नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज (४ मङ्सिर) बस्ने भनिएको बैठकको मिति पुनः परिवर्तन भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहीबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जनाइएको छ ।
यसै क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पुस मसान्तभित्रै पार्टीको १५औँ महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अघि सारेपनि त्यसप्रति अविश्वास जनाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनकै निर्णय लिनुपर्ने अडान लिएका छन् । गत कात्तिक २८ गते सिंगापुरबाट फर्केलगत्तै सभापति देउवाले आफ्ना केही सहयोगीमार्फत् पुस मसान्तभित्रको कार्यतालिकामा सहमति जुटाउने प्रयास थालिएको सन्देश प्रवाहित गराएका थिए । तर यो महाधिवेशन गराउने नभइ अल्मल्याउने चारमात्र रहेको महामन्त्रीद्वयको तर्क छ ।
यसरी महाधिवेशन विवादबारे सहमतिको प्रयासले सार्थकता नपाएपछि बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको कांग्रेस नकट सुत्रले जनाएको छ ।
प्रतिक्रिया