जब घृणाको आगो ढोकासम्म आइपुग्नेछ…

जब घृणाको आगो ढोकासम्म आइपुग्नेछ…


‘गो आउट एसिया, गो आउट इण्डिया, युनाइट द किङडम, स्टप सलाम, लांग लिभ आवर सिभिलाइजेशन !! गिभ मि लिबर्टी अर गिभ मी डेथ, ब्लक एभ्रिथिङ (Bloquons Tout), इमिग्राण्ट रिटर्न योर होमल्याण्ड, मार्च फोर अष्ट्रेलिया’… जस्ता नाराहरू अहिले बेलायत, युरोप, अष्ट्रेलिया र क्यानाडामा लागि रहेका छन् । विशेषगरी फ्रान्स, बेलायत, क्यानाडा र अष्ट्रेलियाको राष्ट्रवादी आन्दोलनले अहिले त्यहाँका आदिबासीलाई ब्युँझाइदिएको छ । ग्लोबलाइजेशन समर्थक नवउदारवादीहरू समेत अहिले क्रमशः राष्ट्रवादी आन्दोलनमा समाहित हुन थालेका छन् ।

सुधारवादी र राष्ट्रवादी एकैसाथ अगाडि बढ्न नसक्ने अवस्था अहिले युरोपमा सृजना भएको छ । यी दुवै ध्रुवलाई संस्कृति र सभ्यताप्रतिको चिन्ताले एकै ठाउँमा आउन बाध्य पारेको विश्लेषकहरूको तर्क छ । बास्तवमा मानव-सम्बन्ध उपहारबाट भन्दा अस्तित्वको चिन्ताबाट निर्देशित हुने कुरा उनीहरूले लगाइरहेका नाराहरूबाट प्रष्ट हुन्छ । अहिले ट्रम्पको अन्तरष्ट्रिय पोलिसी पनि राष्ट्रवाद प्रवर्धनको पक्षमा छ । त्यसैले अमेरिकन धनाड्य एलन मक्सले पनि बेलायतका राष्ट्रवादीहरूलाई ‘गर या मर’ भनेर उकासिरहेका छन् । उनले यसलाई गोराहरूको अस्तित्वको लडाइँको रुपमा परिभाषित गरेको कुरा सहजै बुझ्न सकिन्छ । त्यहाँको स्थाई पुस्ता आफ्ना मूल्य-मान्यतामाथि आप्रवासीले गरेको अतिक्रमणबाट अत्यन्त चिन्तित छ । त्यस्तै त्यहाँको कानुनलाई मिच्नेहरूमध्ये धेरै आप्रवासीहरू नै छन् । आप्रवासीहरूका बीच पनि नयाँ र पुरानो पुस्ताबीचको मनोविज्ञान फरक छ । पुरानो पुस्ता लगभग त्यहाँको सिभिलाइजेशनसँग अभ्यस्त भइसकेको छ तर नयाँ पुस्तामा त्यो अवस्था छैन । युरोपियनहरू त्यहाँको रीतिरिवाज आफ्नै किसिमले मान्दछन्, आफ्नै किसिमले आफ्ना मुल्यहरूको पालना गर्दछन् । उनीहरू कानुन तोड्नुलाई अपराध मान्दछन् । मुखले धेरै बोल्दैनन् तर आप्रवासीहरूले गरेका हरेक हर्कतहरूको अवलोकन गरिरहेका हुन्छन् । त्यही उनीहरूको मौनतालाई आप्रवासीहरूले कमजोरीको रुपमा लिँदै विभिन्न अपराध कर्ममा सामेल भएको देखिन्छ । हिजोका शान्त युरोपका गल्लीहरू आज हल्ला, चोरी डकैती, तस्करी, शोषण, हत्या र बलात्कारका घटनाले आक्रान्त छन् । आप्रवासीका ती गलत हर्कतहरूलाई सभ्य मानिसले कहिल्यै क्षमा गर्न सक्दैन ।

युरोपकै सन्दर्भमा भन्नुपर्दा एकै सम्प्रदायका मानिसहरू बसिरहेका निश्चित भू-भागहरूमा उनीहरूले आफ्नै धर्म-संस्कारअनुशार नियमहरू बनाउँदै गएका सन्दर्भहरू मिडियामा देखिन्छन् । बेलायत र फ्रान्समा त कतिपय मुस्लिम बाहुल्य क्षेत्रहरूमा सरिया कानुन र स्लामिक अभियान नै स्थापित गर्न खोजेका कुराहरू आइरहेका छन् । हिन्दुबाहुल्य क्षेत्रको अवस्था पनि उस्तै छ । यसरी आफ्नो परम्परागत तथा सांस्कृतिक मूल्य र पहिचानलाई आप्रवासीहरूले अति प्राथमिकता दिन थालेपछि स्थानीय नागरिकहरूले उनीहरूका मूल्य-मान्यताहरू धरापमा पर्दै गएको महसूस गर्नु स्वाभाविक हो ।

त्यसको अलावा आप्रवासीहरूले सामाजिक सहुलियत जस्तै उपचार, बीमा, सुरक्षा, आर्थिक भत्ता, बेरोजगार भत्ता, बालपोषण भत्ता तथा अन्य सुविधाहरूमा समेत आकस्मिक भन्दा नियतवश लाभ लिने गरेकोले स्थानीयहरूले त्यसको लागि आवाज उठाउन थालेका छन् । सभ्य समाजले सदियौंदेखि विकसित गरेका मान्यताहरू ध्वस्त पारिँदै लागेको प्रति स्थानीयहरूको गम्भीर चिन्ता र आपत्ति छ । आप्रवासीद्वारा गरिने धोकाधडी, श्रम शोषण, बलात्कार, चोरी-डकैति, ग्याङफाइट, हुलदंगा, लागुपदार्थको ओसारपसार, सामाजिक तथा पारिवारिक हिंसा, आवाज प्रदुषण, फोहर ब्यवस्थापनमा लापरवाहीका कारण युरोपका शहरहरू आक्रान्त छन् । उनीहरूको अर्को चिन्ता रोजगारीको पनि हो । स्थानीयहरूले आप्रवासीका कारण रोजगारीका अवसरहरू गुमेको चिन्ता उत्तिकै छ । ट्याक्स छली, मानव तस्करी र अवैधानिक आर्थिक कारोबार, आतंकी गतिविधिमा आप्रवासीको संलग्नता ८० प्रतिशतको हाराहारीमा देखिन्छ । बिस्तारै युरोपको आप्रवासी समाज यहाँका आदिवासीको चैन छिन्ने प्रमुख कारण बन्नु हुँदैनथ्यो । उनीहरूको देशमा बसेर उनीहरूको समाजलाई तहसनहस बनाउनुको सट्टा समघुलित भएर बस्न सक्नु पर्थ्यो । यहाँको राज्यले पनि आफ्नै स्वजाति अल्पमतमा पर्ने अवस्थाको सृजना गरेर आप्रवासीलाई स्वीकार गर्नु हुँदैनथ्यो भन्ने स्थानीयहरूको आक्रोशलाई नाजायज मान्न सकिँदैन ।

माथि बताइएका विविध कारणहरूले युरोपको समाजलाई विनष्ट गर्दै लगेको तस्बिर प्रष्टै देख्न सकिन्छ । यिनै सामाजिक प्रदुषणको कारण स्थानीय जनता अहिले आक्रोशित बनिरहेको छ । आप्रवासीप्रति स्थानीयहरूको घृणाको आगो बढ्दो क्रममा छ ।

आप्रवासी र स्थानीयहरूको मानसिक अवस्थामा विराट अन्तर छ । आप्रवासीको गृह संस्कारको कारणले युरोपको समाजमा अन्तरघुलन हुने अवस्थालाई नकारात्मक असर पारिरहेको छ । युरोपको बजार, धार्मिक स्थल, राष्ट्रिय प्रदर्शनीस्थल समेत विदेशी झण्डाहरूले रंगीन थालेको छ । आप्रवासीसँगै प्रवेश गरेको कट्टरपन्थका कारण धार्मिक घृणामा वृद्धि भएको छ । पहिचानका गैह्रकानुनी अभ्यासहरू बढेर गएका छन् । समग्रमा भन्नुपर्दा, युरोप, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायतका देशहरूमा आप्रवासी देशबाट आयात गरिएका प्रथा र संस्कृति हाबी हुँदै गएको छ । अझ बेलायतमा त जातिप्रथाले समेत प्रवेश पाएको सुनिन्छ । युरोपको नागरिकता बोकेका आप्रवासीहरूले कर्मभूमिभन्दा जन्मभूमिका नेताहरूको सम्मानमा उतैको पार्टी झण्डा बोकेर बथान लिइ हवाईअड्डासम्म पुग्ने गरेका कुराले पनि स्थानीय मुल्यमा अतिक्रमण भएको रोष स्थानीयहरूमा देख्न सकिन्छ ।

घृणाको मनोविज्ञान एकै पटक बिकास हुने कुरा नभएर शंकाको तन्काइसँगै झाँगिदै जान्छ । बसेको देशप्रति लोयल्टी नहुनु, जन्मेको देशको मनोदशाबाट पूर्ण प्रभावित बन्दै स्वदेशी पार्टीहरूका भातृ संगठनहरू खोल्नु, स्थानीय राजनीति तथा सांस्कृतिक अन्तरघुलनमा उदाशीन बन्नु र सार्वजनिक ठाउँहरू जस्तै पार्क, बस, ट्राम र रेलभित्र स्वर सरावा गर्नु, सार्वजनिक मंचहरूमा भद्दा प्रहसन गर्नु, बायु र गल्लि प्रदुषणको हिस्सा बन्नु, हिँसा भड्काउने गतिविधिमा भाग लिनु जस्ता कुराहरू बिकसित देशको लागि देश द्रोह जस्तै हुन् । ति कुराहरूलाई आप्रवासीले गम्भीर रुपमा लिन नसक्दा विकसित देशका नागरिकहरूले आप्रवासीलाई गर्ने गरेको सहानुभूति र दया घृणामा बदलिएको छ ।

यदि यस्तै अवस्था केही समय रह्यो भने आप्रवासी र स्थानीयहरूको बीचमा गृहयुद्ध हुने अवस्था आउने कुरामा कुनै शंका छैन । त्यसपछि त्यो सामाजिक टक्करले आप्रवासीलाई प्राण रक्षाको संकटमा धकेलीदिने छ । भनिन्छ, ‘अति’को उत्पादन आफै हुँदैन, त्यो परिस्थितिले निर्माण गर्दै लैजान्छ । प्रवाशमा राजा हुन खोज्ने आप्रवासीले बेलैमा सोच्नुपर्छ कि प्रवासका राजा त्यहाँका आदिवासी रैथानेहरू नै हुन् । आप्रवासीहरू केवल त्यहाँको निर्मित कानुनले अनुवन्ध गरेका शरणार्थीहरू जस्तै हुन् । त्यो बसाइलाई त्यहाँका राष्ट्रवादी नागरिकहरूको ठुलो आँधीले एकै झड्कामा समाप्त पारिदिन सक्छ ।

संसारभरी बढिरहेको रेसिजमका प्रमुख कारक आप्रवासीका गतिविधिहरू बन्नु दुःखद कुरा हो । यहाँको सामाजिक संस्कृति, राजनीति र सभ्यताको मुख्य चुनौती अहिले आप्रवासीका गतिविधिहरूलाई मानिनु धेरै हदसम्म सत्य हो । सभ्य मानिसहरूले आफ्नो सभ्यतालाई प्राणजत्तिकै महत्व दिन्छन् । उनीहरूको सभ्यतालाई सम्मान गर्ने अवस्थामा मात्र उनीहरूले आफ्नो नागरिकको रुपमा सम्मान गर्दछन् । त्यसमा प्रतिबद्ध हुने कुरामा सहमत नगराइ नागरिकता दिँदैनन् । त्यो प्रतिबद्धता नै उनीहरूले सम्मान दिने लिने कुरासँग जोडिएको हुन्छ । तर, हामीले बस्ने अनुमति पाएपछि वा नागरिकता लिएपछि आफैले हस्ताक्षर गरेको कानुनी प्रतिबद्धतालाई भुलिदिन्छौँ ।

हाम्रा गतिविधिहरूको सुक्ष्म गतिविधिहरूको हमेसा अवलोकन भैरहेको हुन्छ । उनीहरूको एउटै निर्णयले हाम्रा अनुमति खारेज गर्ने अधिकार सम्बन्धित निकायले आँफैसंग सुरक्षित राखेको हुन्छ । स्थानीय दबाब खेप्न सकेन भने कुनै पनि बेला हाम्रा ती अनुमति रद्द हुन सक्छन् । त्यतिबेला हामीसँग घर फर्कनुको कुनै विकल्प रहन्न ।

अहिले संसारभर चलिरहेको आप्रवासीविरोधि अभियान त्यसैको शुरुवात हो । विकसित देशका देशभक्त स्थानीयहरूको यो जागरणले आप्रवासीलाई सोचनीय अवस्थामा पुऱ्याएको छ । अमेरिका, क्यानाडा, अष्ट्रेलिया र जापानबाट कानुन उल्लंघन गरेको वा स्थानीय वातावरण बिथोलेको आरोपमा धेरै प्रवाशीहरू घर फर्काइँदै छन् । स्थानीयमाथि गरेका आगजनी, लुट, हत्या र हिंसाले विकसित देशमा विदेशीप्रतिको घृणाको आगो बिगतको भन्दा तिब्रताका साथ उग्र बन्दै गैरहेको छ । अबका केही वर्ष वा दिनहरूमा त्यो आगो अझै हिंसात्मक बन्ने निश्चित छ । एकदिन हाम्रा ढोकासम्म त्यो आगो आइ पुग्नेछ । त्यसपछि हामीसँग भाग्नुको कुनै विकल्प रहने छैन । अनिष्ट समयको घेरा हाम्रो जिवनकाल भन्दा निकै छोटो छ । बेलैमा सोचौँ ।