स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मंगलबार (२३ मङ्सिर)देखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिएका छन् ।
उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ । सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयका लागि छ वटा ‘प्रिफ्याव ब्लक’ बनाइदिएको छ ।
‘मन्त्रालयका सबै शाखा सर्न अझै एक महिना लाग्छ, तत्कालका लागि मन्त्री र दुई सचिव र दुई महाशाखाको काम सिंहदरबारबाट सुरु गरिएको हो’- उनले भनेका छन् ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका कारण रामशाहपथस्थित मन्त्रालयमा आगजनी भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयबाट मन्त्रालयले सेवा दिइरहेको थियो ।
प्रतिक्रिया