✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र १३ गते तद्अनुसार सन् २०२५ अगस्त २९ तारिख शुक्रबार भाद्र शुक्ल पक्षको षष्ठी तिथि स्वाती नक्षत्र १०ः४६ पर विशाखा नक्षत्र ब्रह्मा योग गर करण आनन्दादिमा गद योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२६ बजेमा हुनेछ । सूर्यषष्ठी ।
आजको राशिफल
मेष – सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ, तथापि परिवारजनको साथले कर्मप्रति उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्ने योग छ । श्रद्धा र परोपकारमा मन जाला । स्वास्थ्यमा केही कमजोरी अनुभव हुनसक्छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । विशेष कामको लागि यात्रा गर्दै हुनुहुन्छ भने आजको दिन सुखद परिणामदायी छ ।
वृष – मिश्रित फलदायी समय छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
मिथुन – दीर्घकालीन रूपमा लाभ हुने काममा हात हाल्ने समय छ । तत्कालका लागि भने मौकाको फाइदा उठाउन मुस्किल पर्ला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । तार्किक क्षमता बढ्नेछ भने विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्तिको योग छ । प्रेमभाव वृद्धि हुनेछ । खेलकूद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट – सहयोगीहरूले काममा उत्साह जगाउने, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने दिन छ । आफन्तजनको साथ प्राप्त होला । आलस्य नगरी मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने देखिन्छ । अनावश्यक भ्रमण हुनसक्ने सम्भावना रहेकोले त्यसलाई टार्ने प्रयत्न गर्नु हितकर होला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
सिंह – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ, तर इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । यात्रापरक काम सार्थक बन्नेछ । परिवारिक सथले उत्साह बढाउला ।
कन्या – बोलीको प्रभावले प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिने समय छ । उद्योग र व्यापारमा फाइदा हुने देखिन्छ । महत्वपूर्ण सहयोगको आशा देखाउनेहरूले भने धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । चुनौतीका बाबजुद सामर्थ्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।
तुला – आजको दिन अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । अर्काको काममा महत्वपूर्ण समय बित्न सक्छ । मनमा अनावश्यक चिन्ता उठ्नाले काममा ढिलासुस्ती हुने योग छ । अप्रिय समाचारले दुःखी बनाउला । प्रतिकुलताका बाबजुद मिठो भोजन प्राप्त हुने देखिन्छ । समस्याको अवस्थामा मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
वृश्चिक – आजको दिन पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्तिको सम्भावना प्रवल छ । मित्रवर्गबाट विभिन्न सहयोग र उपहार पाइएला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने देखिन्छ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला ।
धनु – सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने कामको चापबाट फुर्सद मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आरोग्यबल वृद्धि हुनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मकर – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने समय छ । अरूका काममा समय बित्न सक्छ । महत्वपूर्ण काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्न सक्छ । प्रेमभाव वृद्धि भएपनि प्रेमी वा प्रेमिकासँग चिसोपन बढ्ने योग छ । साझेदारीको काम भने बन्नेछ ।
कुम्भ – आजको दिन विगतका समस्या बल्झिन सक्ने सम्भावना छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छन् । तथापि, रोकिएको विशेष काम बन्नाले उत्साह जाग्ने देखिन्छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिने योग छ । प्रतिस्पर्धामा विजयी भइएला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मीन – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । तथापि, चिताएको काम समयमै सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला । मेहनतअनुसार कमै फाइदा हुने देखिन्छ । आफू कमजोर भएको अनुभूति हुनसक्छ । दाम्पत्यसुख बढ्नेछ । प्रेमभाव बढ्नुका साथै रसरागमा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
प्रतिक्रिया