत फेला पर्नसक्छ । भोजभत्तेरमा संलग्न हुने एवम् विशिष्ट व्यक्तिहरूसँगको साथले काम बन्ने देखिन्छ । अरुको विश्वास सजिलै हासिल हुनेछ । सृजनात्मक काममा विशेष सफलता पाइने छ । यात्रा सफल रहनेछ ।
धनु – दिन केही चुनौतीयुक्त रहला । छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ । ठूला व्यक्तिबाट आलोचना हुनुका साथै कार्यक्षेत्रसँग सम्बन्धित ब्यत्तिविशेषसँग वादविवादको सम्भावना रहेकोले सजग रही व्यवहार गर्नुहोला । परिवारजनमा असमझदारी बढ्ने सम्भावना छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । खर्च वृद्धिको योग छ ।
मकर – समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । तथापि, आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला । जागिरको काममा केही अल्छीपन छाउने देखिन्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । यसका बाबजुद पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – बौद्धिक कार्यबाट थोरै भए पनि लाभ मिल्ने समय छ । आजको दिन काममा मन जानाले सन्तुष्टि मिल्नेछ । आफन्तजनले पनि साथ दिनेछन् । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । दामपत्यसुख बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुने एवम् रसरागमा आकर्षण बढ्ने देखिन्छ । यात्रागत कार्य सार्थक रहला ।
मीन – कुनै नयाँ काम र जिम्मेवारी हात पर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाहमा खटिनुपर्ने समय छ । कार्यब्यस्तता बढ्ला । पराक्रम वृद्धिका साथै अधुरा काम बन्ने योग छ । पढाइलेखाइमा भने खासै मन नजाला । आजको दिनमा तपाईंले चाहेको विशेष योजना पूरा हुन सक्छ । विपरीतलिंगी मित्रको सथ–सहयोग रहने देखिन्छ । आरोग्यबल बढ्नेछ ।
प्रतिक्रिया