निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता


आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज (२३ मंसिर) गरेको शिष्टाचार भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन् ।

भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनस्र्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिएका बताइएको छ ।

सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरेका छन् । सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैधवस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिएका छन् ।