एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा

एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा


नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा शुक्रबार (५ मङ्सिर) काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । ‘कमाण्ड’ टोलीमा पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ ।

संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरे । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले रहेका छन् । टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाई दिँदै शपथसमेत गराए ।

फोर्समा पार्टीका विभिन्न जनसङ्गठनबाट प्रतिनिधित्व हुने र ती सङ्गठनबाट जिम्मेवारी लिइसकेका व्यक्तिलाई पनि समावेश गरिने नेता ढकालको भनाइ छ । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सुरक्षाका लागि फोर्सले काम गर्ने बताए ।

गत असोज १५ गते भक्तपुरको गुण्डुमा उक्त फोर्स घोषणा कार्यक्रममा केन्द्रीय टोली सार्वजनिक गर्ने जनाइएको थियो ।

फोर्सले सङ्कट र विपत्तिमा सघाउँछ : केपी ओली

राष्ट्रिय स्वयंसेवक फोर्स घोषणाको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताए । पूर्वप्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभइ हिंसा र अराजकताविरुद्ध गठन गरिएको जानकारी दिँदै यसले जनधनको रक्षा, औद्यागिक प्रतिष्ठानको सुरक्षामा सहयोग पुऱ्याउने र सुरक्षा निकाय एवम् सामाजिक संस्थासँग मिलेर काम गर्ने बताए ।

photo: rss