नेताहरूको शैली, ब्याप्त भष्ट्राचार, झै-झगडा आदिले गर्दा देशमा केही गर्ने वातावरण बनेन । न वैदेशिक लगानी भित्रियो न त स्वदेशी लगानीकर्ताहरूको मनोबल उठ्यो । नयाँ उद्योग, कल-कारखाना भएनन्, बरु भएका पनि मासिए । फलस्वरुप भएभरका युवाहरू विदेशिए । स्वदेशमा भएकाहरू पनि भष्ट्र राजनीतिबाट आजित भएपछि अहिले आन्दोलन र विद्रोह गर्ने मनस्थितिमा पुगे ।
✍ रिसव गौतम

नेपालीहरूको दोश्रो महान् पर्व तिहार र नेपाल संवत् सकिसकेको छ । अहिले छठ पर्व नेपालीहरूले मनाइरहेका छन्, खासगरी तराइ क्षेत्रमा । अब छठ पर्वको विदासमेत सकिनेछ र सबै आफ्नो आफनो काममा फर्किनेछन् । यो लामो बिदामा शेयर बजार बन्द छ । तिहारअघि बजार बन्द हुँदा १६ अंकले बढेर बजार बन्द भएको थियो । खासगरी दशैं र तिहारबीच केही दिन बजार खुलेपनि सबै मान्छेहरूलाई चाडपर्वको रौनक थियो । बजारप्रति चासो नभएपछि त्यसबीच उल्लेख्य कारोबार भएन । बजार पनि जुन रुपमा बढ्नुपर्ने आँकलन थियो, बढेन ! किनकि, लगानीकर्ताहरू चाडपर्वमा शेयर किन्ने भन्दा घुमघाम गर्ने, मिठो मसिनो खाने र रमाइलो गर्नका लागि खर्च गर्न मुडमा थिए ।
अब चार्डपर्व सकिँदै गर्दा बजारले कस्तो लय समात्ला भन्ने धेरैको चासो देखिन्छ । किनकि, नयाँ आर्थिक वर्ष सुरु भएपछि कम्पनीहरूले अहिले धमाधम आफ्नो नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरिरहेका छन् । अघिल्ला वर्षहरूमा कोरोना महामारी र मन्दीका कारण लाभांश दिन नसकेका कम्पनीहरूले यसवर्ष धेरै-थोरै जे सकिन्छ लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म विभिन्न बैंकसहित ११० भन्दा बढी कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । त्यसमध्ये २५ ओटा कम्पनी नेप्सेमा सुचिकृतसमेत छन् । नेप्सेमा सुचिकृत कम्पनीहरूले गर्ने लाभांश घोषणाले शेयरको दोश्रो बजार कारोबारमा प्रभाव पार्ने नै हुन्छ । त्यस अलावा हालैको जेनजी आन्दोलनपछि बनेको सरकारले शेयर लगानीकर्ताको धेरै मागहरू पूरा गरिसकेको छ । अर्थमन्त्री रामेश्वर खानाल नै शेयर बजारप्रति संवेदनशील देखिए । फलस्वरुप अहिले शेयर बजारका नीतिगत बाधा–अड्चन हटेका छन् ।
शेयर बजारका बाधा–अड्चन फुकाउन नयाँ गर्भनर डा. विश्वनाथ पौैडेलले शपथ खाएदेखि नै अग्रसरता लिएका हुन् । तथापि, यसअघिका गर्भनर महाप्रसाद अधिकारीले आफ्नो आखिरी वर्षको मौद्रिक नीतिहरूमा केही खुकुलो बनाउन सुरु गरेरै बिदा भएका हुन् । तर, उनै अधिकारी गर्भनर हुँदाको शेयर बजारमा विभिन्न नीतिगत अंकुश लगाइए । त्यसको भित्रीकारण वा रहस्य के थियो उनै जानुन् । तर त्यसरी अर्थतन्त्रको बाह्य प्रभाव न्युनिकरण गर्न शेयर बजारमाथि अधिक नियन्त्रण गर्नुपर्ने कारण सायद थिएन् ।
तर, नयाँ गर्भनर पौडेलले भने शेयर बजारलाई बिना रोकटोक, विना अल्झन-उल्झन अघि बढ्न बाटो खोलिदिएका छन् । त्यसमा अर्थमन्त्री खनालको पनि भूमिका रह्यो । फलस्वरुप उनीहरू शेयर लगानीकर्ताहरूको धन्यवादको पात्र भएका छन् ।
नीतिगत बन्देजहरू फुकुवा भएसँगै शेयर लागानीकर्ताहरूको सरकारसँगको गुनासा मत्थर भएका छन् । उनीहरूले राखेका डेढ दर्जन बढी मागहरूमध्ये धेरै त पुरा भएका छन् । मुलत: शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, बजारको दायरा विस्तार गर्ने र नेप्सेको पुनर्संरचना गर्ने लगायत कुराहरूलाई सम्बोेधन गरेर अघि बढ्ने कुराहरू छन् । पुँजी बजारको क्षेत्रलाई विकसित र भब्य बनाउँदै लैजाने कुरा भविष्यका हुन् । जसमा आम लगानीकर्ताहरूको पनि, नयाँ आउने सरकारको पनि र ब्यवसायिक जगतको पनि उत्तिकै भूमिका हुन सक्छन् ।
जेन-जी आन्दोलनपछि बनेको नयाँ नागरिक सरकारले पुँजीबजार सुधार सुझाव कार्यदल बनाएको थियो । अर्थक्षेत्रका विज्ञ अर्थमन्त्री रामेश्वर खनालले बनाएको कार्यदलले दिएको सुझावहरू अनुसार नै राष्ट्र बैंकले बैंकहरूलाई अहिले नयाँ निर्देशन जारी हो । बैंकहरूले ब्यक्तिलाई दिने शेयर धितो कर्जाको २५ करोडको सिमा हटाइएको छ । कार्यदलले गरेको सुझाव अनुसार राष्ट्र बैंकले त्यस सिमा हटाएको हो । त्यसैगरी बैंकहरूलाई सेयर बिक्रीमा पनि राष्ट्र बैंकले सहजीकरण गरेको छ । बैंकहरूले सेयर खरिद गरेको एक वर्ष पुगेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानीमा बिक्री गर्नसक्ने ब्यवस्था समेत हटाएको छ, जुन पुँजी बजार सुधार सुझाव कार्यदलकै सुझावअनुसार हटाइएको हो । अब ६ महिनाभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने छन् । यसरी अहिले राष्ट्र बैंकले अघिल्लो गर्भनरको पालाका तमाम खालका नीतिगत बन्देज र कडाइ हटाइसकेको छ । शेयर बजारलाई बाटो खुल्ला गरिएको छ ।
खुल्ला नीति बजारको अग्रगामी बाटो
नेपालले २०४८÷०४९ सालबाटै खुल्ला बजार अर्थनीति (उदारीकरण) लाई अगिंकार गरेपनि धेरै कुराहरू अहिले पनि त्यस्ता छैनन् । खुल्ला प्रतिस्पर्धा, प्रभावकारी व्यवसायिक वातावरण, शान्ति सुरक्षा र सवल आर्थिक नीतिहरू कुनैपनि देशको विकासको खातिर महत्वपुर्ण सर्त हुन् । हाम्रै छिमेकी चीनले माओत्सेतुङको नेतृत्वमा साँस्कृतिक क्रान्ति गरेपनि उनको नेतृत्वमा आर्थिक विकास भने हुन सकेन । सन् १९७८ पछि चीनमा देङस्याओ पिङले क्रमशः खुल्ला बजार अर्थनीति लिएपछि चीनमा आर्थिक विकासको प्रारम्भ भएको हो । सन् २००० मा आइसकेपछि चीनले विश्व व्यापार संगठनको सदस्यता लियो र बजारलाई थप खुल्ला र लचिलो बनायो । फलस्वरुप आजको चीन विश्वमै दोश्रो ठुलो अर्थतन्त्र भइसकेको छ ।
आज कुनैबेलाको घनघोर कम्युनिष्ट देश चीन पश्चिमा उदार प्रजातन्त्र भएका, नवउदारवादी देशहरूको समेत लगानीको सबैभन्दा रोजाइको देश बनिरहेको छ । चीनले विगत ४ दशकमा सारा जनसंख्यालाई गरिवीबाट मुक्त गरेको छ । देशलाई अमेरिकापछिको सबैभन्दा धनी अर्थात् १९ ट्रिलियन डलरको जिडीपी बनाएको छ । सन् २०२५ मा आइपुग्दा चीनको शेयर बजारमा मार्केट क्यापिटलाइजेशन ११ ट्रिलियन डलर भन्दा बढी छ । यो सब खुल्ला बजार अर्थतन्त्र र बन्देजरहित प्रतिस्पर्धी नीतिको परिणाम हो । चिनियाँहरूले आफूले अंगिकार गरेको आर्थिक नीतिलाई चिनियाँ मोडलको समाजवाद भनेपनि उनीहरूले देश विकास गर्ने हतियार पुँजीवाद अर्थात खुल्ला बजार नै बनाएका छन् । फलस्वरुप विश्व बजारमा आफनो उत्पादन बेच्न, व्यवसाय र लगानी बढाउन पुँजीवादका सबै उपकरणहरूसँग उनी जोडिएका छन् । फलतः अहिले पूरा विश्वमा चीनको मालवस्तुको हिस्सा १३ प्रतिशत भन्दा ज्यादा एक्लैको छ भनिन्छ ।
तर नेपालमा चीनकै कुनै बेलाका सर्वोच्च नेता मोओको विचारधारा अंगालेर जनयुद्ध समेत भयो । त्यसपछि माओकै विचाराधारालाई अंगालेको नेकपा माओवादीले पनि ०६५ सालमा छोटो अवधि बहुमतसिद्ध सरकार चलाएको हो । त्यसयता पनि माओवादीले बारम्बार गठबन्धन सरकारमा रहेको हो । तर, उसले पनि चीन र त्यस देशले अंगालेको आर्थिक नीति र कुटनीतिबाट शिक्षा लिने प्रयास गरेन । देशका कांग्रेस, एमाले र माओवादी जस्ता ठुला पार्टी आपसमा जुध्दा, एकले अर्कालाई एक्ल्याउने, सिध्याउने तथा खुद्रा-मसिना कुराहरूमा मात्र अल्झने गर्दाको परिणाम देशले द्रुत विकासको गति नै समाउन सकेको छैन । नेताहरूको पुरानै शैली, ब्याप्त भष्ट्राचार, झै-झगडा आदिले गर्दा देशमा केही गर्ने वातावरण बनेन । न वैदेशिक लगानी भित्रियो न त स्वदेशी लगानीकर्ताहरूको मनोबल उठ्यो । नयाँ उद्योग, कल-कारखाना भएनन्, बरु भएका पनि मासिए । फलस्वरुप भएभरका युवाहरू विदेशिए । स्वदेशमा भएकाहरू पनि भष्ट्र राजनीतिबाट आजित भएपछि अहिले आन्दोलन र विद्रोह गर्ने मनस्थितिमा पुगे ।
देश बनेन । देशमा शुन्यता छायो । यस्तैमा अहिले जेन-जी आन्दोलनले पुराना भ्रष्ट्र नेता तथा दलहरूलाई पाखा लगाएपछि अन्तरिम सरकार बनेको छ । नयाँ अर्थमन्त्रीले पुँजीबजार सुधार कार्यदल बनाएर सुझाब प्रतिवेदन मागेका थिए । कार्यदलले शेयर बजारको बाधा बन्देज फुकाउनु पर्ने खालको प्रतिवेदन बुझायो । फलस्वरुप बजारले खुल्ला हुने अवसर पाएको छ । बाधा, बन्देज हटेका छन् । भोलिका दिनहरूमा अझै बढी सुधार हुने बाटो खुलेको छ ।
वास्तम्बमा शेयर बजार अर्थतन्त्रको ऐना नै हो । हरेक देशमा त्यहाँको आर्थिक अवस्था, लगानीको अवस्था, व्यवसायिक अवस्थाको मुल्यांकन गर्ने पहिलो आधार शेयर बजारको दृश्य हो । शेयर बजार उकालो लागेको वा कारोबारको स्तर बढीरहेको बजारले लगानीकर्ताहरूलाई जहिल्यै स्वागत गरिरहेको हुन्छ । त्यसैगरी शेयर बजारमा जाने पहिरोले निराशा र लगानी निरुत्साहित बाहेक केही गर्दैन । त्यसकारण नेपालको शेयर बजारलाई आशाप्रद बनाउन सरकारले मिहेनत गर्नुपर्ने छ । किनकि हाम्रो शेयर बजार हेरेर विदेशी लगानीहरू आउन सक्छन् । हाम्रो आर्थिक अवस्थाको मूल्याङ्कन हुनसक्छ । जसकारण विदेशीले हामीलाई ऋण पत्याउन सक्छन् । स्वदेशमै पनि शेयर बजार राम्रो अवस्था हुँदा व्यवसायीक क्षेत्रमा उत्साह थपिन सक्छ । नयाँ उद्यमहरू सञ्चालन गर्न खोज्नेहरूको मनोबल बढ्न सक्छ । बजारमा कारोबार बढ्दा लगानीकर्ताहरूको आफनो अतिरिक्त आम्दानीको उत्साहमा खरिद क्षमता बढ्छ । जसकारण उपभोक्ता वस्तुहरूले बजार पाउँछन् । अर्थतन्त्र गतिशिल हुन्छ । त्यसकारण शेयर बजार उठाउन जरुरी छ ।
अन्त्यमा,
नीतिगत हिसाबले अब शेयर बजारका समस्याहरू हटेका छन् । नेपालीहरूले अधिक खर्च गर्ने महत्वपुर्ण चाडबाडहरू दशैं, तिहार, नेपाल संवत र छठ सिद्धिँदै छ । अब केही दिनपछि खुल्ने बजारले पक्कै पनि राष्ट्र बैंकको नयाँ नीति निर्देशन, लाभांश घोषणामा कम्पनीहरूले देखाएका शुभ संकेत, सडक आन्दोलनहरू मत्थर हुँदै जानु र चुनावी वातावरणमा देश अघि बढ्नुले बजारले सकारात्मक लय समात्ने निश्चितप्रायः छ ।
फेरि राजनीतिक अस्थिरता छ, के बढ्ला र बजार ? भनेर सोच्नेहरू पनि होलान् । तर बुझनुपर्छ कि राजनीतिको चरित्र नै अस्थिर हुन्छ । त्यो विश्वव्यापी नै हो । जस्तो एसियाकै जापान, थाइल्याण्ड लगायत देशमा छिटो–छिटो सरकार परिवर्तन हुँदापनि त्यहाँको आर्थिक वृद्धि र विकासमा कुनै असर परेको देखिँदैन । नेपालमा पनि अब त्यही नियम लागु हुन्छ । यहाँ पनि विस्तारै चुनाव होला । तोकिएकै समयमा नभए केही समयपछि होला । हिजो जे भयो राम्रोको लागि भयो । भष्ट्राचारको जरा उखेल्नका लागि भयो । प्रजातन्त्रमा पनि उदाएको निरंकुश शासक फाल्नका लागि आन्दोलन भए । त्यसकारण त्यो राम्रोको लागि भयो । अब राम्रै दिन आउनेवाला छ– हामीले यसरी सोच्नुपर्छ । अबको युग भनेको प्रविधि र पारदर्शिताको हो । यो युगमा कसैको सामन्तपन, दासत्व, भष्ट्राचार, बेइमानी नयाँ पुस्ताले स्वीकार गर्दैन । त्यसकारण आन्दोलन भयो । यसले खासगरी शेयर बजारलाई राम्रो गर्नेछ । किनकि, पारदर्शिताको सुरुवात र भष्ट्रचार अन्त्य हुँदा नै नेपालको अर्थतन्त्र सही लयमा जानेछ । विदेशी लगानी भित्रनेछ । देशले नै सकारात्मक लय समात्नेछ । बजारले आगामी दिनहरूमा एउटा स्वरुप ग्रहण गर्नेछ ।
प्रतिक्रिया