सबै ‘तुरुप’ सकिएपछि ‘बाघ’बाट ‘मुसा’ !

सबै ‘तुरुप’ सकिएपछि ‘बाघ’बाट ‘मुसा’ !


प्रचण्डले माओवादी पार्टी ‘डिलिट’ गरे । सिद्धान्त, विचार पोले । संगठन, पार्टी र दर्शन ‘खाल्टामुनि’ हाले । पार्टीलाई ‘दशटाउके रावण’ जस्तो एक दर्जनबढी ‘टाउका’हरूको संगठन बनाएको भए पनि उनका सबै ‘शक्ति डिलिट’ भइसकेका छन् । युद्धकालमा सशस्त्र सङ्घर्षबाट ‘सिँहदरबार कब्जा’ गर्ने उद्घोष गर्ने प्रचण्ड युद्धबाट ‘पार नलाग्ने’ भन्दै थाकेर २०६२ सालमा सात दलसँग १२बुँदे सहमति गरी तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेतसँग शान्ति-सम्झौता गर्न आइपुगे ।

प्रचण्डले युद्धमा मात्र होइन २०६४ सालको संविधानसभाको निर्वाचनपश्चातका केही वर्ष आफूलाई ‘बाघ र चील’ र अरुलाई ‘स्याल र कुखुरा’ भन्दै होच्चाउँदै आए । २०६४ सालमा प्रत्यक्षतर्फ एक्लै एक सय बीस सिट जितेको माओवादीको ओरालो यात्राको अन्तिम पत्ता र किस्ता २०८१ साल असार ३१ गते शितलनिवासमा प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीले शपथ खाएपछि उनका सबै तुरुप खतम भए । त्योबेला पनि प्रचण्डको अनुहार ‘कागती निचोरे‘को जस्तो देखिएको थियो ।

लोकतन्त्र, विधिको शासन, सुशासन र नागरिक अधिकारका मुद्दा एकातर्फ थन्क्याएर सत्ता खानको लागि मात्र ‘उथलपुथल’को भाष्य प्रयोग गर्ने प्रचण्डका सबै ‘तुरुप’ सकिएपछि ‘बाघ’बाट ‘मुसा’ भएका हुन् । मुलुकको संवैधानिक, कानुनी र राजनीतिक मार्गचित्र भए पनि खाली जहिल्यै ‘उथलपुथल’ मात्र गर्ने भन्दै आफूकेन्द्रित ‘संकुचित’ राजनीति गर्दै आएका प्रचण्डको गएको विगतको सत्ता अन्तिम किस्ता रह्यो । प्रचण्डले अब ‘यो जुनीमा’ सरकार र सत्ताको नेतृत्व गर्ने छैनन् ।

राजनीतिक, कानुनी र व्यवहारिक दृष्टिकोणले प्रचण्डको राजनीतिक र वैचारिक आधार सकियो । उनी सकिए । संगठन र त्यसको मूल आधार नै ध्वस्त भइसक्यो । अर्थात्, उनको विचार, झन्डा, डन्डा, पार्टी सबै सकियो । प्रचण्डसँग अब कुनै मुद्दा बाँकी छैनन् । जनतालाई ढाँट्नुसम्म ढाँटे । ढाँट्न अब कोही बाँकी छैनन् । प्रचण्डको पार्टीमा अब कुनै ‘आकर्षण र शक्ति’ बाँकी छैन । केवल काङ्ग्रेस-एमालेलाई ‘चर्काे गाली’ गर्दै टिकेका थिए । ‘जेन-जी विध्वंश’पछि अब त्यो पनि खतम भयो । गाली गर्ने मुद्दा पनि अब बाँकी रहेन ।

प्रचण्डसँग विगतमा भएका सबै ठूला नेता कोही पनि छैनन् । उनसँग ‘लोग्ने/स्वास्नी’को जोडा भएर पदीयलगायतका लाभ लिँदै आएका राज्यको ‘तरमारा’ वर्ग (क्रिमी लेयर)का नयाँ केही ‘दल नाममा टाउका’हरू जोडिएका छन् । यी मान्छे अर्काे चुनावसम्म टिक्दैनन्, सकिन्छन् । यसको सीधा राजनीतिक अर्थ के हो भने प्रचण्डले अबको चुनावमा प्रत्यक्षतर्फ एकै सिट पनि जित्दैनन् । ‘उथलपुथल’ भन्दै कहिले काङ्ग्रेसलाई र कहिले एमालेलाई ‘बेबकुफ’ बनाउँदै आएकाले नेपाली राजीतिमा ‘बिहारी फटाहा’ र सर्कसको ‘चटके’ जस्तो भएका छन् ।

आफूलाई अप्ठेरो पर्दा ‘कम्युनिस्ट एकता’ र पूर्व माओवादी नेताहरूको ‘एकीकरण’का मुद्दा उठाउने प्रचण्डलाई बाबुरामले नराम्रोसँग झापड हान्दै आए र अर्कै दल गठन गरेका छन् । युद्धको वैचारिकी मात्र होइन मूल नेतृत्व नै प्रचण्डबाट पाखा लागिसकेको अवस्था छ । मोहन वैद्य किरण, रामबहादुर थापा बादल, सि.पी. गजुरेल, डा. बाबुराम, नेत्रविक्रम चन्ददेखि सबै नेताले प्रचण्डलाई ‘मरेको मान्छेलाई जुम्राले छोडेजस्तो’ गरी छाडिसकेका छन् । तथापि, प्रचण्ड अनेक नाममा ‘दश÷पन्ध्र टाउका’ जोडेर ‘राजनीतिको रावण’ बन्ने बौलट्ठीपूर्ण सोचबाट अघि बढेका छन् ।

प्रचण्डले विगतमा यतिधेरै अपराध, हत्या, लुटपाट, पैसाको अपचलन, हिंसा र नहुने कार्य गरे, उक्साए वा हतियारको बलमा अन्याय गरे कि, सोही कारण अहिले सुरक्षाकर्मीको सहयोगबिना सार्वजनिक मञ्चमा जानसक्ने अवस्था रहेन । प्रचण्डका पूर्वसेनाबाटै प्रचण्डलाई बढी खतरा देखिएको छ । अस्ति भर्खर विराटनगर विमानस्थलमा नागरिकबाट भौतिक हमला र अपशब्द प्रहार भयो । खासमा यी र यस्ता कारण, अवस्था, तथ्य आदिका कारण अब प्रचण्डको अघिल्तिर राजनीतिबाट विश्राम लिएर ‘सन्यासी’ बन्नेबाहेक कुनै विकल्प रहेको देखिन्न ।

नेपालीमा उखान नै छ नि ‘अति गर्नु, अतिसार चाहिँ नगर्नु’ भन्ने ! हो प्रचण्डले युद्ध र परिवर्तनको नारामा अतिसार नै गरे । हजारौँ गरीब र गाउँलेहरूलाई अब सिँहदरबार ‘कब्जा’ गर्ने भन्दै २०६७ सालमा भ्रममा पारे । युद्धमा नेपाली सेनाको ‘अफिसर’ हुने हो भन्दै चार कक्षा पढेकालाई बन्दुक बोकाएर मृत्युको मुखमा पुऱ्याए । सुराकी र युद्धका नारामा निहत्या वा आफ्ना पेशामा रहेका विरोधी दलका कार्यकर्ताको दिनदहाडै हत्या गराइदिए । बन्दुकबाट नजितिने युद्धमा मान्छेलाई ‘होमेर’ बालबालिका र सोझा जनजाति नेपालीहरूको ‘लासको लाइन’ लगाइयो । अर्थात्, युद्ध, संघर्ष र परिवर्तनको नारामा मान्छे मार्ने, मराउने र घाइते बनाउने अपराध बढी गरियो, भयो । सशस्त्र युद्धको अझैँ पनि वैधानिक, कानुनी र स्विकार्य समाधान भएको छैन । युद्धका नाममा भएका सबै अपराधलाई एकैपटक होलसेलमा (ब्याङ्केट एम्नेस्टी) दिने प्रचण्डको दाउ तुहिएको छ । यसकारण युद्ध अपराधमा प्रचण्ड उस्तैपरे अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) नेदरल्याण्डको हेग पुग्ने खतरा तीव्र रूपमा बढिरहेको छ ।

युद्ध र सशस्त्र संघर्षका मृतकका परिवार र पीडितले न्याय नपाउने हो भने प्रचण्ड हेग पुग्ने दिन टाढा देखिन्न । अर्काेतर्फ ५ हजार मैले मारेको हुँ भन्दै राज्यलाई ठाडो चुनौती दिएका प्रचण्डविरुद्ध सर्वाेच्चमा ज्ञानेद्रराज आरणसमेतले गरेको मुद्दा छिट्टै अन्तिम फैसलामा पेसी चढ्दैछ । त्यसमा पनि उनी दोषी देखिने प्रवल सम्भावना छ । उनको विध्वंशको नक्कल गर्दै भदौमा जेन-जी विध्वंश भयो । माओवादी युद्द अपराधमा कसैलाई कारबाही नभएकाले विध्वंश र अपराधिक घटना बढेका हुन् । यी र यस्ता अनगिन्ती कारण, अवस्था, स्थिति एवम् बाध्यताहरूले गर्दा अब प्रचण्डको नेपाली राजनीतिमा ‘रावण’ हुने अवस्था छैन । प्रचण्ड बाघबाट ‘मुसा’ बन्ने देखिन्छ ।