✍ श्यामकृष्ण लम्साल
सुन्तले र तीनतले आदिको यात्रामा
आदिम युगदेखि वर्तमानसम्म
हाम्रा पिता-पूर्खादेखि हामीसम्मका
पसिना, पाइताला र रगतका
डोबहरू टल्किरहेकै छन् नि ?
हाम्रा अग्रजहरूका
रगत, पसिनाले आर्जेको स्वाभिमान्
इज्जत, पुरुषार्थ र बलिदानको जीवन्तता
पल्लो डाँडामा टल्किने
मकालु हिमालको उचाइसँगै
मुस्कुराइरहेकै त छन् नि ?
सुन्तले हिउँको मुस्कान छर्दै,
शितले निथ्रुक्क नुहाउँदै
ट्याम्केलाई हेरिरहेकै त होला,
साइँली-माइली डाँडामा बसेर
चुलढुङ्गीमा चामल चौलने तन्नेरी पुस्ताहरू
विस्थापित हुने लहरसँगै
ध्यानबहादुर, नारदमुनी, दिवानसिंह,
कोइराला, चापागाईं, भैरवनाथ
एवं रामप्रसाद राईका पदचिन्हँहरू
पिखुवा, खकुवा र अरुणको सुशेलीसँगै
रुम्टी, रहेले अनि
धोवी कान्लेका बगरहरूमा
उत्तानो टाङ् लगाएरै
बालुवाका कणहरूसँगै
बगी गएहोलान् ?
सम्झनाको चौतारीमा मात्रै
हाम्रा पूर्वजहरूका पौरख र गाथा
मञ्जुल, शयली आदिका कलममा
बयेली खेल्दैहोलान्
स्मृतिका तरेलीमा बाँचिरहेका
सुन्तले र तीनतलेहरू,
चित्रगुप्त र बलिपाध्येका इतिहासहरू
युगौँयुगसम्म
स्वाभिमानपूर्वक बाँचिरहून् है !
समयको माग
आज यही र यत्ति नै छ है !
- दिङ्ला, भोजपुर
प्रतिक्रिया