रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा


यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका तीन वैज्ञानिकले संयुक्त रूपमा दिने घोषणा नोबेल पुरस्कार छनौट समितिले गरेको छ ।

पुरस्कार समितिका अनुसार ‘मेटल-अग्र्यानिक फ्रेमवर्क’ (एमओएफ)को विकास गरेका जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई सन् २०२५ को नोबेल पुरस्कार दिन लागिएको हो।

समितिका अनुसार उनीहरूले ’मलिक्यूलर आर्किटेक्चर’को नयाँ शैली विकास गरेका छन् । धातुका आयन र प्राङ्गारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता र सूक्ष्म प्वालहरू भएको संरचना नै एफओएफ हो। पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा यसको प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन्।

यसअघि नोबेल पुरस्कार समितिले सोमबार चिकित्साशास्त्रतर्फ र मङ्गलबार भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरिसकेको छ। अब बिहीबार साहित्य, शुक्रबार शान्ति र आगामी साता सोमबार अर्थशास्त्र विधाका विजेताको नाम घोषणा हुने जनाइएको छ।

क्योटो विश्वविद्यालयमा प्राध्यापक कितागावाको जन्म सन् १९५१ मा जापानमा भएको हो । पुरस्कार घोषणा सभामा फोनमार्फत् बोल्दै प्राध्यापक कितागावाले आफ्नो खोज पुरस्कृत भएकोमा सम्मानित महसुस भएको प्रतिक्रिया दिएका छन् ।

यागीको जन्म सन् १९६५ मा जोर्डनमा भएको हो । उनी बक्र्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापक छन् ।

रब्सनको जन्म सन् १९३७ मा बेलायतमा भएको थियो भने उनी अहिले मेल्बोर्न विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।

उनीहरूले सन् १९९२ देखि २००३ मा भिन्नाभिन्नै एमओएफबारे खोज गरेका थिए। त्यसपछि रसायनशास्त्रीहरूले हजारौँ एमओएफ निर्माण गरेका छन्।