गीतामाताको आराधना गर्दै पशुपतिनाथ क्षेत्रमा श्री गीता जयन्ति मनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुभाष चन्द्र जोशीको प्रमुख आतिथ्यता एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य-सचिव तथा मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन, पशुपतिनाथका मूलभट्ट नारायण भट्ट, श्री वेंंकटेश मंदिरका मठाधीश पद्मधराचार्यको विशिष्ट आतिथ्यतामा श्री गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालको तत्वावधान एवं गीता परिवार नेपाल, गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं, गीताप्रेस पुस्तक बिक्री केन्द्र बुटवलको व्यवस्थापनमा कार्यक्रम गीतामाताको आराधना गरी मनाइएको हो ।
गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरूको अनुवादको बारेमा जानकारी गराएका थिए । स्वागत मन्तव्यको क्रममा उनले गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा अनुवाद गराई प्रचारप्रसार र बिक्री-वितरण गर्ने कार्य भगवान् श्रीपशुपतिनाथको पावन क्षेत्रको परिसरमा रहेर होस् भन्ने गीताप्रेस गोरखपुरको चाहना रहेको हुँदा गीताप्रेस पशुपतिनाथ मन्दिर क्षेत्रमा सदैव रहिरहने व्यवस्थाको लागि श्री पशुपति क्षेत्र विकास कोषको सहयोग अपरिहार्य रहेको धारणा राखे ।

गीताप्रेस नेपालको स्थापनापछि हालसम्म ८० को हाराहारीमा पुस्तकहरू नेपाली भाषामा अनुवादित भएको सन् २०२६ कल्याण शताब्दी वर्षसम्म १०० भन्दा बढी पुस्तकहरूलाई नेपाली भाषामा प्रकाशित गराउने लक्ष्य रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा पुशपतिनाथका भट्ट नारायण भट्टले आशीर्वाद प्रदान गरे भने माथि उल्लेखित विशिष्ट अतिथिहरूले आ-आफ्ना सारगर्वित मन्तव्य दिएका थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसाद केन्द्र नेपालको तर्फबाट उपाध्यक्ष भरतकुमार तोदीले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रम संयोजक एवं महासचिव अञ्जनी नन्दन मारुद्वारा सञ्चालित कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, मारवाडी समाजका विभिन्न संघ संस्थाका पदाधिकारी, लब्धप्रतिष्ठित महानुभावहरू, विद्वतवर्गको उल्लेख्य उपस्थिति रहेका थियो ।
प्रतिक्रिया