ओली राजनीतिक रुपमा प्रस्तुत भइरहेका छैनन् । उनी शक्ति प्रदर्शन र प्रयोगमा जुन किसिमले लागिपरेका छन्, त्यसको अन्तिम परिणाम भनेकै गृहयुद्ध हुन सक्छ !
✍ राजेश ढुंगाना
एमाले अध्यक्ष केपी ओलीको दम्भ र हुंकारले गर्दा यो देशले इतिहासकै सबैभन्दा ठूलो क्षति ब्यहोरिसकेको छ । कुरा जेन्-जेड आन्दोलनमा भए/गरिएको नरसंहारको मात्र होइन, ओली जहिले-जहिले सत्तामा गए, त्यति-त्यति बेला र समयमा राष्ट्रलाई नोक्सानी नै भएको छ । उनको कार्यशैली, बोली र शासकीय दम्भकै कारण देशले क्षति ब्यहोर्नु परेको छ ।
यदि ओलीको घमण्ड, हुंकार र तुच्छता नभएको भए जेन्-जेड क्रान्तिमा ७६ जनाले शहादत प्राप्त गर्ने थिएनन् । वार्ता र सहमतिबाट सामाजिक सञ्जाल बन्दको समस्या समाधान गर्न नसकिने थिएन । वा, भूलवश अथवा जानी-जानी पनि त्यसमाथि प्रतिबन्ध लगाउनै हुन्थेन । तर, ओलीकै र केवल उनकै घमण्ड र क्षुद्रताले जेन्-जेड क्रान्तिको नतिजा उनी आफै सेनाको शरणमा पर्नुपर्ने परिस्थितिमा टुंगियो ।
रह्यो- भ्रष्टाचार अन्त्य र सुशासनको कुरा । त्यो भने केपी ओलीबाट हुनसक्ने सम्भावना नै थिएन । किनकि, कुशासनका लागि गन्ती गर्नैपर्ने एउटा खलपात्र र भ्रष्टाचारका नमूना आफै रहेका ओलीबाट भ्रष्टाचारको अन्त्य र सुशासनको सम्भावना नै थिएन । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध त तात्कालिक कारण मात्र थियो । मूल कुरा त, भ्रष्टाचारको समूल अन्त्य र सुशासनको थियो । त्यसैले जेन्-जेड आन्दोलन यही बेला नभए पनि पछि कुनै दिन हुनु स्वाभाविक र अवश्यम्भावी नै थियो ।
मुखाले ओलीको सत्ता आगमन जहिले पनि राष्ट्रका लागि हितकर रहेन । उखान–टुक्का र लगामबिनाको उनको बोलीले नेपाली जनता पछिल्लो समय आजित र आक्रोशित भइसकेका थिए, उनी प्रधानमन्त्री हुँदा । झन् पछिल्लो समय जब कांग्रेससँगको सहयात्रा उनले थाले, त्यसपछि त उनको उद्दण्डता र बितण्डाले अति नै चर्को रूप लियो । कतिपय समय त प्रधानमन्त्री पदको सामान्य मर्यादाको समेत ख्याल राखेनन् उनले । तर, त्यो पनि भूलवश नभएर अहंकारउन्मत्त भएर जानाजान नै हो ।
ओली सत्ताको यही पछिल्लो समय भ्रष्टाचारले चरम रूप मात्र लिएन । सुशासनको निर्मम समाप्ति समेत भयो । दुई तिहाइको दम्भमा जे पनि गर्न सकिन्छ र गर्न हुन्छ भन्ने गलत मान्यताले स्थापित हुन पायो । जसको निष्कर्षमा गएर जेन्–जेड विद्रोहमा अकल्पनीय र ठूलो मानवीय क्षति भयो– यो पनि ओलीकै उग्र दम्भ र घोर असहिष्णुताले । हालैको जेन्–जेड आन्दोलन र त्यसपछिको राजनीतिक परिदृश्यले ओलीको नेतृत्व क्षमता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको प्रतिबद्धतामाथि गम्भीर प्रश्नहरू खडा भएको छ ।
यतिबेला आएर ओली फेरि एउटा कपटपूर्ण चाल चलिरहेका छन् । बाहिर नदेखिनेगरी होइन, खुलेआम चुनावको विरोधमा उत्रिएका छन् । यसको लागि कुनै बस्नेत थरका पात्रलगायतलाई ओलीले जसरी युद्धमैदानमा उतारेका छन्, जसरी लडाकु दस्ता नै बनाएका छन्; त्यसले बताउँछ- ओली चुनाव होइन, बितण्डा मच्चाएर पुनः सत्ता कब्जाको षडयन्त्र गर्दैछन् !
ओलीको अहिलेको बोली र कर्मले एउटा गम्भीर स्थिति देखापरेको छ, त्यो हो- गृहयुद्ध । ओली राजनीतिक रुपमा प्रस्तुत भइरहेका छैनन् । बरू अहंकारी ओली शक्ति प्रदर्शन र प्रयोगमा जुन किसिमले लागिपरेका छन्, त्यसको अन्तिम परिणाम भनेकै गृहयुद्ध हुन सक्छ । हेक्का रहोस् ।
प्रतिक्रिया