✍ उमेश रेग्मी
आज उनले मलाइ पकाउन भनिन् । ‘संधै उनले मात्र पकाउन पर्ने अरे ! उनि पनि अफिसबाट फर्किंदा थाकेकी हुन्छिन् अरे ! घरको काम गर्ने दायित्व उनको मात्र हैन अरे ! खाना पकाउ, लुगा धोउ, सरसफाई गर अनि अरु के-के हो के-के गर्दा-गर्दा दिक्क भैसकिन् अरे !’ उनको कुरा सुनेर एकछिन त झोक चलेको थियो, तर पछि सोचेँ- ठिकै त हो । उनको दिनको सुरुवात पनि मेरोजस्तै हुन्छ – अफिस जानेदेखि घर आउनेसम्म । फेरि घरको काम गर्नुपर्छ । लाग्यो कहिलेकाहीँ सहयोगको आशा गर्नु बेठिक होइन ।
मैले पकाउने निश्चय गरेँ ।
पहिलो प्रश्न के पकाउने ? धेरै बेर घोत्लिए पछि पनि दिमागमा उत्तर आएन । कहिले केहि पकाएको भए पो ! आफैलाई धिक्कार्न थालेँ । पुरुषप्रधान समाजको एउटा अर्को पुरुष भन्दा के फरक रहेछु र ! ‘तर हैन म फरक हुनुपर्छ’ भन्ने सोचले मलाइ केही न केही गरेर श्रीमतीको नजरमा अरु श्रीमानहरू भन्दा भिन्न हुन मन लागिरहेको थियो ।
पकाउने सुरसार गर्न थालेँ । भान्छा सफा राख्नुपर्छ भन्ने सुनेको सानैदेखि, पकाउनुभन्दा पहिले भान्छा सफा गर्न थालेँ । कुचो लगाइ पुछपाछ गरेर सिध्याएँ । के पकाउने भन्ने कुरा दिमागमा अझै पनि अल्मलिरहेको थियो । भात, दाल, तरकारी त संधै खाएको, केही भिन्न बनाएर उनको अगाडि आफ्नो फुर्ति बढाउन पाए हुन्थ्यो भन्ने विचारले ‘के पकाउने ?’ भन्ने प्रश्न सोचेभन्दा जटिल अनुभव भैरहेथ्यो ।
बजारबाट केही किनी ल्याएर आफैले पकाएको भनुँ कि भन्ने सोच नआएको पनि हैन, तर थाहा पाइन् भने अर्को उपद्रो होला भनेर त्यो सोचलाई त्यहीँ नै विश्राम लगाइदिएँ ।
मेरो अन्योलको बीचमा छोरी नाक खुम्च्याउँदै आइपुगी – ‘बाबाले पकाउने ? मलाइ त भोकै लागेको छैन आज, म त नखाने !’ मेरो लागि अझै चुनौती चुलिएझैँ लाग्यो । मनमनै सोचेँ- ‘यस्तो पकाउँछु कि अबदेखि बाबाले पकाएको मात्रै खान्छु भन्न परोस् ।’ घुमाइफिराइ कुरा त त्यहीँ आएर अड्क्यो- ‘के पकाउने ?’ पकाउन नआउनु पनि अभिसाप नै रहेछ । गाली गर्न थालेँ आफैलाई ।
अन्त्यमा निश्चय गरेँ, पहिलोचोटी दाल, भात र तरकारी नै पकाउन पऱ्यो, बिस्तार-बिस्तार अरु कुरा सिक्दै जाउँला !
उनले खाना बनाउने बेलामा मैले कति सहयोग गरिदिन्थेँ तर मेरो पालोमा चाहिँ कोही पनि भान्छा नछिर्दा रिसको पारो बढिरहेको थियो ।
अनेकौँ सोच, रिस र अन्योलको बीच मैले चामल भिजाएँ । वास्तबमै मैले पकाउन सुरु गरेँ…, वाह ! आफैदेखि गर्वित अनुभव भैरहेथ्यो । प्रेसरकुकरमा दाल बसालेँ र तरकारी बनाउनलाई आलु काट्न थालेँ । प्रायः भान्छाबाट कराउने श्रीमती आज कोठाबाट सोध्दै थिइन्- ‘तरकारी के बनाउने ?’ मेरो जवाफ बीचमै अड्क्यो- ‘आलु र …’ ! ‘हो त नि, आलु र के ?’ फेरि अल्मलिन थालेँ म । त्यति नै बेला प्रेसर कुकरले सिठी लगायो, उता भात बसालेको भाँडोमा पानी उम्लिन थाल्यो । कता हेर्नु केलाई सम्हाल्नु ? उनले पकाउँदा त यस्तो गाह्रो होला जस्तै लाग्दैनथ्यो, तर मलाइ सबै विपरीत महसूस भैरहेथ्यो ।
जसोतसो भात र दाल त पकाएर सिध्याएँ । अब आयो तरकारीको पालो । स्व. भैरब अर्यालको ‘आलु’ निबन्ध याद आयो – आलु त जेमा नि मिल्छ । उनको लेखाइको अर्थ अरु नै भएपनि यतिखेर मलाईचाहिँ सजिलो भयो आलुको साथी खोज्न । सँगै राखेको प्याज काट्न थालेँ । प्याज काट्दा आँखा पोल्छ भन्थे तर अनुभवचाहिँ थिएन । हे भगवान् ! कस्तो गज्जब हुँदोरहेछ । बलिन्द्रधारा आँशु झार्दै प्याज काट्ने काम पनि सकियो । आलु र प्याजको तरकारी जेनतेन बनाइयो । उनलाई खान आउ भनेर बोलाउनुभन्दा अगाडि कस्तो बनेछ भन्ने उत्सुकताले सबै कुरा चाख्न थालेँ ।
‘छि !’ भन्न पनि सकिनँ आफैले पकाएको तर खान पनि सकिनँ ।
मेरो दुई घण्टा लामो भान्छाको समय ब्यर्थ गएको पीडा अब कसलाई सुनाउनु, अनि उनलाई के खुवाउनु ?
मेरो प्रश्नको उत्तर कसैसँग छ कि !
प्रतिक्रिया