मृत्युको बारेमा सोच्नुभएको छ ?

मृत्युको बारेमा सोच्नुभएको छ ?


हामीलाई कतिपय कुरामा प्रायः लाग्ने गर्छ- म नभइ त यो काम हुँदैहुँदैन नि…, म छु र पो यो सब भइरहेको छ ! आफू नभए संसार चल्दैन झैँ गरी हाम्रा दौडधुप, ब्यक्त गर्ने विचार, काम, मान्छेलाई हेर्ने दृष्टिकोण, गर्ने ब्यवहार भइरहेका हुन्छन् । ‘आफू सधैं उस्तै रहने’ सोच र ब्यवहारबाट अघि बढ्दै जाँदा आफू अब यो संसारमा नरहन पनि सक्छु भन्ने ठाउँमा जब मानिस पुग्छ, उसलाई ठुलो पीडा हुन्छ । नसोचेको कुरा एक्कासी आइपर्दा आत्तिनु, डराउनु, समय कठिन लाग्नु स्वभाविक नै हो । किनभने, जीवनमा हामीले अध्ययन, काम, करियर, साथी, जीवनसाथी, सन्तान, बाबुआमा, भनौँ समग्र परिवार, आफन्त, घर-ब्यवहार, ब्यापार–ब्यवसाय अनेक कुराको बारेमा सोचेपनि आफ्नो मृत्युको बारेमा खासै साच्दैनौँ । हामीकहाँ मृत्युलाई लिएर कुराकानी, बहस, छलफल हुनुलाई सामान्य मानिँदैन पनि । तपाईंले कसैलाई ‘मृत्युको बारेमा कुरा गरौँ न’ भन्नुभयो भने ‘नचाहिने कुरा नगर है’ या ‘के कुरा गरेको यस्तो ?’ भन्ने जवाफ सहजै पाउनुहुन्छ ।

मानव-जीवनका सीमाहरू धेरै हुनसक्छन् । जिन्दगीको सीमा के हो भनेर कसैलाई सोध्यो भने मानिसपिच्छे आफ्नो जिन्दगीका फरक-फरक सीमाहरू हुनसक्छन् । किनभने मानिसले आफ्नो जिन्दगीको सिमाना आफैले तय गर्ने हो, परिधि आफैले कोर्ने हो । म यतिसम्म गर्न सक्छु, यतिसम्मको सिमाना तोड्न सक्छु या सक्दिनँ आफैले सोच्ने र अभ्यास गर्ने हो । फरक मानिसका फरक-फरक सिमानाबीच सबैलाई मिल्ने जिन्दगीको एउटा सीमा मृत्यु हो । जिन्दगीको सबैभन्दा ठुलो लिमिटेशन र सत्य… मृत्यु ! कतिले मृत्यु सीमा नभएर अनन्त संसार हो भनेर तर्क गर्न सक्नुहुन्छ । जुन कुरा सही पनि हो तर त्यस्तो अनन्त संसार हामी नरहेपछिको संसार हो भनेर परिकल्पनासम्म गर्न सकिन्छ, सुनिश्चित गर्न सकिँदैन । किनभने आजसम्म मृत्युपछि के हुन्छ भन्ने बारेमा कसैलाई पनि थाहा छैन । संसारको सबैभन्दा रहस्यमय कुरा पनि मृत्युपछिको संसार नै हो ।

सामान्यतया पूरा जिन्दगी बाँच्न पायो भने मानिस ७५ या ८० वर्षको आसपाससम्म सक्रिय रहन सक्छ । मुलतः जीवनको पछिल्लो समयको सक्रियता ब्यक्तिको स्वास्थ्यमा भरपर्छ । तपाईं ५० वर्ष पुग्नुभयो भने ७५ वर्ष पुग्न २५ वर्ष बाँकी रहन्छ । भरपुर जिन्दगी बाँच्नलाई तपाईंसँग समय कति थोरै रहन्छ । आधा समय त रात नै हुन्छ । सुतेर बित्छ म भन्दिनँ, किनभने सबै मान्छे पूरा रात नसुत्न सक्छन् । विगतको २५ वर्षलाई फर्किएर हेरौँ त २५ वर्ष यसै बितेर गएको थियो । उमेर बढ्दै जाँदा छोट्टिँदै गएको जिन्दगीलाई कसरी उपयोगी बनाउने भन्ने चुनौती हामी सबैलाई छ । हामी बिना योगदान, थाहै नपाइ अनायसै पृथ्वीमा आयौँ, आफ्नै परिवेशमा कुरा गर्दा समाजलाई के दियौँ ? के दिन सक्छौँ ? देशलाई के दियौँ ? के दिन सक्छौँ ? के हामी आफैचाहिँ आफूसँग खुशी छौँ ? खुशी हुनुको अर्थ सन्तुष्टि पनि हो, जुन कुराको प्रप्तिका लागि मानिसले जीवनभर दौडधुप गर्छ ।

खुशी र सुखको पछाडि दौडँदा दौडँदै खासमा यी कुरा पाउन के गर्नु पर्छ भन्ने बारेमा थाहै नपाइ प्रायः मानिसहरूको मृत्यु हुने गर्छ । जतिले बुझेका र अनुभव गरेका हुन्छन् तिनले सबैलाई बुझाउन सकिरहेका हुँदैनन् । यस्ता कुरा बुझाएर या सम्झाएर हुने नभइ मानिस स्वयंले महसूस गर्ने कुरा हुन् । मानिसको बारेमा कुरा गर्दा एउटा गजबको कुरा के छ भने अरुले आफ्नो बारेमा के सोच्छ, के गर्छ, के भन्छ भन्ने हामीलाई थाहा हुँदैन तर आफू के सोच्छु, के गर्छु, के बोल्छु भन्ने कुरा पूर्णरूपमा आफूमा निहित हुन्छ । हाम्रा सोचहरूलाई कति र केमा सीमित गर्ने, कति फैलाउने, कति खुम्च्याउने – आफ्नै हातमा छ । कतिपय मानिसका लागि बस्नलाई एउटा घर, यात्रा गर्न गाडी, विवाह, बालबच्चा हुनु जिन्दगीको ठुलो सफलता हुनसक्छ । त्यस्ता मानिसहरूले प्रायः भेटघाटमा घर, जग्गा, सम्पत्तिको कुरा गरिरहेका हुन्छन् । कतिपय मानिसका लागि यी जिन्दगीका आधारभुत कुरा हुन् । घरलाई जिन्दगीको शान ठान्ने मानिसहरू मध्ये कति त्यही घरभित्र बडो सकसपूर्ण जीवन बाँचिरहेका पनि हुन सक्छन् । आफ्नो भन्दाभन्दै कहिले कसको, कहिले कसको धेरै पुस्ताले त्यही एउटा घरमा जीवन ब्यतीत गर्न सक्छन् । आफैले बनाएपनि घरलाई मेरो भन्नु वास्तवमा ठुलै भ्रम हो । आफू रहुञ्जेल मात्रै आफ्नो हुने कुराहरू हामीसँग धेरै हुन सक्छन् ।

कतिपय अवस्थामा मानिस आफ्नै जिन्दगीको विरोधाभाषबाट गुज्रिरहेको हुन्छ । गर्ने चाहना एउटा हुन्छ तर अर्कै गर्नु परिरहेको हुन्छ । के सोचिएको हुन्छ, परिस्थितिले अर्कै मोडमा पुऱ्याइरहेको हुन्छ । कहिलेकाहीँ हामीलाई कुनै काम गर्दागर्दै म त यस्तो काम गर्न जन्मिएको होइन जस्तो लाग्छ तर गर्नु परिरहेको हुन्छ । यस्तो मान्छेसँग बस्न हुँदैन भन्ने लाग्छ तर बस्नु परिरहेको हुन्छ । कस्ता कस्ता प्राज्ञिक परीक्षामा उपल्लो नम्बर ल्याएर पास भएका मानिसहरू जिन्दगीले लिने परीक्षामा अनुत्तीर्ण भएर निराश जीवन बाँचिरहेका हुन्छन् । हामी जुनसुकै सार्वजनिक पदमा पुगौँ या नितान्त ब्यक्तिगत जीवन बाँचौं – समयले पल-पलमा परीक्षा लिइरहेको हुन्छ । आफैसँगको परीक्षामा उत्तीर्ण हुन सक्नु जिन्दगीको ठुलो सफलता हो । अनेकौँ सैद्धान्तिक र ब्यवहारिक परीक्षा पास गरेर माथिल्लो स्थान हासिल गरेका मानिस पनि कतिपय अवस्थामा आफैसँग भने पराजित भइरहेका हुन्छन् ।

स्वास्थ्यलाई हानी गर्ने चुरोट, रक्सी जस्ता आफैले सिर्जना गरेका लत छोड्ने कुरामा समेत मानिसहरू प्रायः असफल भइरहेका हुन्छन् । अनि तिनै मानिसले स्वस्थ जीवनको कुरा गर्नु परिरहेको हुन्छ । अरुलाई मानसिक स्वास्थ्यको परामर्श दिने डाक्टरले आत्महत्या गरका उदाहरण पनि हामीसँग छन् । हरेक मानिसलाई आफ्नो स्वतन्त्रता प्रिय हुन्छ । उ कहाँ जान्छ, कसलाई भेट्छ, के गर्छ, कोसँग संगत गर्छ जस्ता कुरामा अरुले चासो नराखिदिउन् भन्ने लाग्छ । तर आफूचाहिँ पति, पत्नी या आफ्ना निकटवर्तीहरूसँग यिनै कुराको पछाडि लागिरहेको हुन्छ । यी सबै कुराहरू जिन्दगीका विरोधाभाष हुन, जुन विरोधाभाष थोरै-धेरै हामी सबैसँग हुन्छ, छ ।

मानिस जतिसुकै पढेलेखेको, पदमा पुगेका, धन-सम्पत्ति भएको, नभएको, विद्वान्, ज्ञानी या मुर्ख जे भए पनि हामी कति समयका लागि यो पृथ्वीमा छौँ या हामीसँग कति समय छ भन्ने कसैलाई थाहा हुँदैन । हरेक मानिस एक दिन मर्छ तर कहिले मर्छु भन्ने थाहा हुँदैन । कहिले मरिन्छ भन्ने समय मात्रै थाहा नपाउनुपर्नेमा मर्नुपर्छ भन्ने नै थाहा नपाएजस्तो गर्नु मानवजीवनको अर्को वास्तविकता हो । विगतमा राम्रो काम गरेकाहरूलाई हामी अहिलेसम्म पनि सम्झिरहेका छौँ । कसैले निर्माण गरेका भवनहरूमा बसेका छौँ । कसैले संघर्ष गरेर ल्याएको स्वतन्त्रता उपभोग गरिरहेका छौँ । हाम्रो आफ्नो दायित्वचाहिँ के हो त ? हामी सबै राष्ट्रिय भूमिका निर्वाह गर्ने स्थानमा छैनौँ । हरेक मानिसको जीवनमा त्यस्तो अवसर आउँदा पनि आउँदैन । जतिलाई प्राप्त छ उनीहरूलाई मृत्युअघि नै मैले यो देशबाट बाहिरिँदै गरेका युवालाई आफ्नै देशमा गरिखाने ठाउँ बनाउन र नीति-नियम तथा कानूनको देश भनी चिनाउनुका लागि काम गर्नु आवश्यक छ । जीवन र मृत्युलाई लिएर चिन्तनमनन गर्ने मानिसले आफूसँग समय सीमित छ भनेर बुझेको हुन्छ । जीवनका सीमितताहरूको ज्ञानले मानिसलाई बाँच्न त सहज बनाउँछ नै केही राम्रा काम गरिहालुँ भन्ने पनि बनाउँछ ।

यो संसार जति बुझ्न खोज्यो त्यति नै आश्चर्यजनक र रहस्यमयी छ । हामीले गहिरिएर बुझ्न खोजे पनि जिन्दगीको समय सकिन्छ, वास्तै नगरे पनि सकिन्छ । हामीले लिइरहेको सास अक्सिजन हो भनेर थाहै नपाइ कतिले यो संसार छोडेर गए । हामीले केही बुझ्नु/नबुझ्नुमा स्वयंलाई फरक परे पनि समयलाई केही फरक पर्दैन । बुद्धले कर्मसँगै सोचलाई पनि त्यत्तिकै महत्व दिनुभएको छ । जुन कुरा कृष्णले गीतामा पहिल्यै भन्नुभएको थियो । कृष्णले महाभारत युद्धमा अर्जुनलाई कर्म र प्रारब्धको विषयमा बताउँदै भन्नुभएको छ- हामीले गर्ने राम्रो/नराम्रो सबै काम कर्म हो । हरेक कर्मको प्रतिफल हुन्छ । राम्रो कामको प्रतिफल राम्रै हुन्छ र नराम्रो कामको प्रतिफल नराम्रै हुन्छ । हामीले गरेको कामको फल नै प्रारब्ध हो । आफैले गरेको कामको प्रतिफल भएका कारण प्रारब्ध टर्दैन । अघि या पछिको कुरा हो, तर मानिसले प्रारम्ब्ध भोग्नैपर्छ । मृत्युपछि स्वर्ग र नर्कको परिकल्पना गर्नुको कारण पनि बाँचुन्जेल राम्रो काम गरुन् भनेर नै हो जस्तो लाग्छ ।

महाभारत युद्धको अन्त्यपछिको महाप्रस्थानमा द्रौपदी, सहदेव, नहकुल, अर्जुन, भीम स्वर्ग जान पाएनन्, किनभने उनीहरूले गरेको काम र सोचमा कुनै न कुनै स्वार्थ लुकेको थियो । जिन्दगीभरी आफ्नो स्वार्थमात्रै सिद्ध गर्ने हो भने मृत्युपछि पनि स्वर्गमा स्थान र अनन्त शान्ति पाइँदैन भन्ने सन्देश हो यो । अरुको अपमान, प्रतिशोध, अहङ्कारले न ब्यक्तिलाई शान्ति दिन्छ न त मुलुकलाई । सर्वसाधारण ब्यक्तिको हकमा यस्ता कार्यले उ र उसको परिवारलाई मात्र क्षति पुऱ्याउँछ तर सार्वजनिक ओहदामा बसेका मानिसका स्वार्थी क्रियाकलापले सम्बन्धित क्षेत्र र मुलुकलाई नै क्षति पुऱ्याउँछ, पुऱ्याइरहेको पनि छ ।

महाभारतमा यक्षले युधिष्ठिरलाई गरेका प्रश्नहरूमध्ये एक थियो- सबैभन्दा ठुलो आश्चर्य के हो ? जवाफमा युधिष्ठिरले भनेका छन्- ‘मृत्यु जीवनको अन्तिम सत्य हो तर मानिसहरूलाई आफ्नो जीवनको अन्तिम सत्य मृत्यु हो भन्ने लाग्दैन, त्यो नै सबैभन्दा ठुलो आश्चर्य हो ।’ हो, यो ठुलो आश्चर्य धेरै/थोरै हामी सबैमा लागु हुने गरेको छ । यो पङ्क्तिकारका एक साथीले ‘तिमी कस्तो मृत्यु चाहन्छौ ?’ भनेर सोध्दा झसङ्गै भएकी थिएँ । त्यसअघि मृत्युको बारेमा कुराकानी गर्नुपर्छ भन्ने लागेपनि आफ्नो मृत्यु यसरी होस् भनेर कहिल्यै सोचेकी रहेनछु । यो कुराले धेरैबेरसम्म मष्तिष्कमा ठाउँ लिएको थियो । मृत्यु-चर्चाले जीवन निराश बनाउने धारणा राख्नेहरू पनि छन्, तर मृत्युको आत्मसातले मानिसलाई निराश होइन सहजरूपमा बाँकी जीवन बिताउन मद्दत गर्छ । यो पृथ्वीमा आफ्नो समय थोरै भएकाले केही राम्रो काम गरुँ भन्ने प्रेरणा दिन्छ ।