✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन ३ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर १९ तारिख शुक्रबार आश्विन कृष्णपक्षको त्रयोदशी तिथि अश्लेषा नक्षत्र ८ः५५ पर मघा नक्षत्र सिद्ध योग गर करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कर्कट राशिमा ८ः५५ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः२ मा हुनेछ । प्रदोषव्रत, त्रयोदशी श्राद्ध ।
आजको राशिफल
मेष – आजको दिन केही चुनौतीको माहोल देखिएपनि आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बिस्तारै बन्न थाल्नेछन् भने कार्यसिलसिलामै यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु उचित हुनेछ । घरपरिवारका साथै मित्रजनबाट सुखशान्ति मिल्नेछ भने कर्मबल बढेर उन्नतितर्फ अग्रसर गराउनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
वृष – नियमित कार्यमा जाँगर बढ्ने, यशवर्चश्व वृद्धि हुने समय छ । धैर्यधारण गरी परिश्रम गर्न सके महत्वपूर्ण उपलब्धि हातपर्ने देखिन्छ । तपाईंका काम र व्यक्तिगत व्यवहारको प्रशंसा गर्नेहरू बढ्नेछन् । आर्थिक क्रियाकलापमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ, जसले आत्मविश्वास बढाउनेछ । शारीरिक आरोग्यता रहनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउला ।
मिथुन – मिश्रित फलदायी समय छ । कामको प्राथमिकता छनोटमा अलमलको अवस्था बन्ने देखिन्छ । नियमित क्रियाकलापमा फेरबदल आउनाले प्रगतिको दरमा केही मन्दी आउन सक्छ । भौतिक साधनले धोका दिनाले लक्ष्यप्राप्तिमा विलम्ब हुनसक्ने सम्भावना छ । खर्च नियन्त्रणको विशेष प्रयत्न गर्नु उचित होला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । सन्तानपक्षबाट विशेष सुख मिल्नेछ ।
कर्कट – समय खासै बलियो नभएको हुँदा सावधानी अपनाइ नियमित क्रियाकलाप गर्नु उचित हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुहोला । धेरै बोल्नु भन्दा शान्तसँग काम गरेर परिणाम निकाल्नेतर्फ लाग्नु हितकर हुनेछ । सन्तान पक्ष या अनुयायीबाट खोजेजस्तो सहयोग नपाउदा केही पीडाको अनुभूसित हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ, तर सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण राख्नुपर्नेछ । यात्रामा निस्कँदै हुनुहुन्छ भने रमाइलो अनुभूति हुने देखिन्छ ।
सिंह – सामाजिक कार्यले प्रतिष्ठा दिलाउने समय छ । पराक्रम र जाँगर बढ्नाले आर्थिक क्रियाकलापमा गति बढ्ला । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । धनलाभको योग छ । स्वास्थ्य सबल रहला । प्रतिष्पर्धी पछि पर्नेछन् । नियमित कामबाट लाभ नै मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बुद्धि-विवेकको सही प्रयोगले जस्तोसुकै समस्याको समाधान प्राप्त होला । यात्रागत कार्य सार्थक रहनेछ ।
कन्या – सोचेअनुरुप काम नहुने र परिवारजनसँग पनि असमझदारी बढ्नसक्ने समय छ । मित्र एवम् मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, तर विवेकको सही प्रयोगले समस्यासँग एक्लै जुझ्न सकिनेछ । व्यवहारिक समस्याले सताउने योग छ । कामकै पछि लागेपनि परिणाम सन्तोषजनक नरहन सक्छ । आजको दिन आर्थिक लेनदेनको काम नगर्नु हितकर हुनेछ ।
तुला – बौद्धिक, रचनात्मक एवम् सिर्जनात्मक कार्यमा सोचेअनुसार सफलता मिल्नुका साथै पारिवारिक समस्याको समाधान मिल्ने समय छ । आर्थिक क्रियाकलापमा उन्नतिको अवसर प्राप्त होला । एकपछि अर्को सफलताले नियमित क्रियकलापमा पनि जाँगर बढ्ने देखिन्छ । आफन्तजनको सहयोगबाट रोकिएका काममा गति मिल्नेछ । शुभ समाचार प्राप्त होला । मान प्राप्तिको योग छ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्ने देखिन्छ ।
वृश्चिक – महत्वपूर्ण कार्यमा सफलता मिल्ने समय छ । मनमा सचद्विचार आउनाले दिन उत्साहजनक रहला । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मान-सम्मान पनि पाइनेछ । कृषिजन्य व्यापारबाट विशेष फाइदा हुने योग छ । दान पुण्यका कार्यमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । सुख विलासको भाव जागृत होला ।
धनु – नियमित कर्ममा जाँगर बढ्नुका साथै प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । बौद्धिक क्षेत्रमा पनि सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम होला । पराक्रम वृद्धि र कामको सफलताले मन प्रफुल्ल रहनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
मकर – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । नयाँ योजना अघिबढाउने सोचमा हुनुहुन्छ सोचेअनुसार अघि बढ्न कठिन पर्ने देखिन्छ, तत्कालका लागि थाती राख्नु उचित हुनेछ । मित्रजनसँग रमाइलो भेटघाट होला । जमघटमा अल्मलिए पनि मानसिक सन्तुष्टि मिल्नेछ । खर्च भने केही बढ्न सक्छ ।
कुम्भ – अधुरा काम सम्पन्न हुनसक्ने समय छ । पैतृक सम्पतिबाट लाभ मिल्नुका साथै आर्थिक क्रियाकलापमा आकर्षण बढ्नेछ । सामाजिक तथा धर्मिक कार्यमा रुचि बढ्ला । खर्च बढेपनि आत्मिक सुख मिल्नेछ । नियमित कार्यमा पनि जाँगर बढ्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आत्मबल बढ्नाले प्रतिष्पर्धी परास्त हुनेछन् ।
मीन – आजको दिन केही चुनौतीयुक्त रहनेछ । शारीरिक तथा मानसिक आलस्यता बढ्ने देखिन्छ । कसैसँग विवाद र झमेलाको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ । तथापि, मित्रजनको साथ-सहयोगले समस्याबाट पार पाइने योग छ । प्रतिकुलताका बाबजुद साहसी कार्यमा आकर्षण रहनेछ । सन्तानपक्षबाट सन्तोष मिल्नेछ ।
प्रतिक्रिया