देशको पीड़ामा बेलायतवासी नेपालीको मलम लगाउने प्रयास जारी

देशको पीड़ामा बेलायतवासी नेपालीको मलम लगाउने प्रयास जारी


वाटफोर्ड नेपाली समाजद्वारा दुई लाख सहयोग
atfordnepaleseलण्डन / गत बैशाख १२ को महाभूकम्पपछि तहसनहस देश बिस्तारै मूलबाटोमा फर्किंदै छ भने देशविदेशमा बस्ने नेपाली समुदायले पनि आर्थिक-भौतिक सहयोग जुटाउने काम जारी राखेका छन् ।
मुटुमा देश बोकेर विदेशी माटोमा पसिना बगाइरहेका लाखौं नेपालीले यो राष्ट्रिय विपत्तिमा मन खोलेर सहयोग गरे । त्यसमा पनि सदाझैँ बेलायतवासी नेपालीहरू अग्र पंक्तिमा देखिए । यसै क्रममा पछिल्लो पटक वाटफोर्ड नेपाली समाजले नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी करिब दुई लाख अठतीस हजार रुपियाँ सहयोग गरेको छ । समाजका सचिब दिपेन्द्र न्यौपाने र विष्णु पन्तले बिहीबार कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई चेक हस्तान्तरण गरेका हुन् ।
उत्तरी लण्डनको सानो सहर वाटफोर्डमा करीब पचास घर नेपाली बसोबास गर्दछन् । समाजले करीब डेढ़लाख बराबर जिन्सीसमेत सङ्कलन गरेर पठाएको छ ।
वाटफोर्ड काउन्सिलसित लाइसेन्स लिएर संस्थाले गत केही दिन हाईस्ट्रीट, पार्कलगायतका स्थानमा सहयोग सङ्कलन गरेको थियो । स्थानीय रोटरी क्लबसित समन्वय गरेर राहत सङ्कलन गरिएको र ठूलो रकम रोटरी क्लबमार्फत् नै नेपालका भूकम्पपीड़ितसमक्ष पुर्याईएको संस्थाका सदस्य महेश गिरीले बताए। यसै गरी संस्थाका सदस्य कृष्ण तिवारीले चितवन जिल्लाको कविलास गाविसमा करिब आठ लाख रुपियाँ खर्चेर स्कुलको पुनर्निर्माण गर्ने घोषणा गरेकाछन् ।
संस्थाका अध्यक्ष मुकुन्द गुरुङले अर्थसङ्कलन जारी रहेको जानकारी दिए ।