मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सर्वोच्चमा रिट दर्ता

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सर्वोच्चमा रिट दर्ता


एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री पदमा दिइएको नियुक्ति अवैध भएको भन्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई वटा रिट निवेदन दर्ता गरिएका छन् ।

जनकपुरधाम-१६ घर भइ काठमाडौं महानगरपालिका-३५ बस्ने रक्कीप्रसाद साह र सिराहा नगरपालिका-२० का सुजित यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरी उत्प्रेषण परमादेशको माग गरेका छन् ।

साह र यादवले नेपालको संविधानको धारा १६८ को उपधारा २ विपरीत संविधान उल्लङ्घन गरेर उपधारा ३ बमोजिम सरकार गठन गरेकाले उत्प्रेषणको आदेशमार्फत मुख्यमन्त्रीको नियुक्ति खारेजीको माग गरेका हुन् ।

गत शनिबार मधेस प्रदेशको मुख्यमन्त्री पदबाट जीतेन्द्रप्रसाद सोनार सोनलले राजीनामा दिएपछि आइतबार यादवलाई नियुक्त गरेर सोमबार बिहान बर्दिबासको एक होटलमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सपथ ग्रहण गराएकी थिइन् ।

यसैगरी काननुका विद्यार्थी तथा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-११ बस्ने अर्जुन साहले पनि मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएकाले बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

यसबीच, सरकारले मधेस प्रदेस प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरी सुरेन्द्र लाभ कर्णलाई प्रदेस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ ।