समयको ज्वारभाटा

समयको ज्वारभाटा


जहीँको त्यहीँ
स्थिर रहेपनि
वा, जति नै चलायमान भएपनि
समयको गति
आफ्नै सुरमा
आफ्नै धुनमा
चली नै रहेको हुँदोरहेछ ।

हिजोको प्रचण्ड ताप
न्यानो अनुभूति गर्न नपाउँदै
आजको ठण्डीमा परिणत हुँदोरहेछ,
चिसो चाहिनेलाई तातो
तातो चाहिएको बेला चिसो
यही नै सायद
हाम्रो नियति वा भनौँ बाध्यता ।

समयको ज्वारभाटासँगै
सगर र धरती
सागर र हिमालको
मित्रताजस्तो हुँदोरहेछ,
इतिहास लेख्नेहरुले
जसरी लेखेपनि,
वर्तमान बुझ्नेहरुले
जसरी मागेपनि,
परिकल्पना त केवल
कर्कलाको पानीमा अढेको
बुँदको थोपाझैँ
मोतीरुपमा टल्कँदाटल्कँदै
हावाको झोँक्काको प्रहारसँगै
अस्तित्वविहीन नै पो बन्दोरहेछ ।

आकाश र धरतीबिचमा
अढेको एउटा सुन्दर संसार
सगर र सागरको
उचाई मापन गर्न पाउँदानपाउँदै
खण्डहरमा परिणत हुनैपर्ने रहेछ,
आखिर हाम्रो नियती नै
यस्तै उस्तै नै हुने भएपछि
भगवान् श्रीकृष्णको सुदर्शन चक्रले नै
सबैथोक गर्ने भएपछि
कर्णको दानवीरता
युध्रिष्ठिरको सत्यवादिता
अर्जुन, भीम, दुर्योधन आदिको परक्रमता
फगत
समय काट्ने साधन
वा भनौँ
मञ्चमा आयोजित नाटक मञ्चन
नौटंकिका परिशिष्टहरुमा परिणत हुँदोरहेछ ।

समयको ज्वारभाटासँगै
इतिहास र वर्तमानको सम्बन्ध
जोडिँदै, तोडिँदै
त्यसैमा संसार अढेको हुँदोरहेछ,
संसार तोडेको कथा बन्नेरहेछ
आखिर समय नै सबैथोक भएपछि
समयको ज्वारभाटामै
संसार अढेको हुनेरहेछ ।

  • दिङ्ला, भोजपुर (हाल : दाम्राभिट्टा, मोरङ)