आजको नेपाली राजनीतिमा अनुशासन, नैतिकता र आदर्श क्रमशः हराउँदै गएका छन् । पद, शक्ति र स्वार्थ नै केन्द्रमा रहँदा राजनीतिज्ञप्रति जनविश्वास कमजोर हुँदै गएको छ ।
✍ रमेश कार्की (हाल : टेक्सास अमेरिका)
राजनीतिक नेतृत्वलाई केवल पद, चुनाव वा तात्कालिक परिणामले मात्र मापन गर्न सकिँदैन । कतिपय नेताको प्रभाव समय सन्दर्भभन्दा बाहिर गएर पनि स्थानीय भूगोलको स्मृति, संगठन र जनभावनामा बसिरहन्छ । नेपाली कांग्रेसका पूर्वशक्तिशाली नेता गोविन्द राज जोशी त्यसको एउटा जीवित उदाहरण हुन् । पार्टीभित्रका उतार-चढाव, उच्च सत्ता-समीकरण र आलोचनाका बावजूद आज पनि तनहुँमा उनको नामसँग जोडिएको दबदबा चुनौतीरहित देखिन्छ। यसको केही आधारभूत कारणहरू यस्ता छन् ।
१. ग्रास-रुट पकड जुन समयले कमजोर पार्न सकेन
जोशीको राजनीतिक अभ्यास सदैव स्थानीय जनतासँग सीधा सम्पर्कमा आधारित रह्यो । गाउँ गाउँका कार्यकर्ता, शिक्षक, व्यवसायी, युवादेखि स्थानीय समाजका अगुवासम्मसँग उनले बनाएको सम्बन्ध आज पनि सक्रिय छ । धेरै नेताहरू चुनाव आएको बेला देखिने, चुनाव गए पछि हराउने शैली उनले अपनाएनन् । यही स्थायित्वले जनविश्वासलाई दशकौँसम्म मजबुत बनाइराख्यो ।
२. संगठन विकासमा कडा मेहनतको दीर्घकालीन फल
तनहुँको कांग्रेस संरचना वार्डदेखि केन्द्रसम्म जोशीले ठोस रूपमा उभ्याएका थिए, कार्यकर्तालाई संरक्षण, अवसर र मार्गदर्शन गर्ने नेतृत्वशैलीले धेरैलाई उकास्यो । यिनै कार्यकर्ता आज पनि उनलाई नेता मात्र होइन, राजनीतिक गुरुको रूपमा सम्झन्छन् । यही भावनात्मक निष्ठा उनको प्रभावको सबैभन्दा बलियो आधार हो ।
३. प्रशासनिक क्षमता र काम-कुशलताको पहिचान
गृह, शिक्षा, खेलकुद, जलस्रोत, पर्यटन, स्थानीय विकास जोशीले सम्हालेका मन्त्रालयहरू विविध थिए । व्यवस्थापन क्षमताको कारण उहाँ काम गराउने, निर्णय लिन सक्ने, संकटमा अडिने नेता भनेर चिनिन्थे। स्थानीय तहमा आज पनि त्यही छाप बसेको छ । काम चाहियो भने जोशी सर जस्तै नेता भेटिन्न । यही धारणा उनको राजनीतिक छायालाई निरन्तरता दिइरहेको छ ।
४. नयाँ नेतृत्वले विश्वास दिलाउन नसकेको रिक्तता
कांग्रेस तनहुँमा अहिले नेतृत्व ‘नाममा धेरै, काममा कमजोर’ भन्ने आलोचना बढ्दो छ। जनतामा देखिने असन्तुष्टि र संगठनमा देखिने अस्थिरताले पुरानो नेतृत्वको मूल्य बढाउने काम गरेको छ । जोशीको वैकल्पिक छाया अझै हट्न नसक्नुको एक प्रमुख कारण यही हो ।
५. अन्यायको शिकार नेताको भावनात्मक सहानुभूति
जहाँ नेतालाई फसाइएको, किनारामा राखिएको वा पार्टीबाट निकालेको कथा वा सन्देश चल्छ, त्यहाँ जनभावना प्रायः एउटै हुन्छ, नेताको पक्षमा। काँग्रेसभित्रका आन्तरिक विवादले जोशीलाई क्षति पुर्याए पनि, जनस्तरमा उनले अन्यायको सामना गर्नुपरेको तर क्षमतावान नेताको रूपमा पुनः समर्थन पाए । यो सहानुभूति समयसीमा अनुसार घट्ने होइन, अझ सुदृढ हुँदै जाने प्रवृत्तिको देखिन्छ।
गोविन्दराज जोशीको प्रभाव केवल राजनीतिक शक्ति वा पदको कारण होइन । यो प्रभाव स्मृति, सम्बन्ध, संगठन, कामप्रतिको विश्वास र भावनात्मक निष्ठाको मिश्रण हो। राजनीतिक विश्लेषकहरू अक्सर भन्छन् । कुनै नेता पदमा नरहे पनि प्रभावशाली हुन सक्छ तनहुँको प्रसङ्गमा जोशी त्यसको स्पष्ट प्रमाण हुन् ।
उनको प्रभाव आजका दिनमा पनि चुनौतीरहित छ, र तनहुँको राजनीतिक समीकरणमा त्यसको असर दीर्घकालीन रूपमा देखिरहने संकेतहरू प्रष्ट छन् ।
तनहुँ केवल एउटा भौगोलिक जिल्ला मात्र होइन, नेपाली कांग्रेसको आन्तरिक शक्ति-सन्तुलन, नेतृत्वको प्रभाव र कार्यकर्ता मनस्थितिको नमूना पनि हो। यहाँ हुने राजनीतिक उतार चढावले प्रायः राष्ट्रिय नेतृत्वको क्षमता र कमजोरी दुवै देखाइदिन्छ । विशेषगरी, गोविन्द राज जोशीको दीर्घ राजनीतिक प्रभावले तनहुँमा परिणाम कसरी उल्टिन्छ । यसका धेरै उदाहरणहरू इतिहासमै दर्ता छन् ।
१. जोशी फ्याक्टर ले कांग्रेसलाई गुमाएका ६ सिट
तनहुँमा कांग्रेसले गुमाएका महत्त्वपूर्ण छवटै सिटको जडमा त्यतिबेला पार्टीभित्र देखिएको अन्तरविरोध थियो । पार्टीले जोशी जस्ता स्थापित र लोकप्रिय नेतालाई उपेक्षा गरेपछि, त्यसले कांग्रेसभित्र ठूलो असन्तुष्टि जन्मायो । यही असन्तुष्टि मतदान व्यवहारमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा प्रकट भयो । यसको परिणाम कांग्रेसले २०३६ सालमा बहुदल ले जितेको जिल्लामा पराजय भोग्यो ।
२. किसान श्रेष्ठले रामचन्द्र पौडेललाई पराजित गर्दा देखिएको वास्तविकता
किसान श्रेष्ठले रामचन्द्र पौडेललाई हराउनु सामान्य परिणाम थिएन । यो पराजय त्यतिबेला तनहुँभित्र रहेको असन्तुष्ट कांग्रेस समर्थकहरूको मौन विद्रोहको परिणाम थियो । पार्टीभित्र जोशीप्रति भएको व्यवहारले धेरै कार्यकर्ता समर्थकहरू निष्क्रिय आक्रोशमा थिए।अन्ततः यो असन्तुष्टि मतपेटिकामा पोखियो र वरिष्ठ नेता पौडेल यसबाट अछुतो रहन सकेनन् ।
३. स्वर्णिम वाग्लेको ऐतिहासिक जीत, जोशीको समर्थन निर्णायक किन ?
स्वर्णिम वाग्लेले तनहुँमा हासिल गरेको जीत केवल नयाँ पार्टी, रवि लामिछाने को कारण, प्रविधि, युवा फेस वा एजेन्डाको कारण मात्र थिएन । तनहुँको आन्तरिक सामाजिक र राजनीतिक संरचनामा जोशीको दशकौँदेखि रहेको प्रभाव अत्यन्त गहिरो छ ।उनले समर्थन दिएपछि धेरै पुराना कांग्रेस समर्थक, स्थानीय समुदाय तथा संगठित समूहहरू वाग्लेपट्टि आकर्षित भए।वाग्लेको जीत जोशी फ्याक्टर बिना असम्भवजस्तै मानिन्छ किनकि तनहुँमा धरातली राजनीति अझै पनि सम्बन्ध, विश्वास र पुरानो नेतृत्वको प्रतिष्ठामै टिकेको छ ।
तनहुँ जिल्ला आज पनि जोशीको राजनीतिक छायामा बाँचिरहेको छ।कांग्रेसले उनलाई उपेक्षा गर्दा पार्टीले सिट गुमायो,उनले समर्थन गरे भने नयाँ नेताहरूले अप्रत्याशित जीत पाए।यसैले तनहुँको राजनीति बुझ्न जोशीको प्रभावलाई विश्लेषणबाट काटेर हेर्नै सकिँदैन । उनको नाम यहाँ अझै पनि समीकरण बिगार्ने र मिलाउने शक्ति बनेर बाँकी छ ।
तनहुँको राजनीति अझै पनि जोशीकै हातमा : आगामी चुनावको निर्णायक शक्ति को ?
तनहुँको राजनीति आज पनि सतहमा जति परिवर्तन देखिए पनि गहिराइमा हेर्दा एउटा यथार्थ अडिग छ । यहाँको शक्ति-सन्तुलन अझै पनि गोविन्द राज जोशीकै वरिपरि घुमिरहेको छ । दल परिवर्तन भए, अनुहार फेरिए, पार्टी फुटे-जोडिए, तर तनहुँको चुनावी गणितमा ‘जोशी फ्याक्टर’ हटेको छैन बरु अझ परिष्कृत रूपमा सक्रिय छ।
आक्रमणको घाउ जोशीले बिर्सेका छैनन्
दीपकराज जोशी स्वतन्त्र रूपमा चुनाव लड्दा उनीमाथि भएको आक्रमण केवल व्यक्तिगत घटना थिएन, त्यो एउटा राजनीतिक सन्देश थियो ।
जोशी परिवारले त्यो अपमान र हिंसालाई राजनीतिक स्मृतिमा गहिरो रूपमा सुरक्षित गरेर राखेको छ । आज तनहुँमा देखिने धेरै समीकरणहरू त्यही घटनाको प्रतिक्रियात्मक परिणामका रूपमा विकसित भइरहेका छन् ।
जोशीको प्रत्यक्ष भोट बैंक : ७ हजार अब १० हजार बन्ने सम्भावना
आजको यथार्थ के हो भने जोशीसँग अहिले पनि करिब ७ हजार हाराहारी सुनिश्चित भोट छ । उनले गरेको योगदानकाे सही मूल्यांकन उनले सहयाेग गरेका तनहुबासीलें गरे भने त्यो संख्या सजिलै १० हजार नाघ्न सक्छ । तनहुँ जस्तो जिल्लामा यो संख्या केवल समर्थन होइन, यो त चुनाव जित्ने ‘किङ-मेकिङ’ शक्ति हो।यसैले अब आउने कुनै पनि चुनाव जोशीको सहयोग बिना कुनै पनि पार्टीका लागि सहज हुनेछैन ।
स्वतन्त्र पार्टीको रणनीति : वाग्लेलाई बाहिर, दीपकलाई तनहुँमा ?
यसपटक स्वतन्त्र पार्टीले तनहुँमा जोशीको प्रभावलाई बेवास्ता गर्न सक्दैन।यदि उसले स्वर्णिम वाग्लेलाई चितवन वा गोर्खाबाट उठाएर तनहुँमा दीपक राज जोशीलाई अघि सार्ने रणनीति बनाएन भने स्वतन्त्र पार्टीले अफ्नो सिट गुमाउन सक्ने परीस्थिति श्रृजना हुन सक्छ । त्यसैले दिपक राज जोशी लाई स्वतन्त्र पार्टीले अघि सारेको खण्डमा जित लगभग सुनिश्चित हुने राजनीतिक संकेतहरू स्पष्ट देखिन्छन् । यस समीकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अरू समूहको झुकाव पनि जोशी परिवारतर्फ नै जाने सम्भावना प्रबल देखिन्छ ।
दीपक राज जोशी : जेन एक्स, तर जेन जेडलाई साथ लिन सक्ने नेता
दीपक राज जोशी जेन एक्स पुस्तामा पर्छन्, तर उनीसँग जेन जेडलाई आकर्षित गरेर हिँड्न सक्ने ऊर्जा, भाषा र राजनीतिक शैली मात्रै नभएर उनको साधारण जीवनशैलीले सबैलाई मोहित बनाउँछ। येस्तो गुण आजको राजनीतिमा अत्यन्त निर्णायक बन्दै गइरहेको छ । पुरानो विरासत र नयाँ पुस्ताको संयोजन दीपकराज जोशीको राजनीतिक शक्ति यहीँबाट जन्मिरहेको छ।
नेपाली कांग्रेसका लागि सबैभन्दा ठूलो संकट : जोशीलाई फेरि पनि बेवास्ता गर्ने भूल
नेपाली कांग्रेस आज पनि यही ऐतिहासिक गल्ती दोहोर्याउने संकेतमा देखिन्छ जोशीलाई साथ नलिने, उनको प्रभावको कम आँकडा गर्ने। यदि यस्तो भयो भने तनहुँमा कांग्रेसको हार फेरि पनि लगभग निश्चित हुनेछ। राजनीति भावना र व्यवहार दुवैको खेल हो,र तनहुँमा आज पनि ठूलो भावना जोशीप्रति नै बाँकी छ।
गोविन्दराज जोशी आफैं सक्रिय निर्वाचन राजनीतिमा नआउलान्, तर उनी अब स्पष्ट रूपमा आफ्नो छोरा दीपकराज जोशीलाई जसरी भए पनि स्थापित गर्ने रणनीतिमा उत्रिएका छन् ।
यो केवल पारिवारिक उत्तराधिकारको प्रश्न होइन,
यो तनहुँको राजनीतिक शक्ति-संरचनाको पुनःनिर्माणको संकेत हो। यो संघर्षमा जोशी पक्ष आज पनि कमजोर छैन बरु निर्णायक अवस्थामा छ ।
गोविन्दराज जोशी तनहुँका लागि केवल एउटा राजनीतिक नाम होइनन्, उनी तनहुँकै माटोले चिनेको, त्यही माटोमा जीवन अर्पण गरेको राजनीतिक कर्मी हुन् । समयले उनलाई कहिले सत्ताको केन्द्रमा पुर्यायो, कहिले किनारामा राख्यो, तर तनहुँप्रतिको उनको माया कहिल्यै घटेन । आज पनि तनहुँको राजनीति बुझ्न जोशीको योगदानबिनाको विश्लेषण अपूरो हुन्छ।
त्यही राजनीतिक संस्कार, अनुभव र मूल्य र मान्यताको निरन्तरताका रूपमा आज देखिएका छन् जोशीका छोरा दीपकराज जोशी।
उनी नेपाली राजनीतिमा दुर्लभ मानिने पात्र हुन् जो पढेका, बुझेका र सबैभन्दा महत्त्वपूर्ण कुरा, सात्विक जीवनशैली भएका नेता हुन् । उनमा कुनै महत्वाकांक्षा छैन । राजनीतिबाट उनले लिनुपर्ने केही छैन । १७ वर्ष अमेरिका बसेर सधैंको लागि नेपाल फर्केका दीपकमा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता अवगुणहरु छैनन् । उनको जीवनशैलीमा दया, माया, मैत्री, करुणा, शान्ति, सदाचार, त्याग, तपस्या, परहित तथा परोपकार जस्ता सद्भाव हरु मात्र झल्किन्छ ।
आजको नेपाली राजनीतिमा अनुशासन, नैतिकता र आदर्श क्रमशः हराउँदै गएका छन् । पद, शक्ति र स्वार्थ नै केन्द्रमा रहँदा राजनीतिज्ञप्रति जनविश्वास कमजोर हुँदै गएको छ । यस्तै विषाक्त परिवेशमा दीपकराज जोशीको जस्तो अनुशासित, संयमी र नैतिकवान राजनीतिक व्यक्तित्व तनहुँले पाउनु आफैंमा सौभाग्य हो भन्नु कुनै अतिशयोक्ति होइन ।
दीपकराज जोशीसँग न अत्यधिक लोभ देखिन्छ न सत्ता-लालसा नै , उनीसँग कुनै व्यक्तिगत अपेक्षा छैन, कुनै गलत आसक्ति छैन । जसलाई केही लिनु छैन, उसैले समाजलाई निस्वार्थ रूपमा दिन सक्छ । यही विशेषता आजको राजनीतिमा सबैभन्दा दुर्लभ गुण बनेको छ र दीपकराज जोशी यही गुणका धनी छन् ।
उनी राजनीतिलाई पेशा होइन, जिम्मेवारी र सेवाको रूपमा बुझ्छन् । युवासँग संवाद गर्न सक्ने क्षमता, नयाँ पुस्ताको भाषा बुझ्ने दृष्टि र पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्ने स्वभाव यी सबै गुण उनको राजनीतिक चरित्रमा समाहित छन् ।
त्यसैले आज प्रश्न केवल जित-हारको होइन ‘तनहुँले कस्तो राजनीतिलाई रोज्ने ?’ भन्ने हो ।
स्वार्थको राजनीतिलाई कि मूल्यको राजनीतिलाई ? क्षणिक लाभलाई कि दीर्घकालीन परिवर्तनलाई ? यस अर्थमा अबको चुनाव तनहुँका लागि साधारण निर्वाचन होइन, चरित्र र भविष्य रोज्ने अवसर हो ।
त्यसैले स्पष्ट रूपमा भन्न सकिन्छ- यसपटक तनहुँ जिल्लाले दीपकराज जोशीलाई जिताउनु पर्छ । यो जित केवल एक व्यक्तिको नभइ अनुशासन, नैतिकता र नि:स्वार्थ सेवाको जित हुनेछ ।
प्रतिक्रिया