नेपाल किन बनिरहेछ राजनीतिक प्रयोगशाला ?

नेपाल किन बनिरहेछ राजनीतिक प्रयोगशाला ?


नेपाल राजनितिक प्रयोगशाला होइन भू-राजनितिक तानातानमा परेको छ । हाम्रो भुगोल नै हाम्रो समस्या हो, हाम्रो लागि अवसर पनि हो तर हाम्रो देशको राजनीति मुख्य समस्या हो । हाम्रो देशको राजनिति भारत, चीन, युरोप, अम्मेरिकाको नक्कलमा आधारित छ त्यसैले राजनिति मुख्य समस्या हो ।

दक्षिणको छिमेकी जस्तो बहुदलिय ब्यवस्था र उत्तरको छिमेकी जस्तो एकदलिय ब्यवस्थामध्ये चुन्न खोज्ने नेपालका राजनीतिक दलभित्र युरोप, अम्मेरिका जस्तो ब्यवस्थाको पक्षपाति त्रिध्रुवीय राजनीतिक सोचले नेपाल अस्थिर बनेको हो । काङ्ग्रेस भारत/अमेरिकातिर ढल्किन्छ भने कम्युनिस्टहरु चीनतिर । देशका ठुलो संगठन भएका शक्तिहरु छिमेकीतिर ढल्किएपछि जति चिच्याएपनि रास्ट्रवाद या देशभक्ति ओझेलमा पर्छ । त्यहि भएको छ यतिबेला ।

शक्तिदेशको लागि सामरिक महत्व छ । चीनको लागि नेपाल स्थिर हुँदा फाइदा पुग्छ भने भारत/पश्चिमाको लागि नेपाल अस्थिर हुँदा फाइदा हुन्छ । यो अकाट्य सत्य हो । विश्वको उदाउदो शक्ति चीन र चिनियाँ जमिन जोडिएको कमजोर भुगोल नेपाल नै हो ।

नेपालको अस्थिरताको मूल कारण पनि यही भू-रणनीतिक संवेदनशीलता हो । भारतको सुरक्षा, खुला सीमा र व्यापारका कारण उसको प्राथमिकता नेपालप्रति सधैं उच्च हुन्छ । चीनले तिब्बतको स्थिरता र भारत-चीन सन्तुलनका कारण नेपाललाई महत्वपूर्ण ठान्छ । पश्चिमी राष्ट्रले चीनलाई रोक्ने दीर्घकालीन रणनीतिमा नेपाललाई प्रयोग गर्न खोज्छ। अर्कोतर्फ, नेपालको आन्तरिक नेतृत्व कमजोर हुँदा बाह्यशक्तिले सहजै हस्तक्षेप गर्छन् । नतिजा – सरकार बदलिने खेल, नीति परिवर्तन, अस्थिरता र विकास अवरुद्ध हुने परिस्थिति सिर्जना हुन्छ ।

विश्वमा युक्रेन, जर्जिया, अफगानिस्तान, बङ्गलादेश, श्रीलंका, सिरिया र म्यानमारजस्ता धेरै राष्ट्रहरू आफ्नो भू-रणनीतिक अवस्थाका कारण अस्थिरताको चपेटामा परेका छन् ।

मुख्य आन्तरिक कारण : विभिन्न पार्टी र नेताहरू बाह्य देशसँग नजिकिएर सत्तामा पुग्न र टिकाउने खेलमा लागे । यस्तै राजनीतिले नेपाललाई कहिले भारततर्फ, कहिले चीनतर्फ, कहिले पश्चिमतर्फ ढल्काउँदै अस्थिरता बढायो ।

जेन्जी सामान्य आन्दोलन थियो, तर त्यस्लाइ देखिनेगरि प्रयोग गरियो । केपी ओलीलाई खेद्नुको पछाडिका कारण राजसंस्था हटाउनुको निरन्तरता मात्र हो । प्रयोग गरेर रद्दीको टोकरीमा थुकेर पुछेर फालेपछि पनि चेत नआउने नेतृत्वलाई के लेख्नु… ?

आजभन्दा ५०-६० वर्षअघि महेन्द्रले देखेको ‘आत्मनिर्भर राष्ट्र’ बनाउने दृष्टिकोण, अहिलेको भू-राजनीतिक प्रतिस्पर्धा, आयात-निर्यात असन्तुलन, वैदेशिक कर्जा र राजनीतिक अस्थिरताले झनै अनिवार्य बनाएको छ । नेपालले कूटनीतिक सन्तुलन र आर्थिक स्वावलम्बन दुवै अँगाल्न सकेमात्रै राष्ट्र बलियो हुनेछ ।

कृषि आधुनिकीकरण, औद्योगिक उत्पादन, जलविद्युत निर्यात, घरेलु पूँजी परिचालन, आन्तरिक रोजगारी सिर्जना जस्ता क्षेत्रलाई प्राथमिकता दिन सकेमात्र नेपालमा विदेशी हस्तक्षेप कम हुन्छ ।

केन्द्रमा राष्ट्रिय पहिचान, संस्कृति, राष्ट्रिय एकताको शक्ति राजा र जनताको प्रतिनिधि भयो भने न चीन न भारत न पश्चिमा कसैले देखिने गरेर खेल्न सक्दैनन्… । अस्तु ।