मधेस प्रदेशसभाको बैठकबाट सभामुख मण्डललाई यसरी पदमुक्त गरियो

मधेस प्रदेशसभाको बैठकबाट सभामुख मण्डललाई यसरी पदमुक्त गरियो


मधेस प्रदेशसभाको जनकपुरधाममा बुधबार (३ मङ्सिर) बसेको बैठकले प्रदृेशसभाका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गरेको छ । सभामुख मण्डलविरुद्ध सात दलका ६४ जना प्रदेशसभाका सदस्यहरूले दर्ता गराएको महाअभियोग प्रस्ताव प्रदेशसभाको बैठकले पारित गरेको हो ।

मधेस प्रदेशसभामा उपस्थित रहेका ७८ प्रदेशसभा सदस्यमध्ये ७६ले महाअभियोगको प्रस्तावको पक्षमा मत दिएकाले उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो । दुई तिहाइका लागि ७२ जना प्रदेशसभा सदस्य चाहिएकामा त्यसभन्दा बढी भएकाले उक्त प्रस्ताव पारित भएको छ । प्रस्तावका विपक्षमा कुनै पनि मत नपरेको बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख बविता राउत इशरले प्रदेशसभाको बैठकमा घोषणा गरिन् ।

मत विभाजनका आधारमा महाअभियोग प्रस्तावमाथि छलफल तथा प्रदेशसभाको बैठकले निर्णय लिएका कारणले प्रदेशसभा नियमावली तथा नेपालको संविधानअनुसार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सभामुख तत्काल पदबाट पदमुक्त भएको घोषणा उपसभामुख बविता राउत इशरले गरेकी हुन् ।

सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्ने प्रस्ताव नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले दर्ता गराएका थिए । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पदअनुसारको आचरण नगरेको भन्दै कात्तिक २७ गते उपसभामुख बविता राउत इशरको तोकआदेशमा प्रदेशसभाका सचिव होमनाथ पहाडीले उक्त प्रस्ताव प्रदेशसभामा दर्ता गरेका थिए ।

मधेस प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेशसभाका सदस्यहरूले प्रदेशसभाको बैठक बोलाउनका लागि गत मंगलबार उपसभामुखलाई आग्रहसहितको पत्र बुझाएपछि बुधबार दिउँसोका लागि उपसभामुखले बैठक बोलाएकी थिइन् ।