फेसबुकका ‘आविष्कारक’ २८ वर्षीय मार्क जुकरबर्ग त हालै विवाहबन्धनमा बाँधिएका छन् तर विश्वका करोडौँ मानिसका लागि ‘नशा’ बन्न पुगेको फेसबुककै कारण धेरै जोडीबीच पारपाचुके हुने गरेको देखिएको छ । बेलायतमा हालै गरिएको सर्भेक्षणले त संसारका कुल डिभोर्स केसमध्ये एकतिहाइको पछाडि फेसबुक नै कारकतत्व रहेको आश्चर्यलाग्दो नतिजा दर्शाएको छ । सो सर्भेका अनुसार पारपाचुकेका लागि आवेदन गर्ने दम्पतीले आफ्ना साथीको फेसबुकमा पार्टनरको व्यवहारको सिकायत र टिप्पणी गर्ने गरेका छन् । बितेको वर्ष पाँच हजार पारपाचुकेका आवेदन अध्ययन गर्दा ३३ प्रतिशतभन्दा बढी केस फेसबुककै कारण भएको पाइएको अनुसन्धानकर्ताको कथन छ । स्मरण रहोस्, सन् २००९ मा यो प्रतिशत २० मात्र थियो । कसैलाई फ्लर्ट गर्नका लागि आज फेसबुकभन्दा सजिलो माध्यम बनेको छ भने ‘फेसबुक एन्ड योर म्यारिज’ पुस्तकका लेखक के. ज्यासनको कथनअनुसार कुनै बेला महिनौँ लाग्ने अफेयरका लागि अहिले एकैछिन ‘क्लिक–क्लिक’ गरिदिए पुग्छ । पारपाचुके भइसकेका व्यक्तिले समेत आफ्ना पूर्वसाथीका बारेमा फेसबुकमा जथाभावी टिप्पणी गर्ने गरेको पाइएको पनि उनले दाबी गरे ।
प्राणको भीख माग्दामाग्दै जिउँदै खाल्डोमा
गुडिरहेको गाडीको चपेटामा दुर्घटनाबस व्यक्ति पर्यो भने बाँच्ने सम्भावना रहँदारहँदै पनि नियतबस किचेर अस्पतालको खर्च जोगाउन खोज्ने प्रवृत्ति नेपालमा निकै हुर्किएको छ । यहाँ यस्तो कुरा आम बन्दै गएको देखिए पनि बाह्य मुलुकमा यस्तो व्यवहारको कल्पना हामी गर्दैनौँ । तर, यस्तो अनुमान गलत रहेको हालै छिमेकी चीनमा घटेको एक घटनाले सावित गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले दिएको समाचारअनुसार गत ३० अप्रिलका दिन चीनको पूर्वी सहर सिसीबाट घर फर्किंदै गरेका दम्पती सवार मोटरले बाटोमा एक ६८ वर्षीया महिलालाई ठक्कर दियो । मोटरमा सवार दम्पती रक्सीले पूरै मात्तिएका थिए । ठक्कर दिएपछि उनीहरूले उपचारको बहानामा हतार–हतार महिलालाई उठाएर गाडीमा राखे तर अभागी वृद्धाले अस्पतालको मुख देख्न पाइनन् । जँड्याहा जोडीले बीचबाटोमै पुन: घाइतेलाई मोटरको चक्कामुखी राखेर कुल्चिदिए र गाड्नका लागि निर्जन स्थान पुर्याए । त्यति गर्दा पनि वृद्धा जीवित नै थिइन् र प्राणको भीख मागिरहेकी थिइन् । तर, अपराधकर्मका कारण अन्धातुल्य बनेका दम्पतीले उनलाई जिउँदै पुरिदिए ।
बाहिर आँखा लाउनेलाई छुट्टै घात
रङ्गीन स्वभावका व्यक्तिहरू होसियार । घरमा श्रीमती या यौन पार्टनर छँदाछँदै अन्यत्र जथाभावी दिल लगाएर हिँड्नेलाई हृदयाघात हुने सम्भावना बढ्ता रहेको वैज्ञानिकहरूले दाबी गरेका छन् । धोका र यसको असरबारे हालै गरिएको एक अनुसन्धानले कसैलाई धोका दिएर अन्यत्र प्रेम गर्ने प्रयत्न आफ्नै मुटुका लागि भारी पर्न सक्ने नतिजा दर्शाएको अनुसन्धानकर्ताले दाबी गरेका छन् । अनुसन्धानले यो पनि देखायो कि आफ्नी पत्नीको साथ रहँदाको तुलनामा ‘वाहरवाली’सँग रहँदा हुने हृदयाघातबाट मृत्यु हुनेको सङ्ख्या अधिक रहँदै आएको छ ।
महिलामा समलिङ्गी चिन्ने क्षमता
धेरैलाई यो कुरा अनौठो र अपत्यारिलो लाग्न सक्छ, तर टोरन्टो युनिभर्सिटीका शोधकर्ताहरूले हालै गरेको शोधपछि कुनै पुरुष समलिङ्गी छ या छैन भन्ने कुरा महिलाले उसको अनुहार हेरेरै बनाउन सक्छन् भन्ने दाबी गरेका छन् । त्यसो त पुरुषको तुलनामा महिलामा अनेक मौलिक विशेषता वा क्षमता समय–परिस्थितिअनुसार सिर्जना भएका हुन्छन् । तर, पुरुषको अनुहार हेरेकै भरमा ऊ सामान्य छ या समलिङ्गी भनी पत्ता लगाउन सक्ने क्षमताचाहिँ उनीहरूमा जन्मजात नै रहेको हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार जब वास्तविक अर्थमा महिला प्रेमको ‘मुड’मा हुन्छिन् त्यस्तो अवस्थामा उनले बताउन सक्छिन् कि कुनै पुरुष समलिङ्गी छ या छैन ।
क्यान्सर घटाउन कालो चिया
कतिपयले बेफाइदा औंल्याए पनि चिया पिउनुको अनेक फाइदा पनि छन् । फाइदाकै सूचीमा अर्को एउटा नयाँ फाइदा जोडिएको छ । एक अनुसन्धानका अनुसार हरेक दिन एक कप कालो चिया पिउने गरे क्यान्सर पन्पिने खतरालाई कम गर्न सकिन्छ । अमेरिकामा भएको रिसर्चले दूध नहाली तयार गरिएको चियामा हुने थियफ्लेविन–२ (टीएफ–२ नामक तत्वले क्यान्सरको कोशिकाहरूलाई तीन घन्टामै नष्ट गरिदिन्छ । बेलायतका चियाविज्ञ टिम बोडका अनुसार कालो चियाका घटक ट्युमरको सङ्ख्या घटाउन पनि सहायक सिद्ध हुन्छ ।
प्रतिक्रिया