केही प्रायश्चित केही कन्फेसन्स

 केही प्रायश्चित केही कन्फेसन्स


श्री गणेशाय नमः। श्री सरस्वतै नमो नमः। विदेशी वादहरू ग्रहण गरेकोले मुलुकमा ग्रहण लाग्या हो कि । विज्ञ राजनीतिशास्त्रहरूले के पो पढ्या हुन् ? मुलुक सुहाउँदिलो नेपाली राजनीतिक सिद्धान्त प्रतिपादन गर्न सक्या होओइन । के ले हो, मानव त अमानवीय पो हुँदो छ । स्वानुभूति/परानुभूति शून्य । मनुष्य मनुष्यत्तेर जत्ति नि रहेन । जति जोगी आए कानै चिरिएका । खोई त परिवर्तन ? 

चाँदनी रश्मिमा गृहकार्य गर्ने (म) बबुरो बुढोपयोले चस्मा लगाउँदा ढँसर्याइँ गर्या भन्दै उल्लीबिल्ली गर्ने, अहिले आफै दुई बीस कटेसि पावरवाला चस्मा भिर्ने । अर्काको निन्दोचर्चो गर्नु राम्रो होओइन, त्यसको तीर आफैतिर फर्किन्छ । लगनशीलता, इमान्दारिता र धीरताले जीवन सार्थक्याउँछ । चल्ला चाहियो भन्दैमा तत्काल डिम्मा फुटाएर हुन्छ र ? समय पुगेसि चल्ला निस्किन्छ नि । धैर्यता हैन धैर्य/धीरता चाहिन्छ ।

मान्छे सत्ता बाहिर रहँदा म प्रधानमन्त्री भएको भए यसो गर्थें उसो गर्थें भन्छ; प्रधानमन्त्री भएसि सबै कुरा बिर्सन्छ – जसरी भ्रुणले बच्चादानीमा रहँदा भगवानलाई हात जोडेर मलाई यहाँबाट बाहिर निकाल्नुस्; म हजुरलाई सधैं स्मरण गर्छु भन्छ र जन्मेर च्याहा च्याहा गरेसि आफ्ना कबुलहरू/भगवान बिर्सन्छ । यो त भन्ने कुरा मात्रै, गर्ने कुरा त अर्कै हो । दोहोरो चरित्रवालाहरूले  सेवा गरे मेवा मिल्छ भन्ने आहानलाई बिप्लेंटो बनाए ।

भगवान श्रीकृष्णलाई त मिथ्यारोप लाग्याथ्यो ; म कसरी पो आलोचनामुक्त हुन सकुँला र ? कर्तव्यहाराको जत्था – नैतिकता मरु । बँचाइ र अस्तित्वको संघर्ष । हुने हार दैव नटार । भाइरल गीत/कलाकार अल्पावधिमा गुमनाम । कालजयी त जिएकै छन् । सर्वोत्कृष्ट राजनीतिक व्यवस्था कहलिएको संसदीय प्रणालीको ताल नि देखियो विगतमा । खसीबोका झैं सांसदको किनबेच हुनु र बुथ क्याप्चर गरेर सत्ता हत्याउनु – ज्वलन्त दृष्टान्तहरू। यसको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भनुँ त येनकेन प्रकारेण कुनै भौंजा सत्तामा पुगेछ भने समग्र प्रणाली नै ध्वस्त पार्न के बेर ? अठ्याउने अङ्कुस रहन्न; अड्डा अदालतलाई त हेकुल्याइँ गरेर मिच्दो । 

कम्पनीलाई के असर्दो भो, जुगाड सामान पाउनै छोड्यो । वास्तविक इसाई वैदिक धर्म मान्ने; सनातनी चैं ईसाई कर्मकाण्ड अपनाउने । बेबी सावर, हैप्पी बर्थडे, भेलेन्स्टाइन डे ऐंजेरु झैं नेपाली संस्कृतिमा घुस्दो.., ताजुप लाग्छ पो हो । अहिलेसम्म सबै कुरा पशुपतिनाथले जेतेमेते धान्दा छन्; उनले धान्न छोड्या दिन ब्रेक फेल भएको गाडी झैं गुटमुटिन्छ । टण्टै खलास ! सिता खाएर गीता गाउनेले मुलुक बिगाऱ्यो । मायामा काया फाल्नेहरू धेरै । कित्ताकाट राम्रो होइन । पीपलपाते साथीत्वको के काम ?  ए, मनुष्य ! कहिलेकाहीं त परमात्माको नि ख्याल राख न ।

राज्यले जनताको घरघरमा सेवा पुऱ्याउने, जनताले सार्वजनिक सम्पदा जोगाउने, अर्को प्रति सद्भाव राख्ने, बगमफुसे गफमा नबरालिने, अर्कोलाई सहयोग गर्ने, पालो नमिचेमा  पहरेदार अपरिहार्य नहुन सक्छ । अर्काको धार्मिक आस्थाको उच्च सम्मान गरेमा रङसाइलो मचिन्न । तथाकथित धर्मनिरपेक्ष कहलिएको प्रजातान्त्रिक मुलुकको मुखुण्डो उदाङ्गिदो । दुनियाँले हारगुहार गर्दा नि झण्डै दुई हजार वर्ष पुरानो वामियानको बुद्धको विशालकाय मूर्ति ध्वस्तियो । ऐतिहासिक धरोहर/सार्वजनिक सम्पत्ति नष्ट गर्नु कदापि राम्रो काम होइन ।

कर्म गर्ने फलको आस किन पो गर्ने हो र ? इनाम/पुरस्कार मिलेछ भने नि राम्रै भो । जे होस्, इनाम/पुरस्कार निष्पक्ष भएको जाती । धेरै मनुवाहरू हाम्लाई मुलुकले के दियो र ? भन्छन् । मुलुकले के दियो भन्नु भन्दा नि हाम्ले मुलुकलाई के दियौं भन्ने हो ।

धेरै अघिको कुरो । विद्वान महामात्य चाणक्यको सुझबुझले सम्राट चन्द्रगुप्तको शासन सुव्यवस्थित थियो । चाणक्यको महामात्यत्वको बखान सुनेका चीनियाँ यात्री ह्वेनसाङले लुम्बिनी भ्रमणको उपक्रममा उन्लाई नभेटि चीन फर्कने मन गरेनन् । उनी चाणक्यको कुटीमा पुगे । त्यतिबेला चाणक्य ढिब्रीको उज्यालोमा एकाग्र भएर केही लेख्दै थिए । ह्वेनसाङले उन्को ध्यान भङ्ग नगरि उभिएरै उन्ले काम गरेको हेर्दै रहे ।

केही बेरपछि चाणक्यले लेखेर सिध्याएसि मास्तिर हेर्दा ह्वेनसाङलाई देखे । उनीहरूले एकापसमा नमस्कार साटे । चाणक्यले पहिलेको ढिब्री निभाएर अर्को ढिब्री बाले । उन्ले यात्रीलाई बसाए; क्षेमकुशल सोधे । दोश्रो ढिब्री बालेको देखेर ह्वेनसाङ उदेकिए ।

चाणक्यले कुरा उप्काए, ‘तपाईंलाई हाम्रो मुलुक कस्तो लाग्यो ?’

ह्वेनसाङ उत्तराए, ‘महामात्यज्यू, यो मुलुक विचित्रको रहेछ ।’

चाणक्यले मुस्कुराउँदै पुन: सोधे, ‘तपाईंले यस्तो निचोड कसरी निकाल्नु भो ।’

ह्वेनसाङ प्रत्युराए, ‘महामात्यज्यू , तपाईंले पहिलो ढिब्री निभाएर दोस्रो ढिब्री बाल्नुको रहस्य के होला ? कतै पहिलो ढिब्रीले उज्यालो नदिएर पो हो कि ।’

चाणक्यले बेलिविस्तार लगाए, ‘यात्रीज्यू , तपाईंको सवालको जवाफ सरल छ । जुनबेला तपाईं मेरोमा आउनुभएको थियो; म राज्यको काम गर्दै थिएँ । काम सकिएसि मैले राज्यको बत्ती निभाएर मेरो  ढिब्री बालें। मेरो व्यक्तिगत काममा मैले राज्यको बत्ती बालेर अनियमितता त गर्नु भएन नि । महामात्य जस्तो गरिमामय पदमा रहेर मैले भ्रष्टाचार गरें भने अरूले नि मेरो सिको गर्नेछन् । यस्तो भएसि राज्य कुशासनमय हुन्छ तसर्थ जो कोहीले नि नैतिक आचरणमा रहेर काम गर्नाले मुलुक विकसित हुन्छ ।’

चाणक्यको बुद्धिमानी जवाफ सुनेर ह्वेनसाङ दङ्ग परे ।

आत्माको पुकार छिरल्लियो- श्वेतश्याम रोगनमा । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !