०४६ सालमा हाम्रो पुस्ताले ठूलो रक्तमूल्य चुकाएर ल्याएको प्रजातन्त्रलाई हाम्रै नेतृत्व र दलहरुले भोजन गरेपछि, मारेपछि, हत्या गरेपछि, धोका दिएपछि हाम्रो पुस्ता निरीह बनेको थियो । हामी लोभ र पाप बोकेर उनीहरूको बेइमानी र अपराधलाई ढाकछोप र मलमपट्टी गरेर बस्यौं । तर, हाम्रो पछिल्लो पुस्ताले हामीलाई पछाडि धकेलेर हामीलाई उछिन्दै ठूलो अग्रगामी फड्को मारिसकेको छ ।
✍ राजेश ढुंगाना
नयाँ पुस्ताले गरेको आन्दोलनमा २३ भाद्र एकै दिनमा १९ जना होनहार नेपालीहरुले शहादत प्राप्त गरिसकेका छन् । कुनै राजनीतिक दलको संगठित विद्रोह बाहेक दलहरुकै उग्र विरोधमा स्वतःस्फूर्त रुपमा उठेको यो नेपाली इतिहासकै पहिलो र गर्वलायक विद्रोह हो ।
कांग्रेस, एमाले र माओवादीका नेताहरु मात्र होइन, उनीहरुको गाउँस्तरीय झोलेहरु समेत यो विद्रोहलाई सुनियोजित र प्रायोजित भनिरहेका छन् । तर, उनीहरुले बुझ्नै पर्दछ- नेपाली युवाले एक दिनमै गरेको यो बलिदानीपूर्ण शहादतले उनीहरुको राष्ट्रप्रेम कसैले प्रमाणित गर्नु नपर्ने गरी प्रमाणित भइसकेको छ ।
युवाहरुको राष्ट्रप्रेमलाई कांग्रेस-एमालेका झोलेहरुले तोक लगाएर प्रमाणित गरिदिनु पर्ने हो र ? एमाले र कांग्रेसलाई हाम्रा युवाहरुको राष्ट्रप्रेममाथि प्रश्न उठाउने अधिकार कसले दियो ? हाम्रो युवा पुस्ताले भाद्र २३ गते एकै दिनमा राष्ट्रप्रेमको प्रमाण अन्तिम तहसम्ममा प्रमाणित गरेर देखाइदिएको छ ।
नवपुस्ता अहिलेका राजनीतिक दलहरूलाई सम्पूर्णमा अस्वीकार गर्ने अन्तिम र निर्णायक उद्घोष गरेर सडकमा उत्रिएपछि मुलुकमा तिरप्रतीक्षित आशाको एउटा किरण देखिएको छ । अब आशा मात्र होइन, विश्वास नै समेत गर्न सकिने भयो कि नेपालको, नेपालीको भविष्य बाँकी नै छ भनेर ।
अहिलेसम्म बङ्गलादेश र श्रीलंकाको उदाहरण दिइने गरिन्थ्यो । अब चाहिँ संसारका लागि नेपालको नयाँ पुस्ताले गरेको यो आन्दोलन उदाहरणीय बन्ने पक्का छ – ढिलो चाँडो । एकै पटकमा यस्तै निर्णायक सफलता पाउला नपाउला, तर यो विद्रोह कुनै न कुनै रूप र मात्रामा जारी रहेर यसले एउटा निर्णायक मोड लिने नै छ । यो आन्दोलनमा देश बोलेको छ । यो आन्दोलनले देश बोकेको छ ।
अब रगत बगिसक्यो छताछुल्ल भएर । प्रदर्शनमा मात्र सीमित रहेन । यसको मूल्य शेरबहादुर-केपी ओलीले मात्र होइन, उनीहरूका जम्मै झोले विवेकहीन कार्यकर्ताहरूले समेत चुकाउनु पर्ने छ । समय सन्निकट छ, कांग्रेस-एमाले-माओवादीको नेतृत्व सकभर जनताबाट सडकमै मारिने छ । कथम् कदाचित मर्नबाट कुनै दाउले फुत्किए भने उनीहरुले देश छोडेर भाग्नु पर्नेछ । नेतृत्व तह त भ्रष्टाचार गरेर थुपारेको अकुत सम्पत्तिको बलमा विदेश भाग्ला । तर, स्थानीय झोलेहरूको कन्तबिजोग भने हेर्नलायक हुनेछ त्यतिबेला । नेतृत्व नै पनि भागेर कुन देश पुग्ला ? संसारका प्रायः सबै देशमा नेपालीहरू कम छैनन् । उनीहरूलाई त्यहाँ पनि नेपालीहरूले ठाउँका ठाउँ मार्नेछन् ।
हेर्दाहेर्दै एक दिनको एकै क्षणमा कांग्रेस, एमाले, माओवादीसँग अहिलेसम्म रहे बसेको युवा पुस्ता पनि आफ्नो पुस्तासँग सडकमा हस्तान्तरण भइसक्यो । कुनै पक्ष-प्रतिपक्ष भनिनेहरूसँग युवा पुस्ताको ‘यु’ समेत बाँकी रहेन अब । अब आएर गृहमन्त्री, प्रधानमन्त्री वा कुनै सन्त्री र खन्तीको राजीनामाले मात्र थेग्नेवाला छैन । यो पुस्ताले राष्ट्र दोहन गर्नेहरूबाट मुलुकलाई सम्पूर्णमा मुक्त गराई छाड्ने दृढ संकल्प गरिसकेको छ । शहादतको मात्रा, रूप र आयतन हेर्दा अब मुलुकले आमूल परिवर्तन पाउने पक्का छ ।
पुराना राजनीतिक दलहरूलाई यो आन्दोलनले असान्दर्भिक सिद्ध मात्र गरिदिएको छैन, औचित्यहीन नै समेत प्रमाणित गरिदिएको छ । २०४६ सालमा हाम्रो पुस्ताले ठूलो रक्तमूल्य चुकाएर ल्याएको प्रजातन्त्रलाई हाम्रै नेतृत्व र दलहरुले भोजन गरेपछि, मारेपछि, हत्या गरेपछि, धोका दिएपछि हाम्रो पुस्ता निरीह बनेको थियो । हामी लोभ र पाप बोकेर उनीहरूको बेइमानी र अपराधलाई ढाकछोप र मलमपट्टी गरेर बस्यौं । तर, हाम्रो पछिल्लो पुस्ताले हामीलाई पछाडि धकेलेर हामीलाई उछिन्दै ठूलो अग्रगामी फड्को मारिसकेको छ ।
अब हाम्रो पुस्ताले प्रजातन्त्र वा लोकतन्त्र वा गणतन्त्र ल्याएको आत्मरतिमा बसेर वर्तमानका बेइमान र निकम्मा राजनीतिक दल र नेतृत्वको पक्षपोषण गरिरहे युवा पुस्ता अब हाम्रै विरुद्धमा पनि आक्रामक रुपमा आउने पक्का छ ।
आगो बलिसकेको छ- मुलुकमा आमूल परिवर्तनका लागि । तर, कांग्रेस, एमाले, माओवादी अहिले यतिबेला पनि पालैपिलो सरकार सत्तामा बसिरहने अलौकिक सपना देखिरहेछन् । तर, अब यिनीहरूले स्वाभाविक रुपमा राष्ट्र हस्तान्तरण गरेनन् भने नयाँ पुस्ता आफैंले जुनसुकै मूल्य चुक्ता गरेर भए पनि देश जिम्मा लिने छ, कब्जा गर्ने छ । र, कब्जा गर्नु पर्ने पनि छ । नत्र यो मुलुककै कुनै भविष्य रहने छैन ।
सबै पार्टीका त्यसमा पनि कांग्रेसका गगन भनिने समूहहरू सरकारको दमनको लाजलाग्दो समर्थक भएर नेपाली युवाका रक्तमूल्यको शहादतलाई गिज्याइरहनुले दलहरूका कथित युवा भनिनेहरूले नै पनि ओली-देउवा सँगसँगै आफ्नो औचित्य गुमाएका मात्र छैनन्- अब कांग्रेस-एमालेभित्र कसैले युवा पुस्ताको उच्चारण गर्ने, स्थितिको समूल अन्त्य पनि यस आन्दोलनले गरिसकेको छ ।
र, यतिबेला सरकारले तत्कालै युवा आन्दोलनविरुद्ध नेपाली सेना उतारिसकेको छ । नेपाली सेनाले हेक्का राखोस् – उसको गोलीले एउटा मात्र नेपालीले मर्नु पऱ्यो भने ऊ इतिहासमा मात्र होइन, अहिले यतिबेलै तत्काल वर्तमानमै दुत्कारिने छ । नेपाल आमाको सपुत होइन रहेछन् भनेर धिक्कारिने छ ।
प्रतिक्रिया