‘कांग्रेसको विशेष महाधिवेशन हुँदैन’ : सह-महामन्त्री राठौर

‘कांग्रेसको विशेष महाधिवेशन हुँदैन’ : सह-महामन्त्री राठौर


गत असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बिहीबार (२७ कात्तिक)को बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ-आफ्नो धारणा राखेका थिए ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यही कात्तिक २९ गते शनिबार दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय सानेपाका पुनः बस्ने गरी बिहीबारको बैठक सम्पन्न भएको छ । बैठकपछि प्रतिक्रिया दिँदै पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको महाधिवेशन सम्पन भएर चार वर्षको कार्यकाल पूरा भएको अवस्थामा विशेष महाधिवेशन हुँदैन भन्दै पार्टीलाई एक ढिक्का बनाएर जानुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीको बैठकमा सबैले आआफ्नो धारणा राख्नुभएको जानकारी दिँदै जनसरोकारका विषष र देशको परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने बताए । पार्टीभित्र असल नेतृत्वको खोजी भइरहेको उनको धारणा थियो ।