(ब्यङ्ग्य निबन्ध)
कुरौटेहरू हाम्रो समाजका अनौपचारिक पत्रकार हुन् । यिनीहरू बिना समाजमा अफवाह चल्दैन, अफिस र राजनीति रंगीन देखिँदैन, र गाउँघरको डाइनामिक्स कमजोर बनिदिन्छ । यिनीहरूले हामीलाई हरपल अनुभव गराउँछन्, ‘तपाईंले केही गरेपनि कुरा हुन्छ/कुरा काटिन्छ, केही नगरे पनि कुरा हुन्छ/कुरा काटिन्छ ।’
✍ उमेश रेग्मी
कुरौटे भन्नासाथ तपाईंको दिमागमा कुन आकृति आउँछ ? कालो टाउको, ठुलो मुख, नचाहिँदो बेलामा मुख चलाउने, अरूको खुसीमा खुसी नहुने तर अरूको दुःखमा भने खुसीको बौछार गर्न थाल्ने खालको प्राणी । तपाईंलाई लाग्ला, ‘ओहो ! यो त मेरो घरछेउको काकाजस्तै रहेछ !’ – बिल्कुल ठिक हो ! घरभित्र, बाहिर, दायाँ, बायाँ, तल, माथि सबैतिर भेटिने यी नेपाली कुरौटे प्रजातिको संख्या यति तीव्र गतिमा बढेको छ कि अब हामीले यसको संरक्षण गर्न होइन, नियन्त्रण गर्न ‘जनसंख्या नीति’ नै बनाउनुपर्ने भएको छ ।
कुरौटे त्यो जीव हो जसको पेटमा अरूको उन्नति हेर्दा ग्यास भरिन्छ । तपाईंले घरमा मोटरसाइकल किन्नुभयो भने, भोलिपल्ट अवाज आउन सक्छ, ‘ए साले ! कताबाट आयो पैसा ? अमेरिका त गएको थिएनस् नि ? कि त केही ब्ल्याक काम गऱ्या जस्तो छ है !’ तपाईंको खुसीसँग मतलब छैन, कसैलाई । मतलब छ त तपाईं दुःखी हुनुहुन्छ कि हुनुहुँदैन भन्ने । किनकि यदि तपाईं दुःखी हुनुहुन्छ भने, त्यो कुरौटेको जीत हो ।
अब भन्नुस्, कुरौटे कुन ठाउँमा हुँदैन ? अफिसमा, टोलमा, क्याफेमा, फेसबुकमा, यहाँसम्म कि मन्दिरमा पनि यिनीहरूको बास हुन्छ । ती बूढा बाबु जो बिहान उठेर पशुपतिमा जान्छन्, त्यहाँ दुईवटा घण्टी बजाएपछिको पहिलो गफ ‘त्यो छिमेकीको छोरी पोइल गइछ रे !’ बाट सुरु हुन्छ । धर्मले शरीर पवित्र गर्छ रे ! तर मुखको दुर्गन्ध कुरौटेपनले निकालिन्छ । एक अनुसन्धान अनुसार, (अनुसन्धान कहाँ भयो भन्ने नसोध्नुस्, उही गफको पौराणिक आधारअनुसार वा भनौ बुढा बाजेको भनाइअनुसार !), ९९ प्रतिशत कुरौटेहरू आत्मग्लानिमा बाँचिरहेका हुन्छन् । उनीहरूले सधैं सोच्दछन्- ‘म पनि सक्थेँ, तर… सरकार राम्रो भए पो ! घरमा दाउरा चोर्ने आमा नहुनु पर्थ्यो ! प्लानिङ हुन्थ्यो भने म पनि अर्बपति भइसक्थेँ ।’ आफ्नो गल्ती कहिल्यै देख्दैनन् । अरूको सफलता सधैं ‘लक्’ हुन्छ र आफ्नो असफलता सधैं ‘सिस्टम’को गल्ती ।
अब एकैछिन यी समाजका कानाखुशी अभियन्ता कुरौटेहरूको विस्तृत छलफल गर्नतर्फ लागौँ ।
भाग–१ : परिचय र उत्पत्ति
यो सृष्टि ब्रह्माको दिमागको उपज हो भन्ने मानिन्छ, तर कुरौटेचाहिँ ब्रह्माले अफिसमा गफ गर्नै नपाएर चिढिँदा बनाएका हुन् कि भन्ने गन्ध आउँछ । अब कल्पना गर्नुहोस्, एक जना मान्छे जसले आफ्नो जीवनको उद्देश्य नै बनाएका छन्- ‘एउटाको कुरा अर्कोलाई भन्नु, र त्यसपछि दोहोऱ्याएर थप नुन खुर्सानी छर्कनु’, यही त हो कुरौटेधर्म, होइन र !
यी प्राणीहरू नेपालमा मात्र हैनन्, संसार भर छरिएका छन् । फरक यत्ति हो – जापानी कुरौटेहरू चिया खाँदै कुरा काटछन्, अमेरिकी कुरौटेहरूले Facebook/Instagram लाई कुरा काट्ने थलो बनाएका छन्, र हाम्रा नेपाली कुरौटेहरू चाहिँ छतमा सुकाइराखेको लुगा हेरेरै कराउँछन्, ‘ओहो, रामेकी बुहारी आज पनि १० बजेमात्र उठिछ नि !’ अनि त्यहीँबाट शुरुवात हुन्छ कुरा काट्नेहरूको सिलसिलेबार कुराकटाइ ।
कुरौटेहरूका मुख्य गुणहरू यस्ता हुन्छन्-
१. गोपनीयता नामक चिजको हत्या गर्ने अभियन्ता ।
२. पारिवारिक मेलमिलापमा बम पड्काउने कुशल बिस्फोटक ।
३. ‘मैले त केही भनेको थिइनँ’ भन्ने वाक्य प्रयोग गर्ने विश्व रेकर्ड होल्डर ।
४. औपचारिकता र इमान्दारितालाई चियापसलमा कौडीको भाउमा बेच्न पल्केकाहरू ।
कुरौटे कहाँ पाइन्छन् भनेर खोज्न थाल्यो भने, पाइने ठाउँहरूको संख्याले गिनिज बुकको नयाँ अध्याय बनाउन सकिन्छ । फरक ठाउँका फरक कुरौटेहरू अनि उनीहरूका फरक कुरा गर्ने तरिकाहरू अचम्मका हुने कुरामा यिनै कुरौटेहरूको पनि एकमत छ ।
भाग–२ : गाउँको कुरौटे VS शहरको कुरौटे
गाउँको कुरौटे : यी पुराना जमानाका WhatsApp हुन् । एक जनाले भनेको कुरा एक घण्टामा पूरै गाउँलाई नै थाहा हुन्छ । आज बिहान झगडा भयो भने साँझसम्म त्यो समाचार तेस्रो गाउँका काका सुनाउँदै हिँड्छन्, ‘सुन्या छौ ? उ र उसकी श्रीमतीबीच त गज्जबको झगडा भएछ नि ! कुरा त पारपाचुकेसम्मै पुगीसक्यो रे !’
शहरको कुरौटे : यिनीहरूको कुरा त के गर्नु ! यहाँ त धूलो पनि designer mask माग्छ । ट्राफिक जाम यस्तो कि सायद गाडीभन्दा धैर्यको टेस्ट चलिरहेको छ, र मानिसहरू यति ब्यस्त कि नमस्कार गर्नु पनि Luxury हुन थालिसक्यो ।
शहर भनेको अब बस्ने होइन, सहने ठाउँ हो रे ! त्यसैले होला यहाँ सक्नेले जे गरे पनि हुन्छ, नसक्नेले मात्र सहने, मनमनै कुराको तानाबाना बुन्ने अनि सिस्टम खराब भन्दै फलाक्ने ।
भाग–३ : कुरौटेहरूको मनोविज्ञान
कुरौटे हुनु एक किसिमको मानसिक अवस्था हो । यिनको दिमाग Google Search भन्दा पनि तेज चल्छ, तर केवल ‘अरूको जीवन’ खोज्नमा मात्र । विज्ञहरूको भनाइअनुसार कुरौटेहरूको psychology बुझ्न छुट्टै पाठ्यक्रम चाहिन्छ – ‘बिनाअनुरोध सुनिएको कुरा कसरी फैलाउने – १०१ तरिकाहरू’ ।
यी मानिसहरू सधैं Tension मा बस्छन् । यदि कोही नयाँ कुरा भएन भने उनीहरूको आत्मा भोकले कुद्न थाल्छ । अनि कुरा जति दुःखद हुन्छ, उनीहरू त्यतिनै खुशी हुन्छन् – कुरा फैलाउने नया फर्मुला बुन्दै ।
कुरौटेहरूको मुख्य मनोवैज्ञानिक चिन्हहरू निम्न हुने कुरा धेरै खोजपछि पत्ता लागेको हो–
✦ अरूको गोप्य कुरा थाहा नपाए रातमा निंद्रै लाग्दैन ।
✦ एकपटक कुरा सुनेपछि दिमागले त्यसलाई डबिङ गरेर कम्तीमा ४ संस्करण तयार गर्छ ।
✦ आफ्नो बारेमा कसैले सोध्यो भने – ‘ओहो.. म त यस्तो सोझो मान्छे, मलाई केही पनि थाहा छैन ।’
भाग–४ : कुरौटेहरूको जात (प्रकारको वर्गीकरण)
१. सासू-बुहारी कुरौटे
यी सासूहरू गुप्तचर विभागको पूर्व अफिसरजस्तै हुन्छन् । आफ्नो बुहारीको micro-expression बाट मनस्थिति पहिल्याउन माहिर छन् यिनीहरू ।
‘हेर न… आज उसले चिया २ मिनेट ढिलो ल्याई, यसले पक्कै जानीबुझी यसो गरेकी, मलाई होच्याउने यसको व्यवहारलाई बेला आओस् न.. म पनि देखाइदिन्छु ।’
२. अफिस कुरौटे
Promotion को गन्ध पाउनासाथ यिनीहरू Sherlock Holmes बन्छन् ।
‘राम प्रसादले त हाकिमको कोठामा गएर एक घण्टा नै बिताएछ … के के भा होला हगि ? केही सुन्या छौ तिमीले ?’
३. टोल–सडक कुरौटे (छत कुरौटे)
यी बाइनाकुलर बिना नै तीनघर परको झगडा सुन्छन् अनि देख्छन् ।
‘बल्ल बुझियो नि ! उता रामेकी छोरीलाई हिजो बेलुकी कसैले लिएर गएको रे ! त्यो पक्कै तल्लो घरको केटो हो !’
४. फेसबुक/टिकटक कुरौटे
यी ‘इन्फ्लुएन्सर’ हुन् तर बिना ‘कन्टेन्ट’को ।
‘ओहो, उसले त हिजो मात्र तस्बिर पोस्ट गरेकी थिइ – ‘single and happy’ लेखेर… अब आजचाहिँ काखमा बच्चा ! के को सिग्नल हो यो ?’
भाग–५ : कुरौटेबाट जोगिने तरिका – अस्तित्व जोगाउने कसरत
अब, यदि तपाईं शान्त, राम्ररी बस्न खोज्नुहुन्छ भने, कुरौटे तपाईंको ] natural enemy हो । तर चिन्ता नलिनुस्, पारखीहरूका अनुसार कुरौटेबाट बच्ने सबैभन्दा सजिलो अनि सबैभन्दा असरदार तरिका आफ्नै बारेमा झूटो कुरा पहिले आफैं फैलाउने हो । यसले कुरौटेलाई कन्फ्युजन गराउँछ ।
‘हो, म त हिजो गाडी लिएर काठमाडौं गएको थिएँ प्रधानमन्त्रीसँग भेट गर्न !’ (अब उसले के थपोस् ?)
भाग–६ : निष्कर्ष – कुरौटे : माया पनि लाग्ने, रिस पनि उठ्ने
अब हामी निष्कर्षमा आइपुगेका छौँ । कुरौटेहरू हाम्रो समाजका अनौपचारिक पत्रकार हुन् । यिनीहरू बिना समाजमा अफवाह चल्दैन, अफिस र राजनीति रंगीन देखिँदैन, र गाउँघरको डाइनामिक्स कमजोर बनिदिन्छ । यिनीहरूले हामीलाई हरपल अनुभव गराउँछन्, ‘तपाईंले केही गरेपनि कुरा हुन्छ/कुरा काटिन्छ, केही नगरे पनि कुरा हुन्छ/कुरा काटिन्छ ।’
यी कुरौटेहरूबाट भाग्न सकिन्न, बरु यिनको presence सँग deal गर्न सिक्नुपर्छ । जिन्दगीलाई spicy बनाउने हो भने हल्का कुरौटेपना हुनु आवश्यक हुन्छ । आखिर हाम्रो नेपालीपन पनि त यसैमा छ, ‘कुरो गर्दागर्दै चिया सकिने, अनि त्यही चियाले झगडाको चुरोट बल्ने…’
समापन सन्देश :
‘कुरौटेहरूलाई टाढा राखौँ, तर सजग रहौँ । गोप्य कुरा आफ्नै डायरीमा राखौँ, अनि हरेक कुरामा ‘हो नि, है !’ भन्दै सही थाप्नुपहिले दशचोटि सोच्ने बानी बसालौँ ।
‘कुरौटेमुक्त समाज निर्माणको काम तपाईंबाट सुरु हुन सक्छ – तर कुरौटेलाई mute गरेर मात्र !’
अब कुरा गरौँ समाधानको । कुरौटे हटाउने कुनै खोप छैन । न अस्पतालले उसलाई एडमिट गर्छ, न देवताले उसलाई शुद्ध पार्छन् । यसको एकमात्र समाधान हो, इग्नोर गर्ने ।
यसबाहेक, केही सामाजिक उपायहरू छन्-
१. ‘कुरौटे चिन्ने अभियान’ चलाउनुपर्छ – जसरी कुकुरलाई रेबिजको डर हुन्छ, हामीले पनि कुरौटेलाई चिनेर टाढा बस्न सिक्नुपर्छ ।
२. ‘कुरौटे फोबिया’ विद्यालयमा सिकाइने विषयमा राख्नुपर्छ ।
३. ‘कुरौटे हेल्पलाइन’ खोल्नुपर्छ, जसमा उसलाई फोन गरेर भन्न सकियोस्, ‘आज मैले अफिसमा प्रमोशन पाएँ, तेरो रिस हेर्न रमाइलो हुन्छ ।’
अन्त्यमा
कुरौटे हाम्रो समाजका घाउ हुन्, जसलाई मलम होइन, नजरअन्दाजको पट्टी चाहिन्छ । देश विकास गर्नुभन्दा पहिले हामीले आफ्नै घर-टोलका कुरौटेलाई चुप लगाउनुपर्छ । किनभने देश त तिनै युवाले बनाउने हुन् जसलाई कुरौटेले हरेक दिन तल्लो अनि कमजोर बनाउने कोशिस गर्छ । हाम्रा सपनाहरू जिउँदा रहून्, कुरौटेहरू निराश भएर ट्विटरमा बर्बराउन बाध्य होउन् !
प्रतिक्रिया