सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (२३ असोज) बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
यही असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो र बाढीमा परी पूर्वी पहाडी जिल्ला इलाममा ३९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सोही घटनामा परी एक जना बेपत्ता र २६ घाइते भएका थिए । बाढी र पहिरोबाट इलामको सडक सञ्जालमा ठूलो क्षति पुगेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न रु २० अर्ब बराबरको ऊर्जा वण्ड चरणबद्ध रुपमा निष्काशन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षकहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समिति खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति २०८१ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ ।
अध्यागमन र भिजिट भिसाका सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइको छ । त्यस्तै, नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेस गरेको प्रतिवेदन २०८२ कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय भएको जनाइएको छ ।
photo: rss
प्रतिक्रिया