आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ । भियतनाको होचिमिन सिटीस्थित थोङ न्हाट खेल मैदानमा मंगलबार (२८ असोज) भएको तेस्रो चरणको आफ्नो चौथो खेलमा भियतनामसँग नेपाल १-० गोलअन्तरले पराजित भएको हो । तेस्रो चरणमा नेपालको यो लगातार चौथो हार हो ।
समूह एफअन्तर्गत भियतनामविरुद्धको खेल नेपालमा आयोजना हुने भनिएकामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एसियन कप छनोट खेल खेलाउन सम्भव नभएकाले नेपाली टोलीले भियतनाममा गएर खेल्नुपरेको हो ।
नेपाल भियतनामसँग पराजित भएसँगै नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिएको छ । यसअघि भियतनामविरुद्धको ‘अवे’ खेलमा भने नेपाल ३-१ ले पराजित भएको थियो । त्यसअघि नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो भने लाओससँग २-१ ले पराजित भएको थियो । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।
भियतनामसँगको खेलमा नेपालका सुमन श्रेष्ठले खेलको पहिलो हाफमा गरेको आत्मघाती गोलमा भियतनाम विजयी भएको हो । खेलको पाँचौँ मिनेटमा सुमनबाट आत्मघाती गोल भएको थियो । योसँगै चार खेल हारेको नेपाल अङ्कविहीन हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
प्रतिक्रिया