गथासा  कतिपय

गथासा  कतिपय


श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । बुझाइ हल्का भएसि कसको के लाग्छ र ? के ठिक के बेठिक छुट्याउने गजो त प्राकृतिक न्याय सिद्धान्त/शास्तर नै हो । यी दुईको वेवास्ता गरेसि कुमान्छे पापाचारतिर लस्किन्छ; विवेकहीन भएसि के गर्ने र ? मुलुकको आफ्नो शिक्षा नीति मिल्क्याएर तथाकथित नयाँ शिक्षा पद्धति (२०२८) लागु गरेसि विदेशीको हैकम बढ्यो; नागरिकजन अनुशासनहीन र नैतिकहराम भो । कौन पुछेगा खेसरीको दाल भन्या जस्तो । प्रधानमन्त्रीलाई त मान्छे गन्दैन; अरूको त के कुरो भो र ?

नेपालमै रहेर नेपालकै खोइरो काढ्ने अराजनीतिक जत्था; यसको अन्त्य कसरी पो हुने हो ?  जातीय एकता/सम्प्रभुता अक्षुण्ण हुनुपर्छ । नेपाल/नेपालीको अहित चिताउनेको भलो नहोस् । लक्का उमेरमा उपध्रो मच्चाउँछ; बुढ्यौलीमा पछुताउँछ । यो उपक्रम जारी छ – सायद श्रृष्टि छउन्जेल चल्ला ।

In which class do you study ? भन्नुपर्नेमा In which class do you read ?  भनेको/लेखेको देखिन्छ । पाठ्यवस्तु  read गरिन्छ भने class मा study  गरिन्छ । त्यस्तै England को शिक्षक English teacher हो भने  English विषय शिक्षण गर्ने शिक्षक English language teacher हो । तसर्थ नेपालमा English विषय अध्यापन गर्ने शिक्षकलाई  English teacher नभनेर  English language teacher भन्नुपर्छ । of लाई ‘अभ्’ भन्दे भैगयो नि  बेफ्वाँकमा किन ‘अफ’ भन्नुपऱ्या छ र ? खोजखाज गरे यस्ता खुल्दुली कति निस्कन्छन् कति ।

जो आफै असती छ; ऊ नै ठुलो कुरो गर्दो । अनुशासित हुन पो गाह्रो, लवारपाँडे बन्न के गाह्रो ? बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ । दुर्जनसित संगत नगर्न पाइहालिन्छ नि; करलाग्दो कुरो भएन क्यारे । आफ्नो कर्मको फल मर्त्यलोकमै भोग्न पाइन्छ; स्वर्गै जानु पर्दैन । वंश नियोजन गर्ने र नगर्ने बिच रणसङ्ग्राम मच्चिंदो । गहन अध्ययन र विश्लेषण पो गर्नुपर्छ; हावादारी कुरा गरेर हुन्छ र ? महत्तायुक्त  जीवन फोसामा निख्रिँदो । कसले बुझ्ने सिकन्दरको कात्रो बाहिरको हातको रहस्य ?

प्रमुख कार्यकारीको पदावधि एक कार्यकाल हुँदा राम्रो । अन्यथा अनियमितता पग्रिनसक्दो । सबै मान्छे नेल्सन मण्डेला जस्तो नहुने । दृष्टान्त त कति कति – नेपालकै इतिहास ज्युँदै छ नि ।

वादहरू मनुष्यको दिमाग गिजल्दो । ताकछोपुवा औसरको खोजीमा । विचार ओझेलिएसि सिद्धान्त त फेरेको फेऱ्यै । जनाधार बिनाको दलहरू च्याउसरि उम्रेका । हल्लुँडो म्हराउँदो । चक्र घुम्याघुम्यै; पालो जसको नि आउने । उत्तम पाँडेले बिज्याइँ नगऱ्याभए दुई नम्बरको साख नगिर्दो । त्यो त वासुदेवले पुष्ट्याएकै हुन् क्यारे । दुर्लभ गोकर्ण; सुलभ धुन्धुकारी । बिनसित्तै नदुख्या कपाल किन डोरी लगाएर दुखाउनपऱ्या छ र ?

सज्जन सज्जनसित; दुर्जन दुर्जनसित । मान्छेपिच्छेको सोच – स्वार्थले मतैक्य हुन नदिंदो । पापको बाऊ लोभ भएसि छात्रवृत्ति/डलरमा नबिक्ने को होला र हऊ ? अनागरिक देशघाती हुन्छ नै; विदेशीलाई नागरिकता बाँडेसि । अहमत्याइँ पो पाल्नु भएन; स्वाभिमान त चाहिन्छ पो । मर्न भन्दा जन्मिन सजिलो । पुस्तैपिच्छे विचलन देख्दा मर्ने बेलाँ हिरन हाल्ने मान्छे नि पाइन्न कि जस्तो ।

कसैको विश्वास कसैलाई छैन । बाऊ छोरो मार्छ; छोरो बाऊ मार्छ । कति भत्भताउँदो हो छाती; कति भुटभुटिँदो हो आत्मा ? आत्मा/परात्मा नचिनेर कपाल पकाउनुको के सार्थकता ? प्रवासिएसि खेल खतम । आवा न चावा के खानु गावा ? चित्रगुप्तको बहीखाताको भय पो कसलाई छ र ? कुकुर भुक्दै; हात्ती लस्किँदैछ ।

पातकी बाइरनको वाहीवाही छ; हाम्रा देवकोटा सास्ती खाएर मरे । बाँचुन्जेल अपमान गर्दो; मरेसि गुणगान गाउँदो । गोहीको आँशु । कहिले पो सुध्रिने हो हाम्रो मानसिकता ? आफै जान्नेसुन्ने अर्कोलाई किन गन्ने ? 

जसले जे जान्दो उसले त्यही सिकाउँदो । आँ गर्दा अलङ्कार बुझे भैगो नि; किन बेलिविस्तार लगाउनुपऱ्या छ र ? जो चोर उसको ठुलो स्वरको जमाना । नेपाल रहे हुन्थ्यो । नेपाल/नेपालीको जय होस् । आफ्नोमा त गाँड कोराकोर छ; अर्कोमा त के भर छ र हऊ ? लास्टाँ त्यही हो । सबैलाई चेतना भया ।

भारतमा गौराङ्ग प्रभुको शासनकालताकाको कुरो हो । मास्टर सूर्य सेनले बंगालको एक पाठशालामा अङ्ग्रेज प्रधानाध्यापकको मातहतमा रहने गरी अध्यापकको नियुक्ति लिए । उनी देशभक्त, निर्भिक र आदर्शवादी थिए । वार्षिक परीक्षा चल्दै थियो; उनले प्रधानाध्यापकको छोरोले चिट चोरेसि उसलाई परीक्षा दिन दिएनन् । केही दिनपछि परीक्षाफल घोषणा भो; प्रधानाध्यापकको छोरो अनुत्तीर्ण भएछ । यस घटनाले सूर्य सेनको जागिर जाने भो भनेर अरू अध्यापकहरूले सन्देह प्रकट गरे ।

अनायासै एकदिन प्रधानाध्यापकले सूर्य सेनलाई डाके; उनको स्वागत सत्कार गरे । उनले भने- ‘मेरो पाठशालामा तपाईं जस्तो कर्तव्यनिष्ठ अध्यापक हुनुहुँदो रहेछ भन्ने थाहा पाएर म हर्षले फुलेल भएको छु । तपाईंले मेरो छोरोलाई दण्ड दिन डराउनु भएन । उसले चिट चोर्दै गरेको थाहा पाएर नि उसलाई कारवाही नगरी उत्तीर्ण गराउनु भएको भए मैले तपाईंलाई बर्खास्त गर्ने थिएँ ।’

सूर्य सेन प्रत्युराए , ‘तपाईंले छोरोलाई उत्तीर्ण गराउन दबाब दिनुभएको भए मैले राजीनामा दिने थिएँ । मैले राजीनामा पत्र त लिएरै आएको थिएँ । म नि तपाईं जस्तो कर्तव्यपरायण प्रधानाध्यापकसित सहकार्य गर्न पाउँदा खुशी छु ।’ सूर्य सेनको जवाफ सुनेर प्रधानाध्यापक हर्षविभोर भए ।

पछि यी मास्टर सूर्य सेन भारतीय स्वतन्त्रता सङ्ग्राममा शहीद भए ।

उही त हो नि : कुरा गऱ्यो कुराकै दु:ख । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !