नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता
मातृभूमि जागरण अभियान, नेपालको ब्यानरमा राजनीतिक सक्रियता दर्शाउँदै आएका एमालेका पूर्वनेता भीम रावल पनि पूर्व माओवादी प्रचण्डको संयोजकत्वमा गठित नेपाली कम्युनिष्ट पार्टीको छहारीमा पुगेका छन् । प्रचण्डको नेपाली कम्युनिष्ट पार्टी र भीम रावलको मातृभूमि जागरण अभियानबीच सशक्त र सुदृढ पार्टी निर्माण गर्न सङ्गठनात्मक एकीकरण गर्ने सहमति भएपछि प्रचण्ड, माधव नेपालहरुसँगै भीम रावल पनि एकै ठाउँ उभिने भएका हुन् ।
नवगठित नेकपाका संयोजक प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका प्रस्तावक भीम रावलबीच आज (२६ कात्तिक) पार्टी एकता गर्नेसम्बन्धी सातबुँदे सहमति भएको हो । सहमतिसँगै काठमाडौंको राष्ट्रियसभा गृहमा पार्टी एकता घोषणा सभा आयोजना गरिएको छ ।
जनताको हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृक्तिको मार्गमा अग्रसर रहने दुई पार्टीबीच सहमति भएको बताइएको छ ।
यस्तै, समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पत्रमा उल्लेख छ । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने सहमति भएको छ ।
यस्तै, पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने तथा पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गरिने सहमति पत्रमा उल्लेख छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीबाट निष्काषित गरेपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया