आफ्नै मृत्युको मलामी : हामी नेपाली !

आफ्नै मृत्युको मलामी : हामी नेपाली !


एउटा चर्चित भनाई छ- ‘जो मानिस पच्चीस वर्षको उमेरसम्म कम्युनिष्ट बन्दैन उसको हृदय (भावना) हुँदैन र जो पच्चीस वर्षपछि पनि कम्युनिष्ट रहिरहन्छ उसको टाउको (बुद्धि) हुँदैन !’ कम्युनिष्ट बन्नु भनेको भावना पक्ष बलियो हुनु र ब्यवहारिक अर्थात् परम्परावादी बन्नु भनेको चाहिँ बुद्धिमान बन्नु हो भन्ने अर्थमा यो भनाइलाई बुझिन्छ । तर विस्टन चर्चिलको भनाइचाहिँ अलिक भिन्न छ, उनले भनेका छन्- ‘If you are under thirty and not a liberal, you dont have a heart, but if you are over thirty and not conservative, you dont have a brain.’ यही कुरालाई कतिपय विद्वानहरूले स्पष्ट गर्दै भनेका छन्- ‘If you are not liberal as a young person, you have no heart. If you are not a conservative as an old person, you have no brain.’ अलिक आक्रामक ढङ्गले यो भनाइको व्याख्या गर्नेहरूले चाहिँ यसरी पनि भनेका छन्- ‘You are not an anarchist at 25, you have no heart. If you are not anarchist by 35, you have no brain.’

जे–जस्ता शब्दहरूको प्रयोग गरिए पनि उल्लिखित भनाइहरूले दिएको भावमा समानता छ, जवानीको प्रारम्भिक चरणमा मानिसहरू ज्यादा भावनात्मक हुन्छन् र परिपक्वतासँगै मानिसको भावनामाथि बुद्धिले शासन गर्न थाल्छ भन्ने सार नै उपर्युक्त भनाइहरूमा रहेको समान भाव हो । भावनाप्रधान मानिस संसारलाई एकै दृष्टिले बुझ्छन्, उनीहरूको बुझाइमा सबैले राम्रो मात्र गर्नुपर्ने हुन्छ र राम्रो भनेको चाहिँ आफूलाई उपयुक्त लागेको कुरा मात्र हो !

यस प्रकारका मानिस मसिना विषय बस्तुलाई पनि निकै गम्भीर ढङ्गले ग्रहण गर्ने गर्छन ! चाडै प्रतिक्रिया ब्यक्त गर्ने र सबैभन्दा पहिले जुन विषय र पात्रबाट प्रभावित हुन्छन्, त्यसबाट मूक्त हुन यिनलाई निकै मुस्किल पर्छ । यस्ता मानिसहरू न्यायीक हुन्छन् तर न्याय र अन्याय छुट्ट्याउन सक्ने बहुआयामिक स्तरको क्षमताचाहिँ यिनमा अभाव रहन्छ । जिद्दीपन यो उमेर समूहको अर्को विशेषता हो, आफूले बनाएको धारणामात्र ठीक र अरू सबै बेठीक भन्ने मानसिकता यिनमा हुनेगर्छ । अलिक इमोसनल कुराहरूबाट प्रभावित हुने, बहकिने र चाँडै निरास बन्ने यो उमेर समूहको अर्को विशेषता हो । आफूभन्दा सिनियर (वरिष्ठ) मानिस र समाजलाई आफ्नो यात्रामा बाधक रहेको ठान्ने यिनीहरू छिट्टै खुशी र दुःखी बन्ने स्वभावका हुन्छन् । यिनीहरू एकोहोरो स्वभावका हुन्छन् । सबैभन्दा अप्ठ्यारो पक्षचाहिँ के हो भने यिनले सबै कुराहरू बुझिसकेको ठान्छन्, तर बुझ्न बाँकी कुराहरू यति धेरै हुन्छन् कि जुन थाहा पाउन पूरा जिन्दगी बिताउनुपर्ने हुन्छ । अघिल्लो पुस्ताले आफ्नो अनुभव र अध्ययनका आधारमा बताएका कुराले यिनलाई छुँदैन, जब पुरानो पुस्ताको कुरा सही भएको अनुभूति यिनीहरूलाई हुन्छ त्यसबेला समय घर्किसकेको हुन्छ । बाबु-बाजेले भनेका कुरा स्वीकार गर्न अर्थात् आत्मसात गर्न यिनलाई दशकौँ लाग्छ । बुद्धि भन्दा भावना प्रधान हुने उमेर भएकोले यो पुस्तालाई सजिलैसँग भड्काउन सकिन्छ ।

त्यसैले प्रजातन्त्रविरूद्ध माओवादीको नाममा भएको हिंसात्मक गतिविधि होस् या झापा विद्रोहमा होस् या जेनजीका नाममा नेपालविरुद्ध रचिएको विध्वङ्सात्मक क्रियाकलाप होस्, सबै प्रकारका अवान्छित गतिविधिमा यो उमेर समूहका मानिसको चरम दुरुपयोग भयो । २०८२ साल भाद्र २३ र २४ गते नेपालमा जुन घटना भए, यसले कोतपर्व र भण्डारखाल पर्वलाई मात्र नभएर माओवादीका नाममा नेपालका बैरीले रचेको कपटपूर्ण हिंसात्मक गतिविधिलाई पनि माथ गरेको छ । कुनै शत्रु मुलुकले हामीमाथि हमला गरेको अवस्थामा पनि जोगाउनुपर्ने सिंहदरबार, राष्ट्रप्रमुखको भवन, सर्वोच्च अदालत र संसद् भवन यसपटक हामीले गुमायौँ । मानसिक सन्तुलन गुमाएका या नेपालको मौलिक सभ्यताप्रति चरम वैरभाव राख्ने पराया मनमुटुका मानिसले मात्र सिंहदरबार लगायतका सम्पदामा आगो झोस्न सक्छ भन्ने आम नेपालीको धारणा छ । जेनजी पुस्ताको आवरणमा देशका दुष्मनहरूले आक्रमण गरेको भन्ने विश्वासले मात्र नेपाली जनता संयमित बनेका हुन्, होइन भने परिस्थिति भिन्न भइसक्ने थियो । काठमाडौं महानगरका प्रमुखसमेत रहेका ऱ्याप गायक लगायत ‘निमित्त नाइके’ बनेर रचिएको यो असैह्य घटनाको हिसाब नेपाली जनताको राष्ट्रिय भाव जागेका दिन एकमुष्ट रूपमा नहोला भन्न सकिँदैन ।

संसारमा एकरङ्गीहरूले आफ्नो एकछत्र शासनलाई निरन्तरता दिन समाज र राष्ट्रलाई विभाजन गर्ने अनेक सूत्रहरूको प्रयोग गर्दै आएका छन् । विगतमा उनीहरूले जाति, भाषा, धर्म र क्षेत्रलाई आधार बनाएर मानिसलाई बिभाजन गर्ने र लडाउने काम गर्दै आएका थिए । बुरुण्डी, र्‍वाण्डा, अफगानिस्तान, घाना, नाइजेरिया, भारत, युगोस्लाभीया, सोभियत सङ्घ, सुडान, श्रीलङ्का र इथियोपियादेखि नेपालसम्मको इतिहास र यी मुलुकमा विभाजनका लागि एकरङ्गीहरूले अवलम्बन गरेको नीति र ब्यवहारको अध्ययन गऱ्यौँ भने हामी तिनका नियतबारे स्पष्ट हुनेछौँ ।

मानिसको जिन्दगीमा कहिल्यै साथ नछोड्ने भनेको दुःखले मात्र हो, बाचिन्जेल स्थायी ढङ्गले साथमा रहिरहने भनेको कुनै न कुनै प्रकारको दुःख मात्र हो । हरेक मानिस हरदम दुःखबाट मूक्ति खोजिरहेका हुन्छन् । त्यसरी दुःखबाट उन्मूक्ति खोजिरहेका कमजोर चेतनाका मानिसलाई दुःखको कारण जे बताइदियो, त्यसैलाई पत्याएर हिँडिहाल्छन् । कतिपय नेपाली नेपालमा जन्मिएकै कारण दुःख पाएको ठानिरहेका हुन्छन् भने कतिचाहिँ नपढेर या कम महत्वको विषय पढेर दुःख पाएको ठान्नेहरू पनि हुन्छन् । अनि सिधासादा मानिसलाई भड्काउन एकरङ्गीहरूले भिन्न जाति, भाषा, धर्म, संस्कृति आदिलाई दुःखको कारण बताइदिएका हुनाले त्यसैलाई पत्याएर हिँड्नेहरू पनि हुन्छन् । मानिसलाई विभाजन गर्न सबैभन्दा सजिलो र गहिरो मुद्दा पनि जाति, भाषा, धर्म, क्षेत्र आदि नै हुन् । संसारमा एकरङ्गीहरूले साम्राज्य चलाउन झगडा र द्वन्द्वको यस्तै बीउ रोप्दै आएका हुन् । पछिल्लो दशकमा चाहिँ उनीहरूले उमेरका आधारमा मानिसलाई विभाजन गरेर आफ्नो लक्षित स्वार्थप्राप्तिको रणनीतिक चाल चल्ने गरेका छन् ।

पुराना, परिपक्व र स्थापित राजनीतिक नेतृत्वले युक्रेनलाई नेटोको सदस्य नबनाउने निश्चित भएपछि त्यहाँ ‘बुढा नेताहरूबाट देश नबन्ने, देश बनाउन युवा नै चाहिने’ भन्ने भाष्य निर्माण गरेर कसरी युवाको हातमा देश पुऱ्याइयो र खरानी बनाइयो, दृष्टान्त हाम्रै अगाडि छ । राष्ट्रपति भिक्टर यानुकेवीचले इसाइ साल २०१० मा युक्रेन तटस्थ रहने, नेटोको सदस्य नबन्ने भनी संसद्बाट नै निर्णय गराएका थिए । उनी आर्थिक र भौतिक विकाशमा नेटो र रसिया दुवै पक्षसँग साझेदारी गर्ने, तर दुवैतर्फको सैन्य गठबन्धनमा सामेल नहुने पक्षमा थिए । युक्रेनको रक्षाका निम्ति तटस्थता नै उत्तम हुने यानुकेविचको निष्कर्ष थियो । आफ्नो मुलुकको हितका निम्ति लिइएको यो नीति नै पश्चिमाहरूका निम्ति अनुचित भइदियो । त्यसपछि बुढा नेताहरू भ्रष्टाचारी भए, देश चलाउन युवा चाहियो भन्ने नारा नियोजित रूपमै सुरु भयो र जिलेन्स्की नामक एउटा हास्य कलाकारलाई दल खोल्न तयार पारियो । अहिले त्यही कृत्रिम, अपरिपक्व एवम् अदुरदर्शी निर्णयका कारण युक्रेनले इतिहासमै सर्वाधिक क्षति ब्यहोर्नुपरेको छ, जसको क्षतिपूर्ति कहिल्यै हुनेछैन ।

यसैगरी श्रीलङ्कामा पनि आफूहरूको प्रतिकुल सरकार (महिन्दा राजापाक्षे) विस्थापनका निम्ति नियोजित ढङ्गले नै युवाहरूलाई ओरालिएको थियो । केही महिनाअघि बङ्लादेशमा पनि जननिर्वाचित सरकारलाई विस्थापित गर्न युवापुस्ताको प्रयोग भएको थियो । नेपालमा जेनजी उमेर समूहको नाममा भएको ‘मुभमेण्ट वीदाउट लिडरशिप’ पनि केवल प्रतिकुल सरकारको विस्थापनमा केन्द्रीत थियो । सरकार फालेर संविधान बचाउने अर्थात् नेता बदलेर नीति यथावत राख्ने योजना अनुरूप ‘जेनजी’को प्रयोग भएको थियो । यो विध्वङ्शपश्चात् नेपाललाई कहिल्यै स्थीर तथा संस्थागत राज्य हुन नदिने प्रयासमा अदृष्य शक्तिहरू रहेको स्पष्ट हुन आएको छ । किनभने, उनीहरू अस्थिरतालाई आफ्नो अनुकुल अवस्था ठान्दछन् । वि.सं. २०५२ मा पनि प्रजातन्त्र स्थापना भएर पहिलो निर्वाचन सम्पन्न भएको पाँच वर्ष नपुग्दै प्रजातन्त्रविरुद्ध हिंसात्मक गतिविधि गरी राज्य संस्थागत बन्न नदिने खेल भएको थियो भने त्यसको तीस वर्षपछि उमेर समूहलाई भड्काएर त्यस्तै परिस्थिति सिर्जना गरिएको छ । सरकार बनाउने, चलाउने र ढलाउने विधिवत ब्यवस्था हुँदाहुँदै सडकबाट सरकार फाल्ने काम गरिरहने हो भने यो देशमा अर्बौं खर्च गरेर संविधान किन बनाउनु पऱ्यो र चुनाव किन गराउनुपऱ्यो ? नेपाललाई संस्थागत बन्न नदिन अदृष्य ढङ्गले जो-जो लागिपरेका भएपनि प्रकट रूपले नेपाली नागरिकताधारी हरू नै पटक-पटक प्रयोग हुँदै आएका छन् । यसको सिधा अर्थ हो- हामी आफ्नै मृत्युको मलामी गइरहेका छौँ ।

‘जेनजी’ विध्वङ्सपश्चात् मुलुकमा क्रान्ति सम्पन्न भएको भ्रमको सञ्चार भइरहेको छ । वास्तवमा यो क्रान्ति थिएन, होइन । किनभने क्रान्ति त्यो हो जसले संविधान र ब्यवस्था बदल्छ, सरकार जाबो बदलिने स्थितिलाई क्रान्ति भनिँदैन । ‘संविधान यथावत छ’ को मतलब क्रान्ति भएको छैन, संविधान कायम छ भने संविधानसम्मत निर्णय मात्र स्वीकार्य हुनसक्छ, तर मुलुकमा यतिबेला संविधानले नचिनेको सरकार अस्तित्वमा ल्याइएको छ ! सुशीला कार्की नामक अराजक महिलाको नाममा अघिसारिएको सरकार देश निदाएको बेला देखिएको सपना जस्तै हो, देश ब्युँझिदा यस्तो सरकार अस्तित्वमा देखिने छैन । त्यस्तै संसद् विघटन भएको दाबी पनि सबैभन्दा ठूलो भ्रम हो, मिथ्या हो ! संविधानको कुन धारा अनुसार यो सरकार बन्यो र कुन धारा अनुरूप संसद विघटन गरियो ? कि पुरानो संविधान कार्यान्वयनमा नरहेको भन्न सक्नुपऱ्यो, यदि संविधान छ भने त्यसमा निहित प्रावधानअनुरूपको अभ्यास हुनुपऱ्यो ! बाँदरको बाटो जस्तो जतासुकै टेक्दै समाउँदै हिड्ने अवस्था-ब्यस्थालाई संवैधानिक भनिदैन ! र यसलाई क्रान्ति पनि भनिदैन, क्रान्ति नै भन्नुपर्ने हो भने यसलाई नक्कली क्रान्ति (fake revulation) भन्न सकिन्छ ।

जेनजीको नाममा भएको विध्वङ्शपश्चात् मुलुकमा एउटा गम्भीर आतङ्क र त्रासको स्थिति पैदा भएको छ । यसले मानिस बूढो या परिपक्व हुनु भनेकै अयोग्य र अक्षम हुनु हो भन्ने सन्देश प्रवाह गराएको छ र त्यससँगै आतङ्क र त्रासको स्थिति पैदा भएको छ । अमूक नेताहरू जो कार्य परिणामले भ्रष्ट र अयोग्य सावित भए, उनीहरू बूढो भएकोले अयोग्य भएका थिएनन्, होइनन् । शायद युवाकालदेखि नै उनीहरू अक्षम, अदूरदर्शी, अयोग्य र बेइमान थिए, त्यही अवस्थामा उनीहरू बुढा भएका हुन्, अर्थात् बेइमान र अयोग्य हुँदाहुँदै उनीहरू बुढा पनि भएका हुन् । तर यहाँ बुढो हुनु भनेकै अयोग्य र बेइमान हुनु हो भन्ने सन्देश प्रवाह गराइँदैछ ! जबकि देङ सियाओ पिङले उनासी (७९) वर्षको उमेरमा चीनलाई समृद्धिको द्रुतमार्गमा लगेका हुन् । भारतको अर्थतन्त्र सवलीकरणको द्वार खोल्ने पीभी नरसिंह राव र मनमोहन सिंहहरू पनि वृद्धावस्थामै थिए र भारतलाई भ्रष्टाचारमुक्त तुल्याउन विहङ्गम अभियान सुरु गर्ने अन्ना हजारेले पनि अभियान सुरु गर्दा सात दशक पार गरिसकेका थिए । उता युवा (मिखाइल गोर्बाचोभ)को काँधमा देशको जिम्मेवारी दिने सोभियत सङ्घ तिनै युवाको हातबाट विघटित हुनुपरेको घटनाको साक्षी सिङ्गै विश्व छ ! यसको अर्थ युवा सधैं गलत हुन्छन् भन्ने चाहिँ हुँदैहोइन र युवा हुनु नै योग्य बन्नु पनि होइन । तर अहिले उमेरको सीमा निर्धारण गरेर परिवार, समाज र राष्ट्रमा वरिष्ठ नागरिकलाई अघोषित रूपमा उपेक्षा र अपमान अनुभूति हुने जुन परिस्थिति उत्पन्न गरिएको छ, यसले हाम्रो समाज र देशको भविष्य अझै अन्यौलग्रस्त तुल्याउने खतरा बढाएको छ । युवामा उर्जा ज्यादा हुन्छ र जिद्दीपनमा पनि उनीहरू नै अगाडि हुने भएकोले समाज र मुलुक अब झन् खतरनाक दिशातिर जाने सम्भावनाका सङ्केतहरू देखापर्न थालेका छन् । एउटा निश्चित उमेर समूह जो बुद्धिभन्दा भावनाको काबुमा हुन्छन् तिनलाई आफ्नो भविष्य देखाएर देशको भविष्य बर्बाद तुल्याउन अदृष्य शक्ति सक्रिय भएको हुनाले यो खतराको स्थिति उत्पन्न भएको हो ।

तथापि, जेनजीको नाममा जे भयो त्यसको सकारात्मक पक्ष छँदैछैन भन्ने होइन । सबैभन्दा सकारात्मक पक्ष भनेको शासक भूमिकाका मानिस जो जनताबाट टाढिएका थिए उनीहरूलाई आफ्नो धरातल देखाइदिने काम यस घटनाले गऱ्यो । फ्रान्सेली राजा लुईले आफैलाई राज्य ठानेझैँ पार्टीका ‘स्थायी नेताहरू’ चाहिँ आफैलाई सम्पूर्ण जनता ठान्दै थिए, अर्थात् आफ्नो स्वार्थका निम्ति गरिएका मनोमानीपूर्ण कार्य पनि जनताकै लागि भएको भन्ने स्तरको विकृत बुझाइ उनीहरूमा जमेको थियो । जेनजीको नाममा भएको घटनाले वर्तमानका नेता र भविष्यमा नेता बन्न खोज्नेहरूलाई सचेत गराएको छ । मनपरी गर्नेलाई ढिलो-चाँडो सजाय मिल्छ भन्ने सन्देश पनि यसले दिएको छ ।

देशमा पलायन हुन तयार युवा मात्र छैनन्, यही देशलाई बस्नयोग्य बनाउनुपर्छ भन्ने युवाको जमात पनि देशमा अझै छन् भन्ने जानकारी अहिले मिलेको छ, तर जेनजीको नाममा जे-जस्ता घटना भए त्यसले धेरैलाई देश छोड्ने मानसिकतामा भने पुऱ्याएको छ । खासगरी उद्यमी ब्यवसायीहरूमध्ये अधिकांशले मुलुक छोड्न खुट्टा उचालिसकेको बुझिन्छ । समृद्ध मानिसका निम्ति यो मुलुक बसोबासयोग्य नहुनु भनेको देश सँधै बिपन्न रहनु हो र गरिबीमै गौरव महसूस गर्ने अशिष्टहरूको अखडाका रूपमा यसलाई राख्नु हो ।

पछिल्लो विध्वंशले नेपालमा कोही पनि ब्यक्ति कहीँ पनि सूरक्षित छैन भन्ने स्पष्ट सन्देश दिएको छ र मानिसलाई पलायन हुन बाध्य तुल्याएको छ । यस घटनाले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छवि पनि बदलिएको छ । कुनै समय शान्तिप्रेमी तर वीर भनेर चिनिएका हामी अब असभ्य, अशिष्ट, अराजक, अनुशासनहीन, बेइमान र हुल्याहाका रूपमा संसारभर चिनिन थालेका छौँ । यो विकृत पहिचानबाट मूक्ति पाउन पनि हामीलाई अब दशकौँ लाग्नेछ, जय मातृभूमि !

यो पनि पढौँ-

दुई गोलार्धको ‘कुरुक्षेत्र’मा शिखण्डीहरूको रजाइँ ! « Nepali Digital Newspaper

खरानीमाथि उत्पन्न अवसर ! « Nepali Digital Newspaper