ब्रिट्नीमाथि यौन-दुर्व्यवहारको मुद्दा

ब्रिट्नीमाथि यौन-दुर्व्यवहारको मुद्दा


पटक-पटक अनेक विवादमा पर्दै आएकी चर्चित पपगायिका ब्रिट्नी स्पेयर्स पुन: नयाँ झमेलामा परेकी छिन् । आफूले कुनै रुचि नदेखाउँदा पनि यौनतुष्टि मेटाउने आशयले ब्रिट्नी पटक-पटक निर्वस्त्र भएर आफ्नोसामु प्रस्तुत भएको आरोप उनकै अंगरक्षकले लगाइदिएपछि यस्तो अवस्था सिर्जना भएको हो । ब्रिट्नीको यो व्यवहार आफूमाथिको यौन-दुर्व्यवहार भएको भन्दै जागिर नै छोडेर २९ वषीर्य अङ्गरक्षकले उनीमाथि शारीरिक तथा यौन-दुर्व्यवहारको मुद्दा दिएका छन् ।
अङ्गरक्षक फ्लोरेन्स लामो समय प्रहरी सेवामा बिताएका र पछिल्लो समय ब्रिट्नीको अङ्गरक्षकका रूपमा कार्यरत थिए । ब्रिट्नीले आफूलाई मन पराएको तर आफूले ब्रिट्नीलाई जहिले पनि सम्मानित रूपमा हेर्दै आएको रहस्योद्घाटन पनि अङ्गरक्षकले गरेका छन् । जति नै सम्मानको दृष्टिले हेरे पनि आफूसामु निर्वस्त्र भएर प्रस्तुत हुने हरकत ब्रिट्नीले पटक-पटक गर्दै आएको दाबी उनले गरेका छन् । यस्तो व्यवहार नगर्न अनुरोध गर्दा ब्रिट्नीले बेवास्ता गरेकोले अन्तत: हैरान भएर प्रहरीसामु उनकाविरुद्ध उजुरी दिनुपरेको फ्लोरेन्सले स्पष्ट पारेका छन् । यत्रो लफडा भइसक्दा पनि ब्रिट्नीले भने यसबारे अझैसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

विद्रोहीले विवाह गर्दा विवेक बुरुक्क
गत १३ तारिख आइतबारका दिन उत्तरी श्रीलङ्कास्थित सरकारी शिविरमा आयोजित एक रङ्गीन समारोहबीच ५३ जोडी पूर्व तमिल टाइगर विद्रोहीहरू एकसाथ विवाहबन्धनमा बाँधिए । यसरी विवाह गर्नेहरूमध्ये कतिपय त २३ वर्ष लामो गृहयुद्धका लागि प्रशिक्षित वा युद्धमा होमिएका लडाकु थिए भने केही दम्पतीहरू कानुनी रूपमा विवाह नगरीकन पहिल्यै सँगसँगै बस्दै आएका थिए । उनीहरू उत्तरी सहर भभुनिया नजिकको पुनर्स्थापना शिविरमा सरकारको निगरानीमा रहँदै आएका हजारौँ विद्रोहीमध्येकै रहेका समाचारमा जनाइएको छ । गत साताको सो विवाह महोत्सवमा सरकारी मन्त्रीहरूसमेत सामेल भएका र उनीहरूले विवाह प्रमाणपत्रमा हस्ताक्षर गरेर दम्पतीहरूलाई उपहार प्रदान गरेका थिए । उक्त वैवाहिक समारोहको एक मुख्य आकर्षण के पनि थियो भने वलिउड अभिनेता विवेक ओवराय सो खुसियालीमा सरिक भएर तमिल गीतको तालमा नाचेका थिए ।

यथार्थ रहेछ आईएसआईमाथिको आशङ्का
अफगानिस्तानका तालिवान विद्रोहीसँग पाकिस्तानको गुप्तचर संस्था आईएसआईको सीधा सम्पर्क रहेको आरोप विभिन्न कोणबाट लाग्दै आएको सन्दर्भकाबीच एक बेलायती संस्थाले सो कुरा आरोप नभई सत्य नै भएको दाबी गर्दै एक प्रतिवेदन सार्वजनिक गरेको छ । लन्डन स्कुल अफ इकोनोमिक्स नामक संस्थाले सार्वजनिक गरेको सो प्रतिवेदनमा अफगानी तालिवानलाई सहयोग गर्ने पाकिस्तानी गुप्तचर संस्था आईएसआईको आधिकारिक रणनीति नै भएको खुलासा गरिएको छ ।
आईएसआईले तालिवानलाई आर्थिक तथा तालिम सहयोग गरिरहेको दाबी गर्दै सो संस्थाले प्रतिवेदन अफगानी तालिवान कमान्डरहरूसँग गरिएको अन्तर्वार्तामा आधारित रहेको बताएको छ । लामो समयदेखि अमेरिकी अधिकारीहरूले आईएसआई र तालिवानबीच सम्बन्ध रहेको आशङ्का गरे तापनि त्यसको आधिकारिक पुष्टि भने हुन नसकिरहेको अवस्थामा यस प्रकारको प्रतिवेदन सार्वजनिक भएको हो । तालिवानसँगको सम्बन्धमा पाकिस्तानी गुप्तचर संस्थाले आश्चर्यजनक तवरले दोहोरो भूमिका खेलेको भन्दै सो प्रतिवेदनमा आश्चर्य प्रकट गरिएको छ । यसरी तालिवानसँग पाकिस्तानका उच्चस्तरका सरकारी कर्मचारीको सम्बन्ध रहेको दाबी सो प्रतिवेदनमा गरिए पनि पाकिस्तानका वरिष्ठ अधिकारीहरूले सो प्रतिवेदन आधारहीन भएको प्रतिक्रिया दिएका छन् ।
– नवीन उप्रेती