भूतपूर्व जेनजीको आग्रह

भूतपूर्व जेनजीको आग्रह


अहिले मुलुकमा भएको जेनजी आन्दोलन, यसको उपलब्धि र यसबीचमा भएका त्रासदीपूर्ण घटनाहरूले उमेरमा परिपक्व हुँदै गएका हामीजस्ता मानिसहरूलाई पछाडि फर्किएर हेर्नुपर्ने ठाउँमा पुऱ्याएको छ । सन् १९९७ देखि २०१२ बीचमा जन्मिएकाहरूलाई जेनजी समूह मानिएको छ, उमेरका हिसाबले १३ देखि २८ वर्ष हुन आउँछ । सिक्ने, जान्ने, विभिन्न विषयमा कौतुहलता, के पढ्ने, कस्तो करियरमा जाने, प्रेम, सम्बन्ध, साथी-संगाति, जीवनसाथी, के गर्ने, के नगर्ने, के खाने, के नखाने यो उमेर मानिसको जीवनमा निकै महत्वपूर्ण समय हो । उमेरको १३ देखि २८ वर्षको बीचमा मैले के गरेँ भनी फर्किएर हेर्दा, केही गर्नैपर्ने कुराहरू, केही गर्नै नहुने गल्तीहरू, केही जिन्दगीलाई पाठ सिकाउने खालका कुराहरू, जानेर-नजानेर, बुझेर-नबुझेर देखिएका केही सपनालाई पूरा गर्न बनाइएका आधारहरू यही उमेरमा गरिएछ ।

२०८२ सालको जेनजी आन्दोलनले २०४६ को सम्झना गरायो, जतिबेला मेरो उमेर समूहका जेनजीहरू त्यसैगरी जोसका साथ पञ्चायत ढाल्न अग्रसर थिए । अहिले बृद्ध भएका कति नेताहरू जेनजी उमेरमै प्रजातन्त्रका लागि आवाज उठाएकाले जेलमा थिए । कतिचाहिँ प्रजातन्त्रको लागि सङ्घर्ष गर्दागर्दै यो संसारबाट बिदा भएका थिए । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, शैलजा आचार्य, साहना प्रधान, मंगलादेवी सिंहलगायतले यही उमेरमा राजनीतिक यात्रा तय गरेका थिए । चार शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले राणा शासनविरुद्धको आवाज जेनजी उमेरमै उठाएर ज्यानको बाजी लगाएका थिए । त्यसमा पनि शहीद गंगालालले सहादत प्राप्त गर्दाको उमेर नै जेनजी उमेर थियो ।

बृटिशले विश्वमा साम्राज्य चलाइरहँदा उनीहरू नेपाल प्रवेश गर्न नसक्नुमा विभिन्न भूमिकामा रहेका तात्कालीन जेनजी पुस्ताको ठुलो भूमिका छ । जेनजी उमेरमै सेनामा भर्ती भएर देशका लागि लड्नेहरूदेखि लिएर बुद्धिमतापूर्ण चाल चलेर देश जोगाउनेहरूको इतिहास लिपिवद्ध भएकै छ । हाम्रो मुलुकमा आन्दोलनहरू धेरै भए तर अहिलेको जस्तो एकैदिन, यति ठुलो संख्यामा युवाहरूको कत्लेआम गरिएन । ज्यानको आहुती विभिन्न आन्दोलनमा मानिसहरूले दिए तर यसपटक युवाहरूको हत्या निर्ममतापूर्वक गरिएको थियो, त्यसो त हत्या आफैमा निर्मम नै हुन्छ । जसरी भ्रष्टाचारको विरोध र बन्द गरिएका सामाजिक संजाल सञ्चालनको माग लिएर जुलुसमा हिँडेका युवाहरूको हत्या अकल्पनीय तवरले गरियो, त्यसैगरी अकल्पनीय तरिकाले मुलुकका ऐतिहासिक धरोहरहरू जलेर खरानी भए ।

जेनजी उमेरमा गाउँबाट काठमाडौं आएका हाम्रो उमेरका मानिसहरूका लागि सिंहदरबार एउटा सपनाको परिसर थियो । राजधानी पुगेका अधिकांश मानिसलाई सिंहदरबारको परिसर टेक्ने र हेर्ने रहर हुन्छ । काठमाडौंबाहिरकालाई मात्र नभइ काठमाडौंमै हुर्किएकाहरू पनि सबैले सिंहदरबार छिर्न कहाँ पाउँछन् र ? २०४७ सालमा पहिलोपल्ट सिंहदरबार परिसरमा पुग्दा मैले संसारको सबैभन्दा ठुलो, राम्रो र सपनाको ठाउँमा पुगेको महसूस गरेकी थिएँ । संसद् भवन, रेडियो नेपाल, प्रधानमन्त्री कार्यालय… गौरवान्वित भए जस्तो, के के जस्तो त्यसै त्यसै मन रोमाञ्चित भएको थियो ! त्यतिबेला देखेको जेनजी सपना बढीमा सिंहदरबारभित्रै कतै काम पाए… भन्ने हुन्थ्यो । रेडियो नेपालको घटना र विचार कार्यक्रममा दुई पटक गरी करिब पाँच वर्ष काम गर्दा धेरै कुरा सिकियो, जानियो, बुझियो । त्यतिबेला बनाएको सूचनाको आधारले अहिलेसम्म पनि काम गरिरहेको छ । सिंहदरबार जलाउने त के बाहिरबाट अलिकति क्षति पुऱ्याउने कल्पना पनि गर्न सकिँदैनथ्यो । दोषी शासकहरूको रिसमा ऐतिहासिक संरचना निमिट्यान्न पार्ने जेनजी जोस हुनै सक्दैन र अहिलेको सन्दर्भमा पनि त्यो जेनजीबाटै भएको हो भनेर मान्न सक्ने अवस्था छैन ।

हाम्रा केही भूतपूर्व जेनजीहरूलाई देश बनाउने ठुलो अवसर थियो तर त्यो अवसरलाई उहाँहरूले सदुपयोग गर्न सक्नुभएन । २०४६ सालपछिकै कुरा गर्दा गिरिजाप्रसाद कोइरालाले चाहनुभएको भए मुलुकमा सिस्टम बसाउन सक्नुहुन्थ्यो तर उहाँको पालामा धेरै बेथितिहरू भए । आफ्नो दलले बहुमत ल्याउँदाल्याउँदै मध्यावधि चुनावमा उहाँ जानुभयो । अन्य पनि धेरै कुराहरू भए । त्यसपछिको अवस्था त करिब उस्तै-उस्तै हो । मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालमा केही सुधारहरू भए, वृद्धभत्ता जस्तो सम्झनयोग्य सामाजिक सुरक्षा र अन्य केही कामहरूको थालनी भएको थियो, तर भत्ताबाहेक अरुले निरन्तरता पाउन सकेनन् । गिरिजाप्रसाद कोइरालापछिको ठुलो अवसर पाउनेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो । उहाँ र उहाँको टिमले चाहेको भए भ्रष्टाचार तथा अन्य बेथितिहरूलाई सहजै रोक्न सक्थ्यो तर त्यसो गरिएन, बरु पहिला अरुले जे गरे त्योभन्दा बढी आफूले गर्नुपर्छ झैँ गरियो ।

यसबीचमा विभिन्न दलमा रहेका युवाहरूमध्ये धेरैले अवसर नै पाएनन्, जसले पाए तीमध्ये ज्यादै थोरैले मात्र सम्झन लायक काम गर्न सके । नेपाली काङ्ग्रेसमा जेनजी उमेरमा सबैभन्दा बढी नाम कमाएका गगन थापा हुन् । उनले जम्मा एकपल्ट मन्त्री बन्ने अवसर पाए । आफू स्वास्थ्यमन्त्री हुँदा गगनले मृगौलाको डाइलोसिसलगायत केही रोगमा निःशुल्क उपचारको ब्यवस्थासँगै सर्वसाधारणका लागि स्वास्थ्य बिमाको नीति अघि बढाए । जुन स्वास्थ्य बिमाले अहिले धेरैलाई स्वास्थोपचार गर्न सहज भएको छ । आफ्नै वडामा गर्न मिल्ने स्वास्थ्य बिमा भएका मानिसलाई अस्पतालहरूले सजिलै उपचार गरिदिन्छन्, बिमाले साथमा पैसा नहुँदा क्यासकै काम गर्छ । मेरै आफन्तहरू कतिले बिमाका कारण सहज उपचारपछि गगन थापाको जय होस् भनेको सुनेकी छु । कतिलाई चाहिँ यति राम्रो काम कसको पालामा भयो थाहा छैन तर सरकारले यो चाहिँ राम्रो गरेको रहेछ भन्नेचाहिँ लागेको छ ।

पछिल्लो समयमा प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा केही राम्रा प्रयासहरू अघि बढाएका थिए । यस्तै गोकर्ण बिष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा वैदेशिक रोजगारीलाई ब्यवस्थित गर्ने कोशिस गरेका थिए । उनले पनि लामो समय काम गर्न पाएनन् । वास्तवमा राजनीतिक दलमा भ्रष्टाचार नगर्ने युवाहरूले लामो समय काम नै गर्न पाएनन्, यही लहरमा पूर्व शिक्षामन्त्री बिद्या भट्टराई पनि पर्छिन् । गोकुल बासकोटा जति नकारात्मक रूपले चर्चामा आए, त्यति खराब मान्छे हुन् जस्तो लाग्दैन ।

केहीलाई छोडेर हेर्दा भूतपूर्व जेनजीहरूले पनि काम नगरेका चाहिँ होइनन्् । गाउँदेखि शहरसम्म वडादेखि केन्द्रसम्म कामहरू भएका छन् । बाटोघाटो, सञ्चार, बिजुलीबत्ती लगायतका कुरामा मुलुकले राम्रो फड्को मारेको छ । तर मुलुकमा केही पनि भएको छैन भन्ने न्यारेटिभ हामीले सेट गऱ्यौं । यस्तो न्यारेटिभ सेट गर्नमा मिडियाको ठुलो भूमिका छ । केही पाका नेताहरूले अति नै गरेका हुन् तर कतिपय युवाहरू मन्त्री हुँदा उनीहरूले पनि कमचाहिँ गरेनन्, जो अहिले भागी-भागी हिँडिरहेका छन् । त्यसैले युवा भनेर मात्रै नहुने रहेछ, उमेरभन्दा पनि सम्बन्धित ब्यक्तिको सोच कस्तो छ त्यसमा धेरै कुरा भर पर्छ ।

यसपटकको जेनजी आन्दोलनले हामीलाई हाम्रो समाज बुझ्न पनि ठुलो अवसर दिएको छ । विगतमा छिमेकी घरमा आगो लाग्यो भने पानी लिएर दौडिने हामी अहिले छिमेकीको घर जल्दा खुशी हुने भएछौँ । केही भिडियोहरू हेर्दा छिमेकीले नै पर्दामा आगो झोस्दै गरेको पनि देखियो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको गाडीले सुरक्षित स्थलतिर लैजाँदै गर्दा ल… भागी भागी… भनेर भिडियो बनाइरहेकी छिमेकीले उहाँको घर जल्दैगर्दा ठिक्क पऱ्यो, त्यसलाई पनि भित्रै राखेर जलाउनुपर्ने… भनेको पनि सुनियो । यसअघि आफ्नो छिमेकी जल्दै गरेको परिकल्पना गर्न सक्छौं जस्तो लागेको थिएन ।

सबैलाई एकैठाउँमा राखेर हेऱ्यो भने अन्याय हुन्छ, केही नेताको घर छिमेकीले नै बचाइदिए । त्यसमध्ये एउटा योगेश भट्टराईको घर हो । युवाहरूले आगो लगाउन लागेपछि छिमेकीहरूले हात जोडेर आगो नलाइदिनका लागि अनुरोध गरेका थिए । त्यसो गर्नेमध्ये दुई घरका परिवारलाई म राम्ररी चिन्छु । छिमेकीसँग योगेश परिवारको सम्बन्ध कस्तो छ थाहा भएन तर उनको घर जल्नबाट जोगाउन पाएकोमा छिमेकीहरू भने निकै खुशी थिए । छिमेकी साट्न मिल्दैन त्यसैले राम्रो छिमेकी चाहिन्छ भनेर पहिलाका मानिसहरूले त्यसै भनेका होइन रहेछन् ।

अहिले जेनजी आँखामा सबै राजनीतिकर्मी खराब हुन् भन्ने परेको छ, तर वास्तविकता त्यस्तो होइन । हामीकहाँ राम्रा राजनीतिकर्मीको सङ्ख्या ठुलो छ, जसले पार्टीमा, सरकारमा अवसर नै पाएका छैनन् या कम पाएका छन् । इतिहास त्यसै बनेको हुँदैन । हिजो जेनजी उमेरमा राजा महेन्द्रलाई कालाझण्डा देखाउने साहस गर्ने शैलजा आचार्यको जीवन भ्रष्टाचारको विरोध गरेरै बित्यो । आफू पहिलोपल्ट कृषिमन्त्री हुँदा मन्त्रालयमा भ्रष्टाचारको जालो छ भनेर बोलेकै कारण उहाँले राजिनामा दिनुपऱ्यो । बाँचिरहनु भएको भए देशको पहिलो महिला प्रधानमन्त्री हुने हैसियत उहाँले राख्नुहुन्थ्यो । सबै राजनीतिकर्मी भ्रष्टाचारी छैनन्, कतिलाई सहज रुपले जिन्दगी धान्नै गाह्रो छ । म त्यस्ता कति सांसदहरू चिन्छु जोसँग कहिलेकाहीँ गाडीभाडा नै हुँदैन । संसद्बाट आएको तलबभत्ताले आफ्नो निर्वाचन क्षेत्र र जिल्लाबाट आएका मानिसहरूलाई टार्ने पुऱ्याउने, सन्तानको फी, घरभाडा यस्तै ब्यवहारिक कुराहरू धान्नै पुग्दैन । त्यसैले सबैलाई एकै ठाउँमा राखेर गोलमोटल रुपमा नहेरौँ ।

अन्त्यमा, अलिकति उमेरको कुरा गर्न मन लाग्यो । युवा हुँदा कति जोस हुन्छ हामी भूतपूर्व युवाहरूलाई अनुभव भएकै कुरा हो । युवा अवस्थामा सबैभन्दा बढी चाहना परिवर्तनको हुन्छ । अहिलेका पाका नेताहरूलाई हिजो आफू युवा हुँदा परिवर्तनको चाहना नभएको भए मुलुक अहिलेको ठाउँमा आइपुग्ने थिएन । तथापि, केही सीमित नेताहरूको मुट्टीमा सत्ता-श्रोत भएका कारण सबै नेपालीले दुख पायौँ । विश्वमा गरिब र बेरोजगार भनेर चिनिनु पऱ्यो । आगामी दिनमा त्यस्तो नहोस् भन्नका लागि हामी बदलाको भावनाभन्दा माथि उठ्न सक्नुपर्छ । यसको अर्थ अपराधमा संलग्नलाई छोड्नुपर्छ भन्ने होइन । उमेर भन्ने कुरा यसरी बितेर जान्छ कि आफू युवा नै छु, भरखरकै छु भन्ने ठान्दाठान्दै कपाल फुलिसक्ने रहेछ । आजका जेनजीलाई भोलि परिपक्व उमेरमा पुग्न लामो समय नै लाग्दैन । आज बदला लिन सिकायो भने भोलिका जेनजीहरूले पनि त्यही सिक्नेछन् । बदलाको भावनाले देशलाई युद्धमा धकेल्छ । यो देशले अब कुनै पनि प्रकारको युद्ध धान्न सक्दैन ।

अबको बाटो बेरोजगारी हटाउन ठाउँ-ठाउँमा योजनाबद्ध तरिकाले उद्योगहरूको स्थापना गर्नु हो । युवाहरूलाई अहिले रोजगारीको खाँचो छ, आफ्नै खुट्टामा उभिनु छ, जिन्दगी चलाउनु छ, देशको बारेमा सोच्नु छ । हिजोका नेताहरूले फूल टाइम राजनीति गर्दा राजनीति पेशा झैं बन्यो, विकृत पनि भयो । अबका युवाले आफ्नो रोजगारी निश्चित गरेर राजनीति गर्नु छ । राजनीतिलाई पेशा होइन सेवा बनाउनु छ । देशकै लागि लड्दा पनि केही विपत्ति आइलाग्दा आफू मात्रै भइन्छ भन्ने कुराको साक्षी आन्दोलनका घाइतेहरू छन् । उनीहरू देश बनाउने सामूहिक संघर्षमा थिए, गोली लागेर घाइते भएपछि अस्पताल र घरको ओछ्यानमा एक्लै पुनर्जीवनको संघर्ष गरिरहेका छन् । राष्ट्रियता हामीकहाँ सधैं बिकाउ शब्द हो तर त्यो पनि केमा खोज्ने ? भन्ने हुँदोरहेछ । विगतको सरकारले इन्टरनेटमा राष्ट्रियता खोज्दा यो हालत भयो । हाम्रो भूराजनीति निकै संवेदनशील छ, हाम्रो एउटा बोलीले गोलीको काम गर्न सक्छ । नदीको बहावसँग लडाइँ गर्न थाल्यो भने डुबिन्छ, बहावको आँकलन गरेर अगाडि बढ्नु पर्नेछ । जिन्दगीका धेरै हिउँद र वर्षाहरू ब्यहोरेपछि अहिले लागिरहेको छ- उमेरभन्दा सोचले फरक पार्दोरहेछ । परिस्थिति हेरेर पाइला चालौँ, भोलि हामी नरहने निश्चित छ, यस्तो काम गरौँ हामी नरहेपनि नेपाल देश सधैं रहिरहने निश्चित होस् ।