जेन-जेड क्रान्तिले देखाएको उज्यालो सपनाको सिँढीमा टेकेर, नेपाली जनक्रान्तिका प्रस्तोता एवम् क्रान्तिनायक विश्वेश्वरप्रसाद कोइरालाले ८ दशकअघि आह्वान गर्नुभएको क्रान्तिले अब सम्भवतः पूर्णता पाउने छ- फेरि यो मुलुकमा कुनै अर्को क्रान्ति गर्नु नपर्नेगरी अन्तिम क्रान्ति !
✍ राजेश ढुंगाना
जेन-जेड क्रान्तिपछि सरकार-प्रमुखका रुपमा बहाल सुशीला कार्कीले अनायास र अकस्मात आफ्नो बोली र व्यवहारमा नब्बे डिग्रीको परिवर्तन गरेको आभाष हुँदैछ । उनी भन्छिन्, ‘आफूलाई चुनाव गर्ने मात्र म्याण्डेट हो ।’ उनले बुझ्न चाहिनन् वा सकिनन्, त्यो त उनले नै जान्ने कुरा हो । तर, उनले रामचन्द्रले दिएको म्याण्डेट हेर्ने कि जेन-जेडको रक्तबलिदानपूर्ण आदेशलाई स्वीकार्ने- मूल सवाल चैं यो हो । चुनाव गराउने मात्रै हो उनको काम भने, जेन-जेड क्रान्तिको जरुरी थिएन र स्वयम् सुशीलाको समेत आवश्यकता थिएन – प्रधानमन्त्री पदमा । ऐतिहासिक क्रान्तिको म्याण्डेटलाई रक्तहोली खेलेर सुशीलालाई क्रान्तिलाई धोका दिने छुट कदापि छैन ।
चुनाव गरेर पहिलाकै जाली, फटाहा, दुष्कर्मी र सम्पूर्णमा भ्रष्ट भएकाहरूलाई फेरि पनि नेपाली जनता र नेपालको वर्तमान एवम् भविष्य सुम्पने दुष्कर्म मात्र सुशीलाले गर्ने हो भने- इतिहासले उनको यो पछिल्लो युवा बलिदानीपछिको यो कपटपूर्ण धोकाका निमित्त अपराधी ठहर गर्ने छ- जीवन पर्यन्त ।
चुनाव मात्र गराउने म्याण्डेट हो भनेर प्रधानमन्त्री सुशीलाले पुराना चरम भ्रष्टहरूलाई चोख्याएर पुनः उनीहरूलाई नै सत्ता सुम्पने जुन नियत देखाउँदैछिन्, त्यो खोटो देखिन्छ ! जेन-जेडको माग चुनाव हुँदै होइन, भ्रष्टाचारको समूल नष्ट र शासकीय सुधार एवम् आमूल परिवर्तन हो । त्यत्रो ठूलो रक्तबलिदानको मूल्यमा प्रधानमन्त्री बनाइएकी सुशीलाले केवल चुनावको रटान लगाएर जेन-जेड क्रान्तिको लक्ष्य, उद्देश्य र महानतालाई धोखा दिने जुन संकेत देखाएकी छिन्- उनको यो धोका प्रकारान्तरले देशलाई नै दिएको धोका र गद्दारी हो ।
दण्डहीनता र भ्रष्टाचारविरोधीको छवि एवम् सुशासनको पक्षमा निरन्तर सशक्त वकालत आएकी सुशीलाले अहिले आएर यसरी अकस्मात आफ्नो स्वर बदल्नु आश्चर्य र खेदजनक विषय भएको छ ! चुनाव त जोसुकै अर्कोले गथ्र्यो वा जेन–जेड क्रान्ति नभएकै भए पनि हुन्थ्यो, गराउँथ्यो । तर, सुशीला त्यस्तो रक्तआहालको जगमा टेकेर बडो भरोसा लिएर प्रधानमन्त्री बनाइएकी हुन् । तर, अब आएर ‘चुनाव मात्र गराउने म्याण्डेट हो’ भन्नु कलिला नानी-बाबुहरूको रगतको होली उनैले खेल्नु हो– के.पी.ले जत्तिकै र सम्भवतः त्योभन्दा अझै बढी पनि ।
भ्रष्टाचारीलाई कुनै मोलाहिजा र दबाबमा नपरिकन पाता कसेर नेपालको राजनीतिलाई सदैवका लागि सुशासनको प्रस्थान विन्दु बनाउनु जेन-जेड क्रान्तिको एक सूत्रीय मांग थियो, जुन एक सूत्रभित्रै सबै सूत्र समेटिन्थे । तर, प्रधानमन्त्री सुशीलाले यही मुख्य सूत्रलाई पन्छाउने जानाजान जुन काम गरिरहेकी छिन्– प्रकारान्तरले आजसम्मकै भ्रष्टाचारी र कुशासनीहरूलाई फेरि देश सुम्पने प्रपञ्च थालेको संकेत प्रष्ट रुपमा देखिन थालेपछि उनले क्रान्तिलाई धोका दिन थालेको ठहरको नजिक पुग्न थालेको हो मुलुक ।
अर्का तर्फ, सरकारमा हालसम्म पनि एउटै पनि जेन-जेड क्रान्तिकारीहरूको प्रतिनिधित्व नगराएर क्रान्तिपछिको शक्तिशाली प्रधानमन्त्री भएर पनि सुशीलाले एउटा सिंगो क्रान्तिकारी पुस्तालाई लत्याइरहेकी छिन् । जुन शक्तिकोबल र आडमा उनी प्रधानमन्त्रीको ‘जागिर’ (?) खान पुगेकी छिन्- त्यसैका विरुद्धको उनको यो कदम सम्पूर्णमा आलोच्य छ । यो निर्लज्जता र बेइमानीको पराकाष्ठा पनि हो ।
कार्यकारी प्रमुखका हैसियतमा सुशीलाले शासकीय सुधार गर्न र भ्रष्टाचारीलाई दण्ड-सजाय गर्न चाहे यही संविधान अन्तरगत नै पनि अध्यादेश ल्याउन सक्छिन् । यसो गरिदिए यो मुलुकको कायाकल्पको ढोका उघ्रने थियो । यद्यपि उनले यो संविधानलाई क्याबिनेट निर्णय गरेर हटाउने म्याण्डेट क्रान्तिबाट पाएकै थिइन् । परन्तु, यो म्याण्डेटबाट उनी सर्लक्क पन्छिइनन् मात्र, यही संविधानको बलमा गर्न सकिने न्यूनतम साहसिक काम पनि गर्न नसक्दा उनी त नराम्रोगरी चुकेकै छिन्; क्रान्तिको विरासतमा कलंक समेत लगाइदिएकी छिन् ।
भ्रष्टाचारको छानवीन गरेर त्यसलाई समूल नष्ट गर्दै सुशासनको जग बसाउने काम जेन-जेड क्रान्तिको पहिलो मांग थियो भन्ने सत्यलाई हठात् लत्याएर प्रधानमन्त्रीको ‘जागिर’मा रमाउन पुगेकी सुशीलाबाट मुलुकले जुन अपेक्षा गरेको थियो- त्यसो नगरेर जेन-जेड क्रान्ति र मुलुकलाई त धोका दिइन् नै; अन्ततः सुशीलाले यतिञ्जेलसम्मको आफ्नै हक्की र स्वाभिमानी शाख एवम् पहिचानलाई समेत धोका दिन, बदनामीको गर्तमा धकेल्न पुगेकी छिन् ।
सुशीलाले यसरी सर्लक्कसँग जेन-जेड क्रान्तिलाई धोका देलिन् भन्ने आशंका समेत राष्ट्रले राखेको थिएन । क्रान्तिका महान् सपनाहरू थिए । राजनीतिक दलहरूले अनवरत ३५ वर्षसम्म राष्ट्रमाथि गरेको गद्दारीको दण्ड दिनु थियो – क्रान्तिको उद्देश्य र माग । २०४७ सालपछिका आर्थिक र राजनीतिक अपराधीहरूलाई पाता फर्काउन उनलाई कसैले र केहीले रोकेको थिएन, अझै छैन । तथापि, किन उनी यसमा चुकिन् ? कि उनी यो चुक्न र चुकाउनकै लागि षडयन्त्रमूलक ढंगले प्रधानमन्त्री बनाइएकी थिइन् ?- प्रश्न गम्भीर र खतरनाक रूपमा तेर्सिएको छ ।
अब सुशीला कार्की हतियार र ढाल दुबै बनेर नेपालमा भएको आमूल परिवर्तनका लागि क्रान्ति रोकिनेवाला छैन । राष्ट्रदोहनकारी र जनतामारा दलका बदमासहरूलाई सुशीलाले सुनपानी छर्केर चुनावको नाटक गरी चोख्याए नै पनि – नेपाली जनताले अब उनीहरूलाई स्वीकार गर्ने छैनन् । सुशीलाले नेपालको वर्तमानको महान क्रान्तिलाई कपटपूर्ण ढंगले धोका नै दिए पनि – मुलुकले खोजेको सुशासन र आमूल परिवर्तनका निमित्त अहिलेको भन्दा पनि ठूलो क्रान्ति निश्चित छ । मुलुक अगाडि बढ्छ, बढेरै छाड्छ । सुशीला वा अरु कसैले रोकेर वा छेकेर छेकिन्न भन्ने कुरा सुशीलाले समयमै नबुझ्ने हो भने यिनी पनि दलका भ्रष्टहरूको चिहानमै उनीहरूसँगै एकैपटक समाधिस्थ हुनेछिन् ।
यदि यो मुलुकको कुनै भविष्य छ भने (छैन भने त कुरा अर्कै हो) वर्तमान जेन-जेड क्रान्तिले देखाएको उज्यालो सपनाको सिँढीमा टेकेर नेपाली जनक्रान्तिका प्रस्तोता एवम् क्रान्तिनायक विश्वेश्वरप्रसाद कोइरालाले ८ दशकअघि आह्वान गर्नुभएको क्रान्तिले अब सम्भवतः पूर्णता पाउने छ- फेरि यो मुलुकमा कुनै अर्को क्रान्ति गर्नु नपर्नेगरी अन्तिम क्रान्ति !
प्रतिक्रिया