हामीले खोजेको नेतृत्व नैतिक बल, जनताप्रतिको समर्पण, राष्ट्र हाँक्ने क्षमता र आलोचनालाई सम्मान गर्ने गुणयुक्त हुनुपर्छ, जसले केवल शासन नभई समाजको असल शिक्षकको भूमिका निर्वाह गर्न सकोस् । जसमा नैतिकता, क्षमता, समर्पण र दूरदृष्टि होस् ।
✍ राजबाबु शंकर
राजनीतिको दिशा र दशा बदल्नका लागि नागरिकको क्रियाशील, सचेत र आलोचनात्मक भूमिका अपरिहार्य हुन्छ । नेतृत्वको असफलता, पदलोलुपता र अक्षमताको दोष जति नेताहरूमा जान्छ, उनीहरूलाई बारम्बार जिताउने निर्वाचक जनताको भूमिका पनि उत्तिकै प्रश्नको घेरामा पर्दछ ।
मासु, चिउरा र रक्सी, नाता, टोलमा बाटो, पानी र बत्ती अनि खेतमा पानी पुऱ्याउने सामान्य प्रलोभनमा परेर भ्रष्ट, आपराधिक चरित्र तथा पृष्ठभूमि भएका व्यक्तिलाई चुनाव जिताउने नागरिक रहँदासम्म विधि र थितिको शासन स्थापनाको कल्पना गर्न सकिंदैन । नागरिकको पहिलो र सर्वाधिक अहम् भूमिका भनेको आफ्नो मतको महत्व बुझ्नु र विवेकका आधारमा मतदान गर्नु नै हो ।
जेन-जेड (२८ वर्ष मुनिका किशोर-किशोरी र युवा-युवतीहरू) ले गरेको केवल २ दिने आन्दोलनले नेपालमा अपूर्व र कल्पनातीत उथलपुथल ल्यायो, जुन संसारमै बिरलै देखिने परिघटना हो । यो आन्दोलनले केवल सत्ता परिवर्तन मात्र होइन, वर्तमान राजनीतिक प्रणालीको उपादेयतामाथि नै प्रश्न उठाएको छ र अब संरचनात्मक परिवर्तनको समेत मार्गप्रशस्त गर्ने छ भन्ने जनअपेक्षा अहिलेको हो । नयाँ पुस्ताको यो आन्दोलनले देखायो- जब जनता जाग्छन्; तब दम्भी, सन्की, देश-जनता लूट्ने डकैत र तानाशाही शासकहरू सजिलै ढल्छन् । यस अर्थमा यो पछिल्लो क्रान्ति अजेय जनशक्तिको उम्दा प्रमाण पनि हो ।
नेपालमा पुरातन जड परम्परावादी सत्ता उलटफेरको उठान खासगरी २०४७ सालयताका राजनीतिक बेइमानीका अनेकानेक गाजेमाजे सन्दर्भसँग जोडिएको छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०६२/६३ सालको जनआन्दोलनसम्म र त्यस यताको समयावधिमा विभिन्न दलका कथित नेताहरूबाट भएका निरन्तर राज्यदोहन र दण्डहीनताको अविरल सिलसिला नै यो पछिल्लो क्रान्तिको दावानल उठ्नुको खास कारण हो । जसका कारण अब त संविधान नै असफल हुने चरणमा छ ।
जेन-जेड आन्दोलनपछिको अवस्था लगभग तरल नै छ । क्रान्तिले अग्राधिकार दिएको नागरिक-सरकारले काम थालिसकेको भए पनि जेन-जेड आन्दोलनले प्राथमिकतामा राखेका शर्तअनुरुप केही खास निर्णयहरू अझै हुन सकेका छैनन् । हिजोअस्तिसम्म देशलाई आ-आफ्नै बिर्ता सरह ठानेर शासकीय भाँडभैलो मच्चाउनेहरूलाई अनिवार्य रूपमा दण्डित गर्ने बाटो खोलिएकै छैन । क्रान्तिको अर्को शर्त सुशासनको अनिवार्य बहाली हो, जुन यही क्रान्तिको म्याण्डेट अनुसार हालको नागरिक सरकारले पूरा गर्न बाँकी नै छ । अन्तरिम सरकारले अब देशलाई कसरी अगाडि बढाउने भन्ने अन्योल पनि चिरिइसकेको छैन । अन्तरिम सरकारले अब आम नागरिकको अपेक्षा अनुरुप विश्वास जगाउन अत्यावश्यक छ । सम्भावित दूरगामी समाधान पहिल्याउन जरुरी छ । संक्रमणकाललाई सुरक्षित अवतरणको खाँचो छ ।
अबउसो नेपाललाई हरहालमा स्थिर, पारदर्शी र जिम्मेवार नेतृत्व चाहिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र प्रविधिमा लगानीले आर्थिक रूपान्तरण गर्न युवा पुस्ताको सपना देशमै पूरा गर्ने वातावरण सिर्जना गर्नु पर्छ । जेन-जेड आन्दोलनले नेपालमा एक नयाँ अवसर जुन सिर्जना गरेको छ, त्यसलाई समयले दिएको पुरस्कारको रूपमा लिनु पर्छ । जेन-जेड आन्दोलनकारीको बलिदान व्यर्थ हुन दिनु हुँदैन । यो परिवर्तन दीर्घकालसम्म देशलाई अघि बढाउने ऊर्जा र अवसरमा परिणत गर्न नेपाललाई स्थिरता र सुशासन तर्फ प्रवृत्त गर्ने नेतृत्वको इमान र जमानको आवश्यकता छ ।
सही नेतृत्व समाजको असल शिक्षक हो भने नागरिक असल चेला बन्न सक्नु पर्छ । नेताहरूमाथि प्रश्न उठाउने अधिकारको प्रयोग त जरुरी छ नै, तिनको कर्म/कुकर्मको निरन्तर निगरानी गर्नु अर्को आवश्यकता हो । केवल मतदान गर्नु मात्र पर्याप्त छैन, लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाजको सक्रियता चाहिन्छ । जसका निम्ति अक्षम र प्रौढ नेतृत्वबाट युवा पुस्तालाई ठाउँ खाली गराउनका लागि दलका सदस्यहरू र आम नागरिकले भरपूर दबाब दिनैपर्ने भएको छ ।
परीक्षित र अक्षम बूढाखाडा नेतृत्वको विकल्पमा नयाँ पुस्ता योग्य र दलको विकल्पमा स्वतन्त्र बन्न सक्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न नागरिक आफैं विकल्पको खोजी र निर्माणमा जुट्नु पर्छ । तर, नेपालको सन्दर्भमा नागरिक कम, दलका कार्यकर्ता वा कमैया वा माफियाको आधिक्यका कारण राजनीतिमा अपराधीकरणको कालो पोतिएको छ ।
राजनीति र शासन-प्रशासनलाई योग्य, सक्षम र इमानदारहरूको संस्था बनाउन असल मानिसहरूलाई राजनीतिमा आउन प्रेरणा दिने र उनीहरूलाई समर्थन गर्ने भूमिका खेल्ने दायित्व निश्चित रूपमा नागरिक पंक्तिकै हो, हुनु पर्दछ । जेन-जेड पुस्ताको आक्रोशलाई सही सार र अर्थमा बुझिनु वाञ्छनीय हुन्छ । नागरिकको धैर्य टुटेको हद भनेकै जेन-जेड पुस्ताको यसपालिको आक्रोश हो । त्यसैले सचेत नागरिकको राजनीतिक जागरण आजको सबैभन्दा ठूलो आवश्यकता बनेको हो ।
सारांशमा भन्नुपर्दा, हामीले खोजेको नेतृत्व नैतिक बल, जनताप्रतिको समर्पण, राष्ट्र हाँक्ने क्षमता र आलोचनालाई सम्मान गर्ने गुणयुक्त हुनुपर्छ, जसले केवल शासन नभई समाजको असल शिक्षकको भूमिका निर्वाह गर्न सकोस् । जसमा नैतिकता, क्षमता, समर्पण र दूरदृष्टि होस् । वर्तमानसम्म नेपाली राजनीतिको सर्वाधिक खोजी नै त्यही हो । तर, विडम्बना.. नेपालको नेतृत्व ३ दशकभन्दा बढी समयदेखि अकर्मण्य, भ्रष्ट, निकम्मा र गद्दार व्यक्तिहरूको हातमा रहँदै आयो । परिणामतः विविधनामे दलका नेताहरू ‘पोखरीमा जमेको कुहिगन्धे फोहोर’ बनिरहे ।
परिणामतः नेतृत्वको सनक, अक्षमता र हठका विरुद्ध जेन-जेड (युवा पुस्ता)ले पुरानो नेतृत्वलाई बढारिसकेको छ । र, अबउसोका दिनहरूमा दलका अक्षम, दम्भी, लोभी-पापी, माफिया-तस्कर-भ्रष्टहरूका मात्रै हितैषी रहँदै आएका जनघाती/राष्ट्रघातीहरूले नयाँ पुस्तालाई ठाउँ खाली गर्नु बाहेकको विकल्प छैन । हाम्रो देशको सन्दर्भमा दार्शनिक प्लेटोले भनेजस्तै राष्ट्र हाँक्ने ‘क्याप्टेन’ र गुरुको अभिभावकत्व लिने क्षमता भएको नेतृत्वको आवश्यकता छ- वर्तमान ऐतिहासिक परिवर्तनको स्थायित्व लागि नागरिकको अपेक्षा यही नै हो । समयले ती देश र जनताप्रति बेइमान एवम् गद्दारहरू विरुद्ध चेतावनीको बिगुल फुकिसकेको छ… !
प्रतिक्रिया