मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत
मुख्यमन्त्री बनाउन समर्थन गरेका सांसदहरु नै विपक्षीतर्फ उभिएपछि २५ दिनअघि मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनल ‘सोनल’ले विश्वासको मत नपाउने सुनिश्चित भयो, फलतः विश्वासको मत लिन तय गरिएको दिन शनिबार (२२ कात्तिक) नै सोनलले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राजिनामा बुझाए । उनको राजीनामा पनि शनिबार नै स्वीकृत गरिएको छ ।
प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा मिति २०८२ साल कात्तिक २२ गतेका दिन प्रदेशप्रमुखले स्वीकृत गर्नुभएको छ ।’
प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।
तर, मुख्यमन्त्रीले संसद्मा विश्वासको मत नलिइ राजीनामा दिएपछि अर्को सरकार गठनको प्रक्रिया संविधानको धारा १६८(२)मै दोहोरिने वा १६८(३)मा जाने भन्नेबारे दलहरुबीच बहस सुरु भएको छ ।
ज्ञातव्य छ, सोनल संविधानको धारा १६८(२) बमोजिम जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर, विश्वासको मत लिने दिन माओवादी केन्द्रका रहवर अन्सारी र माला कर्णले तटस्थ बस्ने भनी अडान लिएका र जनमतका दुई जना अनुपस्थित भएपछि सोनल अल्पमतमा पर्ने निश्चित भएको थियो ।
प्रतिक्रिया