दुर्गा सुवेदीलाई बिन्ती-पत्र !

दुर्गा सुवेदीलाई बिन्ती-पत्र !


आदरणीय दुर्गा सुवेदी दाइ !

प्रधानमन्त्री निवास, बालुवाटार काठमाडौं ।

सम्भवतः म तपाईंको स्मरणमा हुन पनि सक्छु अथवा नहुन पनि सक्छु । तर, एक ऐतिहासिक क्रान्तिकारी पात्रका रूपमा म भने तपाईंलाई चरम रूपको आदर गर्दछु । मेरा अत्यन्त प्रिय नेता प्रदीप गिरिसँग भेट्न जाँदा मैले धेरैचोटि तपाईंलाई उहाँको निवासमै समेत भेटेको छु र शायद हाम्रो प्रत्यक्ष भेट नेपाली कांग्रेसको पोखरा महाधिवेशनपछि भएको छैन । तर, मैले यो पत्र मार्फत नै सही तपाईंसँगको भेटघाटलाई ‘निरन्तरता’ दिने निश्चय गरेको छु ।

क्रान्तिका निमित्त प्लेन अपहरणको प्रत्यक्ष रोमाञ्चक राजनीतिदेखि प्रधानमन्त्री निवासको अप्रत्यक्ष यात्रासम्मको राजनीतिक यात्रामा तपाईं शायद यतिबेला अझ रोमाञ्चित भएको हुनु पर्दछ । अप्रत्यक्ष नै सही, तपाईं यतिबेला सत्ताको रोमाञ्चकतालाई भोग गरिरहनुभएको छ । सत्ता आफैमा रोमाञ्चक हुने गर्दछ ।

तथापि, मेरो कुराको मूल चुरो यो होइन । म भन्छु, तपाईं जस्तो ऐतिहासिक क्रान्तिकारी पात्रले आफ्नी श्रीमती प्रधानमन्त्री सुशीला कार्की सुवेदीलाई अनौपचारिक नै सही; के कस्तो सल्लाह दिइरहनुभएको छ ? – भन्ने मेरो चासो र चिन्ता दुबै हो । निश्चय नै तपाईं जस्तो राजनीतिक व्यक्ति बालुवाटारमा ह्वीस्कीको चुस्की लिएर राम्रा-राम्रा सिनेमा हेरेर बस्नु हुन्छ भन्ने कुरा मलाई पत्यार छैन ।

म स्मरण गराउन चाहन्छु- प्रधानमन्त्री भएपछि ‘महारानी’ हुने यात्रामा हिँडेकी सुशीला कार्की सुवेदीको इमेज र उचाइ ह्वात्तैसँग घटेको छ । तपाईंले यो सत्यको हेक्का राखेर आफ्नै अर्धाङ्गिनीलाई सम्झाउने-बुझाउने गर्नुभएको छैन भन्ने असत्यलाई मैले सत्य मान्नु पर्ने हो ? वा, तपाईंकै अप्रत्यक्ष सल्लाह सुझाव र निर्देशनमा सुशीलाजीले आफ्नो दायित्वको बाटो बिराउनु भएको हो ? यतिबेला यो प्रश्न यक्षरूपमा राजनीतिक वृत्तमा उठिरहेको छ ।

इतिहास निर्मम हुन्छ, यसले कसैलाई छोड्दैन । सुशीला कार्की सुवेदीले जेन्-जेड क्रान्तिको बलमा सत्ता प्राप्त गर्नुभएको हो, यो कुरा हजार प्रतिशत सत्य हो । अन्यथा उहाँलाई प्रधानमन्त्री बनाउनुपर्ने कुनै खण्डखातिर थिएन । पौने १०० मान्छेको रक्तबलिदानबाट प्रधानमन्त्री सुशीला कार्की सुवेदीलाई तपाईंले सबैभन्दा पहिला यो सम्झाउनुपर्ने हो । तर, त्यस्तो केही देखिएन । देखिएन मात्र होइन, उहाँको बोली र कर्म जेन्-जेड क्रान्तिको उद्देश्य र लक्ष्यभन्दा ठीक विपरीत गयो । सिधै कुरा बुझ्दा हुन्छ- तीन महिनापछि सुशीला कार्की सुवेदीले केवल पश्चातापको आँशु रुनुको विकल्प रहने छैन । जसको कुनै माने, अर्थ र महत्व छैन ।

प्रधानमन्त्री हुनुअघि सुशीला कार्की सुवेदीको मुखारविन्दबाट सदैव र बारम्बार ‘भ्रष्टाचारहरूलाई जेल हाल्नुपर्छ’ भन्ने कुरा सुनिन्थ्यो । तर, प्रधानमन्त्री बनेको मध्यरातदेखि नै उहाँको विवेक किन अलप भयो, बोली किन फेरियो ?- नेपाली जनता उहाँलाई प्रश्न गरिरहेका छन्, जो अत्यन्त जायज छ । यो देशमा कसैले फेरि भ्रष्टाचार वा राष्ट्रदोहन गर्ने हिम्मत गर्न नसक्नेगरी भ्रष्टाचारीहरूलाई न्यायको कठघरामा उभ्याएर दण्डित गर्ने ठूलो अवसर प्रधानमन्त्री कार्कीले गुमाउनु मात्र भएको छैन, पुराना भ्रष्टहरूलाई चोख्याउनु भएको छ । यति मात्र गरिदिनुभएको भए उहाँ सन्त नेता कृष्णप्रसाद भट्टराईपछिको ऐतिहासिक प्रधानमन्त्री हुनु हुने थियो । तर, उहाँ त्यसमा चुक्नुभयो । महान जेन्-जेड क्रान्तिलाई धोका दिएर एक थान प्रधानमन्त्री पद साट्नुभयो । इतिहासले यसका लागि उहाँलाई कहिल्यै माफी दिने छैन ।

भ्रष्टाचारीहरूलाई दण्डित गर्नुपर्ने जेन्-जेड क्रान्तिको एउटा मुख्य मागलाई सुशीला कार्की सुवेदीले धोका दिएर पुनः भ्रष्टहरूकै ‘पाउ’मा शासनसत्ता सुम्पने जो नियत र बेइमानी राखेजस्तो देखिएको छ, भोलि त्यो कसुरबाट सुशीला कार्कीले उम्कने ठाउँ छैन । भलै अर्को क्रान्ति पर्खनु पर्ने किन नहोस्- जुन हुन्छ, हुन्छ ।

हाललाई यत्ति नै लेखें, दुर्गा दाइ !