✍ हिमोढ पहाडी
यतिबेला मेरो माटो
स्वार्थहरुको घेराबन्दीमा छ
त्यसैले नेपथ्यबाट
जात-धर्मकै नाममा
धर्म र संस्कृतिकै
हाम्रो पहिचान र अस्तित्वकै
निरन्तर गरिरहेछ सिकार
लडाइरहेछ निरन्तर
एक-आपसमा
खण्डित गरेर हाम्रा विश्वासहरु
र हामी रोपिरहेछौँ एक-अर्कामा
विष-वृक्षहरु !
जातमा विभेद
लिङ्गमा विभेद
धर्ममा विभेद
विविधतामा विभेद
खै कहाँ गयो हाम्रो
‘अनेकतामा एकता’ ?
कहाँ हरायो
हिमाल, पहाड र तराईको मित्रता ?
एक भाइ इट्टाले
अर्को भाइ इट्टाको साथ छोड्ने हो भने
भत्किएरै छोड्नेछ घर
यसरी नै भत्किरहेछ देश क्रमशः
बुद्धको अनुपस्थितिमा
व्यापक अशान्तिसँग
देशमा बलभद्रपनि त छैनन्
जङ्गे पिलरहरु घाइते छन् !
बुद्धभूमिको एक मुठ्ठी माटो
यो युद्धभूमिलाई अर्पित गर्दै
जलजलाको शिखर चुमेर
के गर्ने बेला भएन र
दीगो शान्तिको शंखघोष ?
मुखरित गर्नु छ
आवाजहीन आवाजहरु
भत्काउनुछ विभेदका पर्खालहरु
एक-एक गर्दै
दाहसंस्कार गर्नुछ अविलम्ब
विकृति–विसंगतिहरुको
कोर्नु छ
नयाँ बिहानीको चित्र
शान्ति र समृद्धिको रंग पोती
एकताको कुचीले
राष्ट्रिय स्वाभिमानको क्यानभासमा ।
आउनुहोस अब त
फेरि एकपटक देशको माटोमा
बुद्ध रोपौँ, शान्ति फलाऔँ
भीमसेन रोपौँ, स्वाभिमान फूलाऔँ
विचारको बगान
भिजेन बुढो पसिनाले
जागौँ युवाहरु
कम्मर कसेर
राष्ट्रको पुनःनिर्माण गरौँ।
- दाङ, हाल : पोर्चुगल
प्रतिक्रिया