सत्कर्ममा लाग्नुस् दाइ !

सत्कर्ममा लाग्नुस् दाइ !


प्रिय दाइ, जय नेपाल !

जेन्जी आन्दोलनले तपाईंको घर जलेको सुनेपछि मन थामिएन, हेर्न पुगेँ ! कालो मुस्लो पोतिएको तपाईंको घरवरपर चरो-मुसो केही थिएन ! ध्वाँसेघर देखेर मन खिन्न भो ! फोटो खिचेँ ! केही लेख्ने इच्छालाई दबाएर कलम रोकेँ !

कति लेख्नु ? के मात्र लेख्नु ? कसका लागि लेख्नु ? मेरो लेखाइ अधिकांश ‘खोरेत’ले बुझ्दैनन् ! बुझेपनि तिनलाई मन पर्दैन ! बुझ पचाइदिन्छन् ! लेखको मर्म खोज्दैनन् ! अनि लेख्नुको तुक के ? कलमी चिच्याहटको अर्थ के ?

यसैबीच तपाईंको लिखित अपिल आयो ! लगत्तै अर्को भिडियो सार्वजनिक भयो ! फेरि अर्को दम्भी भिडियो देखियो ! बन्द कोठाभित्र केही हुल अगाडि अहिलेको सरकार, न्यायालय, प्रहरी, सेनाप्रति ब्यंग्यात्मक टिप्पणीसहितको भिडियो हेरेपछिको विरक्ति अनि काठमाडौं फिर्तिपछिको शेरबहादुरको विकल्प खोज्ने समय नभएको महावाणी बक्सदेखि अहिलेको केन्द्रिय समितिको बैठकमा देखिएको तपाईंको शकुनी भूमिकापछि चैं असह्य भएर केही लेख्ने हुटहुटी जाग्यो ! कलम रोक्न सकिनँ ! मलामी घटे घटुन् तर सत्य बोल्न र लेख्न छोड्नुहुन्न भन्ने चेतले घच्घच्यायो !

तपाईंको चन्द्रगढीको घर साँच्चै दुःखले आर्जेको सम्पत्ति थियो ! काठमाडौंको महल ठडिनुमा अनेकौं कथा जोडिएका होलान्, तर यहाँको घर तपाईंले चप्पल घिसार्दै साइकल चढेर फिराद लेख्दै अनि मेडमको चक-डस्टरको धुलोको मेहनतको फल हो भन्नेमा शङ्का गर्नुपर्ने ठाउँ छैन !

लेखाइ तपाईंको सङ्घर्षपूर्ण र उर्जाशील इतिहासबाटै शुरु गरौँ होला – यसलाई मरेमाथि कात्रो नसम्झी गम्भीरतापूर्वक मनन गर्नुहोला !

२०४६ सालसम्मको काङ्ग्रेस जिल्ला उप-सभापतिको रूपमा तपाईंको उर्जा, उत्साह र सांगठनिक कुशलता साँच्चै तारिफयोग्य थियो ! ०४६ को आन्दोलन हाँक्ने दुई पात्र एउटा जगदीश काफ्ले र अर्को तपाईं हो भनेर मैले बारम्बार लेखेकै छु ! बोलेकै छु !! अहिले पनि मेरो अडान त्यही नै छ ! जतिसुकै लालकिल्लाको दम्भ बोकेतापनि बामपन्थी भन्दा जगदीश र तपाईंको भूमिका उच्च बिन्दुमा थियो त्यस समय !

सफल जनआन्दोलनपछिको निर्वाचनमा झापा मात्र होइन पूरै मेची अञ्चल नै गोलखाडी गएको अवस्थामा तपाईंको घरअगाडि ‘झापा जिल्ला लाल किल्ला’ नारामा उफ्रिने बामपन्थीका अघि तर्सिनुभएन ! विचलित हुनुभएन ! हाम्रो निराशालाई आशामा बदल्न प्रयत्नशील रहनुभो ! तपाईंले उपचुनाव जित्नुभो ! (हामीले जितायौँ भन्दा अहिलेका खोरेतको चित्त दुख्ला ! तपाईंले नै जितेको हो !) काङ्ग्रेसको बीउ रोपियो ! तपाईं संसद् छिर्नुभो ! पङ्क्तिकारलाई त आफैं छिरेको अनुभूति भो ! मलाई मात्रै नभएर सम्पुर्ण झापालीलाई त्यस्तै अनुभूति भएको थियोे त्यस समय !!

अन्यथा नठान्नुहोला प्रिय दाइ.. तितोसत्य यही हो – तपाईंको संसद् प्रवेश बिन्दूबाटै झापा काङ्ग्रेसमा कालो बादल लाग्न सुरु भो ! किशुनजीका कृपाले प्राप्त आशीर्वादबाट उपनिर्वाचनको जितपछि किशुनजी छोडेर गिरिजा क्याम्प सरुवापछि त राष्ट्रियरूपमै काङ्ग्रेस पतन सुरु भयो ! सरुवा प्रकरणका सुत्रधार उमेश गिरि अहिलेसम्म तन्दुरुस्तै हुनुहुन्छ क्यारे ! कथाले मागेको खण्डमा त्यो कथा पनि कुनैदिन लेखिएला ! यस सँगसँगै झापाली अग्रज काङ्ग्रेसका दुर्दिन सुरु भए ! अगुवाइ तपाईंबाटै भयो ! भद्रपुरकै कुरा गर्ने हो भने पहिलो नगरसभापति रामप्रसाद तिम्सिनालाई वडामै हराउने प्रपन्च सुरु भो ! मेचीपुल आन्दोलनका नायक उहाँकै सचिव दिब्य भुर्तेलको पनि उही हाल गरियो ! जेसिज राष्ट्रिय अध्यक्ष भैसकेका उत्तर चापागाईंको उपयोगिता देखिएन ! उहाँलाई पनि वडाबाटै सन्यास आश्रम पठाइयो ! ०४६ को क्रान्तिनायक विद्यार्थीनेता जगदीश काफ्लेलाई वडामै हराउने उर्दी जारी भो ! अम्बिका रिजाल र जितबहादुर पुरी जस्ता काङ्ग्रेस इतिहासलाई तपाईंको आशीर्वाद बिना महासमिति छिर्नै नदिने गरी घेराबन्दी गरियो ! लिलक सिटौला जस्तो सुकुम्बासी काङ्ग्रेसप्रति तपाईंको कहिल्यै सकारात्मक सोच रहेन ! उसलाई सिध्याउन उसैको मण्डले छिमेकी च्यापेर काङ्ग्रेस रसातलमा पुऱ्याउने बाटो खन्नुभो ! अधिवक्ता भरत प्रसाईंको निष्ठा र बौद्धिकताले न जिल्ला सदस्य भेट्यो न त नगरसभापति नै ! तपाईंको नगरसभापति अहिले वडाको जागीरमा सीमित छन् ! जिल्ला विकाश सभापति हुँदा कृष्णप्रसाद मिश्र जस्ता सालिन प्राणीप्रतिको दुर्ब्यवहारले उहाँमात्र होइन सबै काङ्ग्रेसीको मन दुखित बनाएको छ ! ‘विशु’लाई ‘शिशु’ बनाउन गरेको तपाईंको कर्तुत जगजाहेर छ ! निन्दनीय छ ! यस्ता काङ्ग्रेसनासक कथा लेख्ने हो भने एउटा महाकाव्य नै बन्छ !

तपाईंको प्रगतिको ग्राफ बढ्नु सँगसँगै तपाईंको दम्भले समेत उचाई चुम्दै गयो ! गुटबन्दी मौलाउँदै गयो ! तपाईंको जयगान गाउनेको उन्नति-प्रगति र तपाईंको गलत कार्यको विरोध गर्नेको दुर्गति सुरु भो ! गिरिजाप्रसादले तपाईंलाई ‘टीके’ महामन्त्री बनाएर गृहमन्त्रालय सुम्पेपछि त सुपारी र रक्तचन्दनका भरिया तपाईंका प्रियपात्रमा दरिन पुगे ! हिसाबकिताब नमिलेर फालिएको न्यौपाने थरको झापाली केटो अहिले पनि यो बिरह गाएर हिँड्छ ! कुनै समय तपाईंको खल्तीको केटो अहिले मधेसी पार्टीमा पसेर धन्धा चलाउँदैछ !! पुलिसको सरुवा-बढुवामा हजारदेखि लाखौंको सौदाबाजी गर्ने हुटिट्याउँका सन्तान अहिले पनि काङ्ग्रेस आफुले थामेको दम्भमा मस्त छन् ! उनिहरूको दम्भ बढ्दो छ ! घट्ने लक्षण देखिँदैन ! तपाईंका गुटका दास हुन्… घट्नु पनि त भएन नि !

खैर ! तपाईं आउनुभएछ ! झापाली भूमी पवित्र गर्दिनुभएछ ! विश्वप्रकाश आएपछि उसलाई साईजमा राख्न पनि तपाईंको सवारी आवश्यक थियो ! विशु अघि बढ्दा तपाईंको दाहिने मुटुको समेत धड्कन बढ्छ ! मेची किनारको होटलमा ठड्याएका ८०० मध्ये १५० जति कुर्सीले खोरेत पिछ्वाडा स्वागतको सौभाग्य पाएको सुनियो ! देख्न त हामीजस्ता दलित काङ्ग्रेसले पाउने कुरै भएन !

साँच्चै छातीमा हात राखेर मनन गर्नुस् त प्रिय दाइ –
तपाईंले उचालेका अनुहारबाट तपाईं आफैं सन्तुष्ट हुनुहुन्छ ? महाधिवेशन प्रतिनिधि/महासमिति सदस्य हुन या तपाईंको निगाहबाट संगठनमा राज गर्न भ्याएका अधिकांश भष्मासुर अनुहार हेर्दा प्रत्येकबाट दस भोट घट्छ, बढ्ने त धेरै परको कुरा ! तपाईंको सवारीमन्त्री सगरमाथा चोकको लुर्कण्डेको व्यबहारले चोक वरिपरिका धेरैले काङ्ग्रेस छोडिसके ! तपाईंले निकै माथि पुऱ्याएको अर्को प्रियपात्रको काम झापा चोकमा चना चपाएर उग्राउनु सिवाय अर्को छैन ! झापा चोकबाट दक्षिण लागेको रेकर्ड छैन ! ‘गाउँ पस ! संगठन गर’ भन्दा ‘म दाइको चाकडीले यत्तिको भएको हो ! दाइको चाकडी गरे पुग्छ ! संगठनसँग मलाई के मतलब ?’ – उसको रेडिमेड जवाफ आउँछ ! ‘जयनेपाल क्लब’को सदस्य नपाएको झोंकमा सद्भावना पसेर गच्छदारको फोरम हुँदै काङ्ग्रेस पसेको तपाईंको अर्को फिरङ्गी प्रियपात्र अहिले लिङ्देनको क्लबमा छिरेर तपाईंउपर नै धारेहात लाउँदै हिँड्छ ! अर्को प्रियपात्र पत्रकारको कार्ड देखाएर स्थानीय तहबाट चन्दा असुलेर चामलको जोहो गर्छ ! नगरको टिकट बेचेर नजरानामा पाएको गाडी चढी तपाईंलाई भेट्न आउने खोरेतप्रति तपाईंलाई गर्व लाग्छ होला ! हामीलाई चै घिन लाग्छ ! तपाईंले नियुक्ति दिलाएको अहिलेको वरिष्ठ काङ्ग्रेस पूर्व बामपन्थी विर्तामोडको आफ्नै साथीसँग वैधानिक कामवापत पाँच लाख नजरानामा कुरो नमिल्दा काम नगरिदिएर विर्तामोड मात्र हैन जिल्लाभर आलोचित हुँदा तपाईंलाई कस्तो लाग्यो होला ? तपाईंले काखी च्यापेका अधिकांश अनुहार कुनै न कुनै उल्टो धन्धामा ब्यस्त छन्, मस्त छन् !!

पछि फर्केर हेर्नुस् त –
तपाईंको क्षेत्रका तपाईंको दुर्विचारसँग असहमत काङ्ग्रेस कसरी सिध्याउनु भो ? तोया गड्तौला जस्तो जन्मजात काङ्ग्रेससेवक महाधिवेशन प्रतिनिधिको लागि योग्य भएन तपाईंको नजरमा ! अधिवक्ता सुरज खत्रीको निष्ठाले तपाईंको चाकडी नगरेका कारण महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र पाएन ! जितबहादुर पुरीको छोरोले बाउको नाम चिच्याउदै भोट माग्दासमेत उसको चिच्याहट सुनिएन ! राजेन्द्र घिमिरे क्षेत्रीय सभापतिका लागि योग्य भएन ! तपाईंको क्षेत्रिय समिति कता छ ? के गर्दैछ ? समितिमा को–को छन् ? तपाईंलाई थाहा छ ? राजेन्द्रलाई सभापति दिएको भए लैनोपाडो उफ्रेझैँ क्षेत्रभरी उफ्रिन्थ्यो ! तपाईंकै नाक फुल्थ्यो क्यारे ! अधिवक्ता भरत प्रसाईं जस्तो बौद्धिक ब्यक्ति तपाईंको नजरमा जिल्लासदस्यका लागि योग्य भएन ! नगरसभापतिमा समेत तगारो लाइदिनु भो ! तपाईंका लागि अहोरात्र खट्ने राजेश ढुंगाना अहिले कहाँ कता कुन हालतमा छन् ? सोधिखोजी गर्ने चेस्टा गर्नुभएको छ ? तपाईंलाई यो उचाईमा पुऱ्याउन तपाईंका दर्शनार्थी बथानका लागि ‘भण्डारा’ चलाएर दैनिक हजारौंलाई भात ख्वाउने पूर्व क्षेत्रिय सभापति मदन गुरुङ्ग कहाँ कहिले कसरी बिते ? तपाईंलाई सम्झना छ ? उनलाई चिन्नुहुन्छ कि बिर्सिनु भो ? आज उनको छोरो घण्टीका पछि लागेर दौडिँदैछ ! किन ? बुझ्ने चेष्टा गर्नुभएको छ ?

आशा थियो – यसपटक गृहजिल्ला आउँदा गाउँ-बस्ती घुम्नुहुनेछ ! सबै काङ्ग्रेस समेट्नुहुनेछ ! अग्रजलाई सम्मान र अनुजलाई स्नेह दिनुहुनेछ ! जिल्लाका अग्रज काङ्ग्रेसको हालतबारे जिज्ञासा राख्नुहुनेछ ! जेन्जी आन्दोलनबाट बालबाल बचेको ज्याद्रो काङ्ग्रेस खड्ग प्रसाईं भेट्नुहुनेछ ! बीपीसँग निर्वासन भोगेको पहिले राजगढ अहिले तपाईंकै छिमेकमा रहेको हेमकुमार थापासँग भेट गर्नुहुनेछ ! भद्रपुर पुगेर तपाईंको अग्रज र नातेदारसमेत रहेका अम्बिका रिजालको परिवार भेट्नुहुनेछ ! जितबहादुर पुरीको पारिवारिक हालत बुझ्नुहुनेछ ! परमेश न्यौपाने, पुष्कल भट्टराई जस्ता ज्याद्रा काङ्ग्रेस भेटेर आत्मीयता साट्नुहोला ! दिब्य भुर्तेल, रामप्रसाद तिम्सिना भेट्नुहोला ! शहीद श्यामकृष्ण श्रेष्ठको परिवारबारे खोजिनीति गर्नुहोला ! हर्षकुमारी थपलिया, बालगोपाल पोख्रेल, होमनाथ कोइरालाको परिवार भेटेर उहाँहरुको प्रजातान्त्रिक योगदान सम्झेर भावुक हुनुहोला ! पाठामारी पुगेर सुदामा राजवंशीको सन्तानको खोजी गर्नुहुनेछ ! सुकुम्बासी काङ्ग्रेस शुरेश बास्के खोज्नुहोला ! अनि शनिश्चरे पुगेर तोरण दाहाल, कृष्णप्रसाद मिश्र लगायतका अग्रज भेटेर बिगत सम्झेर रोमाञ्चित हुनुहोला ! त्यसपछि धुलाबारी पुगेर भात भन्दा बढी औषधि खाएर मृत्यु कुरेर बसेको जिउँदो शहीद याम भण्डारी भेट्नुहुनेछ ! बाहुन्डागी पुग्नुहोला अनि तपाईंले नै सिलान्यास गरेको शहीद विश्वनाथ घिमिरेको शालिकमा फुल चढाएर घिमिरे परिवार भेट्नुहोला भन्ने आशामा पानी फेर्दिनुभो ! विश्वप्रकाशलाई काउन्टर दिन आउनुभो ! एक डेढ सय चेलाचपेटा वरिपरि राखेर अर्ति उपदेश दिनुभो ! आफ्नो दम्भ र कुण्ठा पोख्नुभो ! फर्किनुभो !

विकाशप्रेमी प्रिय दाइ !
तपाईंले ०४८ सालदेखि अहिलेसम्म झापाका लागि या तपाईंको क्षेत्रका लागि के-के गर्नुभो ? कुनै समय तपाईंले इच्छा राख्दा मुलुकको आधा बजेट तपाईंले चाहेको क्षेत्रमा खनिने अवस्था थियो ! दुई-चार कारखाना खोलेको भए एकाध सयले काम पाउँथे होला ! त्यसमध्ये दुई चार जना तपाईंको घर जल्दा काँध थाप्न पक्कै आउँथे होला ! हिजो तपाईंको घर जल्दा तपाईंबाट निर्मित खोरेत जमात कता लुकेर बसे ?

विकाशकै कुरा गर्ने हो भने – तपाईंको पहलमा सिलान्यास भएको जीपी भवन कुन हालतमा छ ? तपाईंकै क्षेत्रमा भारतीय सहयोगमा निर्मित चिस्यान भवनको धुरीमा उम्रेको पिपलको रुख देख्नुभएको छ कि छैन ? भद्रपुरमा स्थापना हुने भनिएको आँखा अस्पताल तपाईंकै उदासीनताका कारण अनारमनी पुग्यो ! मेची प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने भद्रपुरवासीको चाहनालाई मनमोहन अधिकारीको नाम हजम नभएर तपाईंको प्रियपात्र भद्रपुरका खतरनाक खोरेतले उल्टिपियर देखाएर तुहाइदिए !! ४८ सालदेखि तपाईंको एकछत्र राजको विकाशको नमुना यही हो त ? तपाईंका एकाध खोरेतले ‘विकाशप्रेमी’ लेखिएको आत्मरतिमा कतिन्जेल रमाउनुहुन्छ ? तपाईंले आफ्नो क्षेत्रमा प्रष्ट देखिनेगरि भएको विकाश भनेको ‘बन्दे पुरुषोत्तम’ लेखिएको सेतो महल र तरुणको त समेत नजानेको दुधमुखे बच्चालाई तरुण केन्द्रिय सदस्य बनाउनु हो !

प्रिय दाइ !
माथी पुगेर प्रधानमन्त्री कार्कीलाई समेत नीतिनियम सोधिखोजी गरेको देखियो सुनियो ! अर्ती उपदेश दिएको देखियो ! वडामा समेत तरुणको काम नगरेको निरीह प्राणी एकैपटक केन्द्रिय सदस्य कसरी कुन नीति नियम विधान मानेर बनाइयो ? भनेर कसैले प्रश्न गर्दा तपाईंको जवाफ के होला ? गिरिजा प्रसादलाई भ्रममा राखेर हिन्दू धर्मको अन्तेष्टी गर्दा कुन विधान प्रयोग भयो ? तपाईंका वरिपरिका केही दासले ताली बजाएर स्वागत गर्दै जयगान गाएकै भरमा किशुनजीको प्रियपात्र भएर उप-चुनावको टिकटबाट सांसद बनेलगत्तै गिरिजा क्याम्प छिरेर किसुनजी-गणेशमान खेद्नुभो ! गिरिजाप्रसाद, सुशील कोइरालाको मान्छे बनेर देउवाका मान्छे खेद्नुभो ! देउवाको नजिक पुगेर शेखरका मान्छे खेद्ने कार्य अहिले पनि जारी छ !! अहिले खड्कासँग जोडिएर उनलाई उचाल्दै हुनुहुन्छ ! तपाईंको घर्म के हो ? कर्म के हो ? मर्म के हो ? यसरी म्यारिजको जोकरजस्तो जता माल उतै सिक्वेन्स गरेर राजनीति चल्दैन ! अब यो खेल बन्द गर्नुस् ! कुनै समय शेरबहादुरबाट काङ्ग्रेस मुक्त हुने अवसर तपाईंकै च्याँखे दाउका कारण तुहिएको इतिहास छ ! अहिले दुई महामन्त्रीले परिवर्तनको पहल गरेका छन् ! उनिहरुलाई साथ दिनुस् ! रत्नाकर पनि सत्कर्मले वाल्मिकी बन्न सक्छन् भन्ने पौराणिक इतिहास पढ्नुस् !

फेरि झापा आउनुस् दाइ !
अब आउँदा चैं मेची किनारको कोप्चे होटलमा कोठे बैठक गरेर एकाध सय हुक्के-लाउके बटुलेर खोरेत पुराण नसुनाउनुस् ! मुटु खोलेर आउनुस् ! सम्पुर्ण जिल्ला घुम्नुस् ! अग्रज भेटेर आशीर्वाद लिनुस् ! अनुज भेटेर स्नेह बाँड्नुस् ! समयले बनाएको नेता तपाईं नै हो अब व्यबहारले नेता बन्नुस् ! अब यो गुल्चे गेम बन्द गरेर ०४६ सालअघिको ‘उर्जाशील दाइ’को रूपमा आउनुस् ! पहिलेझैँ चप्पलमै आउनुस्, साइकल चढेरै आउनुस् ! उसबेलाको आलोक साप्ताहिकको प्रेस त छैन तर चन्द्रगढी चोक यथावत छ ! त्यहाँ तपाईंका समकालीन अल्पकालीन दीर्घकालीन सबै भेटिनेछन् ! विगतमाझैँ चोकमा बसेर चना-मुरइ चपाउँदै आत्मियता साटौँला ! धेरै भए ५/१० वर्ष बाँकी होला यस लोकमा बिताउन ! बाँकी समय सत्कर्ममा अर्पण गरौँ ! खड्काले कार्यवाहक पाईसकेपछी तपाईंको आशाको त्यान्द्रोले प्राणत्याग गरिसकेको अबस्थामा सत्कर्मनै अबको उत्तम बाटो हुनेछ ! अब उप्रान्त खड्का उचालेर काङ्ग्रेसलाई प्रजापरिषद मार्गमा नधकेल्नुस् ! तपाईंको तुरुप अब काम लाग्नेवाला छैन !!

अर्को मुल कुरो – गगनलाई आचरण सुधार्ने आदेश दिनुभएछ ! विगतमा उनी झापाका मालेहरूसँग हातेमालो गर्दै माले भएर दौडेका थिए या पञ्चायतकालमा अञ्चलाधीशको प्रियपात्र हुँदै खेलकुद विकाश समितिको सदस्य रहेका थिए भने निश्चित रूपमा उनको आचरणमा सुधार आउनु अनिवार्य सर्त हो ! होइन र थिएनन् भने उनको आचरण सुधारको खासै आवश्यकता छैन ! तैपनि हप्काउनुभएछ ! खुशी लाग्यो !! बेला-बेला हप्काउँदै गर्नुहोला ! तपाईंहरूको हप्काईले नै काङ्ग्रेस जीवित छ ! हैन र ???