प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक मर्न नदिने बताउनुभएको छ ।
सर्वोच्च अदालतमा बिहीबार (२३ असोज) नेपाल बार एशोसिएसनका अध्यक्षसहित पदाधिकारीहरु, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिक्ताहरु, उपत्यका बार एशोसिएसनका अध्यक्ष तथा सचिवहरुसँग छलफल गर्दै प्रधानन्यायाधीश राउतले सो कुरा बताउनुभएको हो ।
‘शीघ्र सेवा सञ्चालन गर्छौं, सर्वोच्च अदालतको सूचना प्रविधिको ‘रिकभर’ हुनेबित्तिकै सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालन हुन्छ’, प्रधानन्यायाधीश राउतले भन्नुभयो ।
सूचना प्रविधिको शाखाले दिनरात काम गरिरहेको जानकारी दिँदै प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको पूर्ण बैठक राखेर छलफल गरी थप धारणा सार्वजनिक गर्ने बताउनुभयो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीमा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं र उच्च अदालत तुलसीपुरमा ठूलो क्षति पुगेको थियो । हाल सर्वोच्च अदालतसहित देशभरका सबै अदालतमा अतिआवश्यक सेवा सञ्चालन भइरहेका छन् ।
नेपाल बारका अध्यक्ष प्राडा विजय मिश्रले सर्वोच्च अदालतसहित देशभरका अदालत नियमित रुपमा सञ्चालन गर्नुपर्ने तथा बार र कानुन व्यवसायीसँग भएको मुद्दाका मिसिल झिकाउन सहयोग गर्ने बताउनुभयो ।
‘नेपाल बार र कानुन व्यवसायीसँग भएका मिसिल ल्याउन बारले सहजीकरण गर्नेछ, अदालत नियमित रुपमा सञ्चालन गर्नुपर्छ, कतिपय पुराना मिसिल नचाइने काम तत्काल सञ्चालन गर्नु जरुरी छ’, उहाँले भन्नुभयो ।
नेपाल बारले यसअघि पनि प्रेस विज्ञप्ति जारी गरी अदालत नियमितरुपमा सञ्चालन गर्न आग्रह गरेको थियो । सर्वोच्च अदालतको भवन पूर्ण रुपमा जलेको र धेरै मुद्दाका मिसिल जलेकाले पालमुनिबाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ भइरहेको छ ।
file photo: rss
प्रतिक्रिया