जेन्जी आन्दोलनपछि नेपालको सामाजिक मनोविज्ञान

जेन्जी आन्दोलनपछि नेपालको सामाजिक मनोविज्ञान


जेन्जी आन्दोलनले नेपाललाई राजनीतिक, सामाजिक, आर्थिक र अन्तर्राष्ट्रिय सबै पाटोमा गहिरो चोट पुऱ्याएको छ। यसको प्रभाव केवल तत्कालीन राजनीतिक व्यवस्थामै सीमित भएन, यसले नेपाली जनमानसको मनोविज्ञानलाई समेत तहसनहस बनाइदिएको छ । प्रारम्भमा यो आन्दोलन युवापुस्ताको असन्तोष र भविष्यप्रतिको अनिश्चितताबाट जन्मिएको थियो । बेरोजगारी, अवसरको अभाव, असमानता, तथा निराशाजनक राजनीतिक नेतृत्वप्रतिको वितृष्णाले भरिएका युवाहरूले सडकमा आफ्नो आवाज बुलन्द गर्ने निर्णय गरे । उनीहरूको माग सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण थियो । तर, यथार्थमा यो आन्दोलन स्वार्थ समूहहरूको खेलमा फँस्दै हिंसा र अराजकतामा परिणत भयो । जसको परिणाम स्वरूप, केवल सरकारमाथि दबाब मात्र सिर्जना भएन, सम्पूर्ण समाजमा विनाश, त्रास र चरम क्षति र विध्वंशको अवस्थामा हुन पुग्यो ।

आन्दोलनका क्रममा सयौं परिवार पीडामा डुब्न पुगे । मृतकका परिवारलाई अपूरणीय क्षति भयो, घाइतेहरू अझै अस्पतालमा छट्पटाइरहेका छन् । आमाबाबुले आफ्ना छोराछोरी कहिल्यै नफर्किने गरी गुमाए । व्यवसायीले आफ्नो लगानिमा डडेलो लागेको टुलुटुलु हेरिरहे । कतिपय राजनीतिक कार्यकर्ता आफ्नै घर बेघरबार हुने अवस्थामा पुगे । यसले सामान्य मानिसको मनमा असुरक्षा, निराशा र भविष्यप्रतिको भय रोपिदियो । हिजोसम्म सामाजिक सद्भावमा बाँधिएका मानिसहरू आज आक्रोश, निराशा र गालीगलौजका भाषा प्रयोग गर्दै हिंडिरहेका छन् । चोरी, डकैती, हिंसा, आपराधिक गतिविधि र अनुशासनहीनता समाजमा मौलाउँदै गएको छ । यसले नेपाललाई असुरक्षित समाजको रूपमा मनोवैज्ञानिक धरातलमै चित्रित गरिदिएको छ।

राजनीतिक दृष्टिले आन्दोलनले शक्तिशाली दलहरूलाई समेत डगमगाइदियको छ । पार्टीभित्र विवाद, नेताबीच अविश्वास, र जनस्तरमा नेतृत्वप्रतिको आशा कमजोर हुँदै गएको अवस्था छ । राजनीतिलाई समस्या समाधानको माध्यम होइन, मजाक र षड्यन्त्रको थलो बनाइयो । अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाललाई अविश्वसनीय, अस्थिर र असफल राज्यको रूपमा प्रस्तुत गरियो। विदेशी सञ्चारमाध्यमहरूले आन्दोलनका हिंसात्मक दृश्य प्रसारण गरे, जसले पर्यटन, लगानी र कूटनीतिक सम्बन्धमा नकारात्मक असर पारे । विश्व समुदायले नेपालको राजनीतिक स्थायित्व र शासन प्रणालीप्रति विश्वास गुमाउन थाले।

सामाजिक दृष्टिकोणले आन्दोलनले घरभित्रको सम्बन्धलाई समेत चर्काइदियो । पुस्तागत द्वन्द्व बढ्यो जेन्जी पुस्ताले आफ्नो असन्तोषलाई औचित्यपूर्ण ठाने भने पुराना पुस्ताले तिनीहरूलाई गैरजिम्मेवार ठान्न थाले । व्यापारीले ठूलो घाटा बेहोर्नुपर्‍यो, मजदुरले काम गुमाए, किसानले बजार पाउन सकेनन् । वैदेशिक रोजगारीमा जान चाहने युवाले राजनीतिक अस्थिरताको कारणले भिसा पाउन कठिनाइ भोग्दै छ्न् । यसले नेपाली समाजलाई चारैतिरबाट घेरिएको पीडाको चक्रमा फ्याँकिदियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक उचाइमा उभ्याएका थिए । तर, त्यही उपलब्धिलाई निरन्तरता दिनुपर्ने र सिक्नुपर्ने ठाँउमा झन् नयाँ पुस्ताले देखाएको गैरजिम्मेवार सोच र अराजक कदमले त्यस्ता उपलब्धिहरूलाई खारानी बनाइदिएको छ । जसले नेपाललाई सम्मान दिलाएको थियो, आज त्यही राष्ट्र अन्तर्राष्ट्रिय समुदायमा उपहासको पात्र बन्न पुगेको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा धरासायी भयो । आन्दोलनका दृश्यहरूले नेपाललाई विश्व समुदायमा उपहासको विषय बनाए। पर्यटन झरेको छ, लगानीकर्ता टाढिएका छन्, र कूटनीतिक सम्बन्धमा असहजता बढेको छ । नेपाललाई अराजक, अव्यवस्थित र असफल राज्यको प्रतीकका रूपमा चित्रण गरिएको छ । संसारलाई हसाउने र देशलाई बेइज्जत बनाउने कामको आरोप अन्ततः जेन्जी आन्दोलनकै नाममा थोपारिएको छ।

यस आन्दोलनको मनोवैज्ञानिक परिणाम अझ विकराल छ। सुरुमा न्यायको सपना बोकेर सडकमा निस्किएका युवाहरूलाई पछि प्रयोग गरिएको भान हुन थालेको छ । संविधान र संरचनालाई ध्वस्त पारेर अराजकता ल्याएकोमा पछुतो गर्नुपर्ने अवस्था आएको छ। युवा पुस्तामै आत्मग्लानि र अपराधबोध फैलिएको छ । योजनाकार आपसमा एकअर्काको पोल खोल्दै आफ्नै विश्वसनीयता नष्ट गर्दैछन् । दूतावास र बाह्य शक्तिसँग नजिक भएको आरोप खेपिरहेका कतिपय नेताहरू मन्त्री पदको लोभमा फलाकिरहेका छन् । सरकारलाई गाली गर्नेहरू आपसमै मनमुटावमा परेका छन् । कतिपय दृश्यहरू त यति हास्यास्पद छन् कि राजनीतिक आन्दोलन होइन, चलचित्रको कथा जस्तो देखिन्छ।

अन्तरिम सरकारको भूमिका पनि सकारात्मक बन्न सकेन । जनतालाई राहत र आशा दिनुपर्ने बेलामा, उनीहरू मन्त्री पद बाँड्ने खेलमा रमाइरहेका छन् । जलपल र सत्कारमा रमाइरहेका नेताहरूलाई देख्दा आन्दोलनमा ज्यान गुमाएका नानीबाबुहरूको रगत र घाइतेहरूको पीडा अझ करुणास्पद लाग्छ । नागरिकहरू प्रश्न गर्न थालेका छन्- ‘यो देश कहाँ गइरहेको हो ?’

यद्यपि, यो संकटले एउटा कठोर सत्य उजागर गरेको छ नेपालको लोकतान्त्रिक संरचना पार्टी प्रणालीमै आधारित छ । सरकारको स्थायित्व भन्नुको अर्थ अन्ततः दलहरूको स्थायित्व हो । आन्दोलनले दललाई कमजोर, विभाजित र आलोचनाको केन्द्र बनाएको छ, युवा पुस्ताको मनोभावना बुझ्न नसक्नु नै सरकार र दल भित्रको ठूलो कमजोरी हो । देशलाई अघि बढाउने शक्ति युवामा हुन्छ, तर तिनकै आवाजलाई बेवास्ता गर्दा राजनीति दिशाहीन बन्छ तर फेरि पनि देश उठाउने जिम्मेवारी दलकै काँधमा छ । नागरिक समाजको आवाजलाई नीतिमा परिणत गर्ने शक्ति दलसँगै हुन्छ । धेरैलाई दलप्रणाली नै समस्या जस्तो लागे पनि, अन्ततः देश निर्माण गर्ने आधार यही प्रणाली हो भन्ने बोध समाजमा पुनः जाग्नेछ। त्यसैले, दलहरूले आफ्ना गल्ती स्वीकार्दै पारदर्शिता, जवाफदेहिता र जनप्रतिबद्धतासहित फेरि उठ्न जरुरी छ। यही बाटोले मात्र लोकतन्त्रलाई दिगो बनाउन सकिन्छ।

समग्रमा हेर्दा, जेन्जी आन्दोलनले नेपाललाई केवल क्षति मात्र दिएन, यसले देशलाई चरम त्रास, निराशा र अराजकताको दलदलमा डुबाइदियो । राजनीतिक स्थायित्व डगमगाएको छ, सामाजिक सम्बन्ध भत्किएको छ, अन्तर्राष्ट्रिय छवि ध्वस्त भएको छ । अब दोषारोपण होइन, सम्बोधन, उपचार र पुनर्निर्माणको बाटो रोज्नुपर्छ । युवापुस्ताको आक्रोशलाई सही बाटोमा लैजाने, सरकारलाई जिम्मेवार बनाउने, समाजको घाउ निको पार्ने र अन्तर्राष्ट्रिय समुदायमा विश्वास जगाउने साझा प्रयास नगरी नेपाललाई उज्यालो भविष्यतिर लैजान सकिँदैन । यही अहिलेको नेपालले सिक्नुपर्ने पाठ बनेको छ ।