सिन्धुपाल्चोकको प्रशिद्ध धार्मिक स्थल क्षमादेवी भगवतीको महिमा अत्यन्त उच्च छ । सदियौँदेखि देवीको मन्दिरमा भक्तजनहरूले श्रद्धा, भक्ति र विश्वासका साथ पूजा-अर्चना गर्दै आएका छन् ।
प्रचीन किम्बदन्तीका अनुसार क्षमादेवी मन्दिरको उत्थान कैयौँ समयपहिले मन्दिरनजिकैको गुफामा भएको थियो । सो गुफाभन्दा केही पर सुनखानी डाँडामा राजाहरू बस्दै आएका थिए । सो डाँडामा नागराजाले सुन लुकाएको थाहा पाएपछि त्यहाँ राजा र रैतीहरूले सिफारिस गरेर सुन निकाल्ने गरेका थिए । सुन निकाल्ने क्रममा भएको विष्फोटमा अपुरणीय क्षति भएको थियो । त्यसक्रममा धेरै नागहरूको मृत्यु हुनुका साथै कैयन घाइते बन्न पुगेका थिए । राजा र रैतीसमेतबाट त्यस्तो पापकर्म भएपछि नागराजा क्रोधित भएर त्यस स्थानमा दुःख दिँदै आएका थिए भन्ने पौराणिक भनाइ छ ।

नागदेवताबाट निकै सास्ती भोग्नुपरेपछि आफ्नो गल्ती महसूस गर्दै त्यहाँका राजा र रैतीहरूले त्यहाँको गुफामा रहेको क्षमादेवी भगवतीसँग क्षमायाचना गर्दै उक्त पापबाट मुक्ति दिलाएर नागराजालाई शान्त तुल्याइदिनका लागि भगवतीको पूजा-आराधना गरे । उनीहरूको पुकार, प्रार्थना र पुजाआजापछि क्षमादेवी भगवती सन्तुष्ट भएर माफी दिएको विश्वास गरिन्छ । त्यसयता मानिसहरूले आफूबाट भएका गल्ती तथा कमी-कमजोरीको लागि क्षमायाचना गर्ने धार्मिक स्थलको रूपमा क्षमादेवी मन्दिर परिचित रहँदै आएको छ ।
स्थानीय नागरिकदेखि टाढा-टाढा देश-विदेशसम्मका भक्तजनको विश्वास र आस्थाको धार्मिकस्थलको रूपमा चिनिएको क्षमादेवी भगवती मन्दिरमा हालै एक विचित्रको घटना घट्यो, जो निकै चर्चाको विषय बन्नुका साथै यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको छ । १४ वर्षीया बालिकमा को शरीरमा देवी प्रकट भएको भन्दै अनौठो गतिविधि देखिएपछि यो विषय चर्चामा आएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ४ को कोटडाँडास्थित क्षमादेवी मन्दिरमा परिवारका साथ स्थानीय एक बालिका शिवानी श्रेष्ठ पनि पूजा गर्न गएकी थिइन् । सो क्रममा उनले अनौठो किसिमको व्यवहार देखाउन थालिन् । मन्दिरमा वार्षिक पूजाको क्रममा बालिका शिवानीको शरीरमा देवी प्रकट भएको मन्दिरको नमूना गुठीले जनाएको छ । देख्दा र सुन्दा पनि अनौठो लाग्ने व्यवहार थियो त्यो ।
बालिका १५ वर्ष टेकेको दिन उनको शरीरमा कालिन्चोक देवी भगवती, क्षमादेवी भगवती र भगवान् शिव समेत प्रकट हुनसक्ने कुरा पहिले नै भविष्यवाणी भएको थियो । मन्दिर जानु केही दिनअघि नै शिवानीले यो जानकारी दिएकी थिइन् ।
गुठीका संयोजक उमेश श्रेष्ठका अनुसार देवी प्रकट हुँदा शिवानीकै स्वरमा देवीले अबको एक वर्षपछि कालिन्चोक भगवती, क्षमादेवी भगवती र भगवान् शिवको रूपमा, शिवानीको आत्मामा चढेर आउने बताएकी थिइन् । शिवानी १५ वर्ष प्रवेश गरेको दिन उनमा माछा-मासु, जुठो पऱ्यो भने त्यो बच्चाको ज्यानमा खतरा हुनसक्ने सम्भावना छ भन्ने बताइएको थियो ।
काठमाडौंबाट ९२ किलोमिटरको दूरीमा रहेको क्षमादेवी मन्दिरमा वि.सं. २००२ सालमा समेत कार्तिक लक्ष्मीपूजाको दिन प्रलय पर्ने ज्योतिषीय भविष्यवाणी थियो । भोटेकोशीमा बाढी उर्लिएर ठूलो क्षति र विपत्ति आइपर्ने देखिएपछि त्यहाँका स्थानीयवासीले क्षमादेवीलाई पुकारेका थिए । बोका, कुखुराको भाले लगायतको बली दिएपछि देवी प्रशन्न भएर विपत्ति टरेको विश्वास गरिएको छ ।
यसरी, शिद्ध र शक्तिसाली क्षमादेवी भगवती मन्दिरलाई महान् शक्तिको रूपमा हेरिएको छ । यस मन्दिरबारे थप प्रचारप्रसारको खाँचो रहेको स्थानीयहरू बताउँछन् ।
- नवीन उप्रेती
प्रतिक्रिया