पञ्चाङ्ग : पर्व सुधार कि बिगार ?

पञ्चाङ्ग : पर्व सुधार कि बिगार ?


व्यवहारमा पात्रो भनेर चिनिने पञ्चाङ्ग हाम्रा सनातन परम्पराका रिति स्थितिहरूलाई अँध्यारोमा हिँडेका व्यक्तिलाई बत्तीले बाटो देखाएजस्तै गरेर बाटो देखाउने काम गर्दछ । अर्थात् पञ्चाङ्ग वेदले ‘यसो गर, उसो गर’ भनेका नियमहरूको मार्गनिर्देशक हो । सनातन धर्मका आधारभूत मूल ग्रन्थ वेदको मुख्य अङ्ग ज्योतिषलाई आँखा रूपमा शास्त्रहरूले विवेचना गरेका छन् । त्यसैले ज्योतिष अन्तर्गत बन्ने पञ्चाङ्ग पनि वेदको आँखा रूपमा नै विराजमान भएर रहेको छ । धेरै पहिला ऋषिमहर्षीहरूको बुद्धि सूक्ष्म रूपमा रहँदा यसलाई वेदभित्रकै मन्त्र रूपमा देख्दथे । तर जब-जब हामी मानिसहरूको बुद्धि स्थूल हुँदै गयो र वेदका कुराहरू बुझिने अवस्था भएन अनि ती मन्त्रहरू परमात्माका कृपापात्र ऋषिमुनीहरूले पुराण र ज्योतिषशास्त्रका ग्रन्थहरू प्रकट गरे । अर्थात्, सृष्टिको सुरुवात चरणमा वेद रूपमा रहेको ज्योतिष विस्तारै वेदाङ्ग सिद्धान्त हुँदै आएको अवस्था छ ।

अहिले चलेको सिद्धान्त ज्योतिष वेदमा दुधमा घ्यू जस्तै गरेर रहेको छ । त्यसलाई मानिसहरूले बुद्धिअनुसार प्रकट गरेका थिए । कुनै बेला वेदाङ्गज्योतिषका रूपमा लगधले लेखेको भनेको स्थूल गणित कुनै निश्चित स्थानमा चले तापनि पुनः पुरानै ढङ्गले सिद्धान्तरूप नै समग्र रूपमा चल्न गयो । यो सिद्धान्तज्योतिषको विषय साह्रै गहिरो र सूक्ष्म भएकाले पनि होला कुनै स्थान विशेष र बुद्धिविशेषका लागि वेदाङ्गज्योतिषले पनि स्थान पाएको थियो । त्यो वेदाङ्ग ज्योतिष पनि पञ्चसिद्धान्तिकामा सङ्ग्रह गरिएको वशिष्ठ सिद्धान्तादि पाँच सिद्धान्तका रूपमा विकसित हुँदै वर्तमानको सिद्धान्तज्योतिषमा आएको हो । यो पञ्चाङ्गको क्षेत्र नै सिद्धान्तज्योतिषको भएकाले यहाँसम्म यसका कुरा पनि गरियो ।

पञ्चाङ्गका विषयमा सिद्धान्तज्योतिष विषयका अध्यापक श्याम खनाल यसरी लेख्नुहुन्छ- ‘आकाशमा रहेका ग्रहहरूलाई आफ्ना सम्बन्धित स्थानमा देखिएका आधारमा पञ्चाङ्गहरू बनेका हुन्छन् । हुन त त्यसैले आकाशमा रहेका ग्रहहरूको स्थितिको प्रतिबिम्ब नै पञ्चाङ्ग हो । यस विषयलाई माथि पनि भनिसकियो । तर पनि पाँचओटा अङ्ग मात्र मिलेर बनेको हुनाले नै पञ्चाङ्ग भनिएको भने होइन । अर्थात् यस अन्तर्गत पञ्चाङ्गभित्र पर्ने तिथि, योग, नक्षत्र, करण र वारका साथसाथै सूर्योदय आदि गरिएका अरू पनि धेरै महत्वपूर्ण विषयवस्तुहरू रहेका हुन्छन् । वेदको आँखाका रूपमा परिभाषित ज्योतिषले वेदको मुख्य प्रयोजन यज्ञकर्मको शुभाशुभ मार्गलाई कालका समयका आधारमा देखाउने हुँदा कालसमय अनिवार्य रूपमा शुद्ध हुनुपर्दछ । सही समय र शुभाशुभ ग्रहहरूको सही स्थितिमा गरेका यज्ञकर्महरूले मात्र वेदोक्त शुभ फल दिने हुनाले सनातन परम्परामा समय र ग्रहस्थितिलाई नै मुख्य मानिएको हो । यसका लागि विभिन्न समयमा विभिन्न आचार्यहरूले ग्रहसाधन गर्ने तरिका भिन्न-भिन्न प्रकारले प्रस्तुत गरेका देखिन्छन् ।

सिद्धान्त र तन्त्र ग्रन्थहरू त ग्रहसाधनका विधिमा लगभग मतैक्य रहे पनि करणग्रन्थहरूमा दिइएका नियममा गरिएका ग्रहसाधनका फलमा भने केही अन्तर देखिने गरेको छ । यसको मुख्य कारण भनेको निश्चित समयलाई भनेर बनाइएका ग्रन्थहरूको लामो समयसम्म प्रयोग हुनु हो । तर करणग्रन्थहरूका रचनाकारहरूले नै करणग्रन्थहरू विभिन्न समयमा संशोधित हुँदै जानुपर्दछ भन्ने कुरालाई जोड दिएका छन् । यसैले पनि पञ्चाङ्ग संशोधनसँग सम्बन्धित गणितीय विषयको चर्चा पनि परापूर्वकालदेखि नै विद्वान्हरूमा माझमा चल्ने गरेको देखिन्छ । अतः पञ्चाङ्ग संशोधनको कुरो अर्वाचीन नभई प्राचीन नै हो । विषय प्रसङ्गअनुसार यसरी पञ्चाङ्ग संशोधनका कुराहरू पञ्चाङ्ग संशोधन एवम् ग्रहहरूलाई गणितअनुसार नै दृष्ट्युपलब्ध गराउनु पर्ने विषयको चर्चा नेपालमा पनि चलिरहेकै देखिन्छ ।’

यहाँसम्मका कुराहरूबाट पञ्चाङ्गका बारेमा हामी सबैले बुझ्यौँ पनि । अब यस विषयमा विभिन्न समयमा आउने विवादका बारेमा पनि बुझ्नुअघि सूर्यसिद्धान्तका ज्योतिर्विदहरूका कुरा हेरौँ । सूर्यसिद्धान्त सत्ययुगका अन्त्यमा अर्थात् आजभन्दा लगभग २२ लाख वर्षअघि बनेको भनिएको छ । पहिले-पहिले नेपालमा प्राचिन सूर्यसिद्धान्तमा आधारित भास्वती ग्रन्थका आधारमा पञ्चाङ्ग गणना गर्ने प्रचलन पनि थिए । नेपालमा प्राप्त प्राचिनतम सिद्धान्तज्योतिषग्रन्थ सुमतितन्त्र पनि सूर्यसिद्धान्तमै आधारित थियो । इतिहासलाई केलाउँदा ब्रह्मसिद्धान्त, आर्यसिद्धान्तका ज्योतिषहरूले पनि सूर्यसिद्धान्तको प्राचिनतालाई स्वीकारेको देखिन्छ ।

सूर्यसिद्धान्तको उच्चतम ज्ञान र रहस्यको बोध गरी तयार गरिएका विभिन्न पात्रोहरूका गणना र दर्शनको गहिराइलाई सहजै बुझ्न र अनुशरण गर्न नसक्ने जनहरूका लागि सहज हुने गरी वेधशालामा बसेर गणना गर्न वि.सं. १९१० मा महाराष्ट्रमा जन्मिएका ज्योतिषी वेङ्कटेश बापूजी केतकरले गत शताब्दीमा प्रयास गरेका थिए । उनले आकाशमा ग्रह नक्षत्रको वास्तविक स्थितिलाई आधार मानी ज्योतिर्गणितम्, केतकीग्रहणितम्, नक्षत्रविज्ञानम् इत्यादि धेरै ग्रन्थहरूको रचना गरेर प्रकाशित पनि गराएको पाइन्छ ।

अतः पृथ्वीको अक्षजन्य एवम् वर्षजन्य घुमाइ तथा आकाशमा रहेका ग्रहहरूको पनि गति भएका कारणले गर्दा बेलाबेलामा ग्रहको देखाइमा हामीले फरकपनको अनुभव गर्दछौँ । यही कारणले पनि तत्काल नभएर समय समयमा हामीले साधन गरेका ग्रहहरूलाई हाम्रो दृष्ट्युपलब्ध गराउनका लागि पनि हामीले विशेष संस्कार गर्ने गरेका छौँ । यस विषयमा पञ्चाङ्ग संशोधन गरिने विषय भनेको कुनै विदेशी विधिले नभई हाम्रै विधिले गर्नुपर्दछ । धर्मशास्त्रले भनेका कुराहरूको फल प्राप्तिका लागि हाम्रा पञ्चाङ्गहरू पनि हाम्रै पद्धतिले बनाउने र हाम्रै पद्धतिले नै बेलाबेलामा संस्कार-संशोधन गरिराख्नुपर्दछ भन्ने विषयलाई सर्वप्रथम बुझ्नु जरुरी छ ।

अहिले बजारमा विशेष गरेर पञ्चाङ्ग संशोधनको पाटो दृक्पञ्चाङ्गका नाममा गरिने हल्ला भारतमा लगभग २०० वर्षअघिदेखि भने नेपालमा पनि लगभग ६० वर्षअगाडिदेखि चलिरहेको छ । पाश्चात्य पद्धतिको दृग्गणित अनुसारका पञ्चाङ्ग बनाउनुपर्दछ भन्नेहरूलाई पनि दृग्गणितका कुरा राम्रोसँग थाहा छैन । तर पनि विषयवस्तु नबुझिकनै हल्लाका भरमा नै हामीलाई दृग्गणित पञ्चाङ्ग चाहियो भन्नेहरूलाई त्यतिबेलै पनि ज्योतिर्विद् नयराज पन्तले स्पष्ट रूपमा बुझादिनुभएको थियो । यी कुरा उहाँद्वारा लेखिएका लेख रचनाबाट स्पष्ट नै हुन्छ । सायद नयराज पन्तजस्ता विद्वान् नेपालमा नजन्मिएका भए यतिखेरसम्म संशोधनका नाममा महाविद्वान्हरूले हाम्रा पञ्चाङ्गहरूलाई हलो काटी मुहुरोमा परिणत गराइसकेका हुन्थे । तर त्यतिखेरको रोग नेपालमा पुनः चल्न लाएको देखिन्छ । नेपालमा पनि विद्वान् भनिनेहरू पनि विदेशीहरूको चङ्गुलमा फसी दृग्सिद्ध पञ्चाङ्गका नाममा पाश्चात्य पद्धतिका जहाजी पञ्चाङ्गहरूको अनुकरण गर्न पुग्दै छन् । त्यस्तै कुराहरूका आधारमा हाम्रो नेपालमा पनि पाश्चात्य पद्धतिका आधारमा बनेका पञ्चाङ्गहरूलाई नै आप्तवचन मानी तिनलाई नै दृग्सिद्ध पञ्चाङ्ग मान्ने प्रचलन चलाउन पुनः खोजिएको छ । सूर्यसिद्धान्तका आधारमा चलेको हाम्रो पञ्चाङ्गले विकृत रूप लिनबाट नयराज पन्तका पालामा बचे पनि अहिले आएर हाम्रा पञ्चाङ्गलाई पुनः त्यही रोगले च्याप्न थालेको छ । अर्थात् नेपालमा पुनः पाश्चात्यपद्धतिका दृक्सिद्ध पञ्चाङ्गको नबुजी नबुझीकन झ्याली पिट्नेहरूको समूह बढ्दै गएको देखिएको छ । यसो हुनुमा खनालजीको कुरो यसप्रकार रहेको छ- ‘गहिरो अध्ययन गरेका संस्कृत र गणित क्षेत्रका विद्वान्भन्दा पनि उही येन केन प्रकारेण प्रसिद्धपुरुषो भवेत् भन्नेहरू यस कुरामा धेरै अगाडि देखिइरहेका छन् । कसैले महिनालाई एक महिना अगाडि सार्ने कुरा गर्दछन्, कसैले चाहिँ यी सनातनदेखि चल्दै आएका विषयलाई म्लेच्छ र यवन भनेर दोषारोपण गर्ने गरेका छन् । यी सबै हुनुको मुख्य कारण नै गणितज्योतिषको विषयमा जानकार नभएर नै हो । खगोलीय स्थितिको मुख्य आधार नाडीवृत्त (आकाशलाई आधा गर्ने वृत्त) र क्रान्तिवृत्त (सूर्यको वार्षिक हिँडाइ भएको देखिने वृत्त) का सम्पात स्वरुप गोलसन्धिका विषयमा नै पाश्चात्य र पौरस्त्यका बीचमा विमति छ भने अनि उनीहरूका आधारमा हाम्रा पञ्चाङ्गको संशोधन हुने कुरा भएन नै । त्यसैले यस खालका हल्ला पानीका फोका सरह भएकाले कालान्तरमा फुटेर नै जाने हुन् ।’

सूर्यसिद्धान्त र केतकीयग्रहगणितम्को सम्बन्धमा कुराकानीको क्रममा खनालजीको आग्रहअनुसार मैले नयराज पन्तद्वारा लिखित लेख जसलाई नेपाल प्रज्ञा-प्रतिष्ठानबाट खनालजीकै सम्पादनमा प्रकाशन गरेको नयराज पन्तका ज्योतिषीय चिन्तन भन्ने पुस्तकभित्रबाट पढेँ । त्यहाँ उहाँले परम्पराबाट चलिआएका विषयमा बाहिरी झगडा भित्र्याउनु हुँदैन भन्ने आधार दिएर प्रकाशन गर्नुभएको रहेछ । उक्त कुराले लेखकको ध्यान खिच्यो र थप विज्ञहरूको विचार र लेखहरू हेर्न पुगेँ ।

जनसेवा श्रीतृतीय-नेपाल-विद्याभूषण ‘क’ विभूषित सिद्धान्तज्योतिषाचार्य डा. वासुदेवकृष्ण शास्त्री भन्नुहुन्छ, ‘नेपालमा केही व्यक्तिहरू केतकीय पद्धति भनेर उफ्रिरहेका छन्, कोही पर्व सुधारको नाममा आइरहेका छन्, कोही नेपालको सनातन परम्परादेखि आएको पात्रो बिगार्न चाहिरहेका छन् । त्यसकारणले सचेत हुनुहोस् सावधान हुनुहोस् । केही वर्षदेखि नेपालको पञ्चाङ्गको परम्परागत गणना विरुद्ध धेरै मान्छेहरू संगठित रुपमा लागिरहेका छन् । नेपालका नाम कहलिएका केही मान्छेहरू यसमा आबद्ध भएको बुझिन्छ । सावधान ।’

सिद्धान्तज्योतिषाचार्य सूर्यनाथ पन्त भन्नुहुन्छ, ‘नेपालमा प्रयोग हुँदै आएको सूर्यसिद्धान्तलाई हेरफेर गरी केतकीय पद्धतिबाट पञ्चाङ्ग तयार गर्दा तिथि, योग, बार, करण, नक्षेत्रमा फरक पर्न जाने हुँदा यसबाट भारत र नेपालमा भिन्नता आई धार्मिक, सांस्कृतिक चाडपर्व र तिथिमा समस्या उत्पन्न हुने देखिन्छ । अतः सूर्यसिद्धान्तको आधारमा पञ्चाङ्ग तयार गर्नुपर्दछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले परापूर्वकालदेखि मान्दै आएको सूर्यसिद्धान्तीय ग्रहगणना पद्धतिलाई स्वीकार गर्नुपर्दछ भन्ने आफ्नो विचार राख्नुभएको छ ।

ज्योतिर्विद् अनन्त ढकालका पनाति बडा महाराजधिराज पृथ्वीनारायण शाहका सल्लाहकार ज्योतिर्विद् कुलानन्द ढकालले वैदिक कालगणनाका संरक्षण गर्दै मूल वैदिक परम्पराभित्रबाट तयार गरिएको सूर्यसिद्धान्त अनुसार स्वदेशी मूल र कुल परम्परालाई जगेर्ना गरेका थिए । श्री ५ पृथ्वीनारायण शाह र कुलानन्द ढकाल सहितका ज्योतिर्विद्हरूले वैदिक कालगणनाभित्रबाट सूर्यसिद्धान्तको पुनर्जागरण गरेका थिए । तत्कालिन समयमा त्यसको प्रभाव भारतमा समेत परेको थियो । – पं. चेतनाथ अधिकारी, नियमसंग्रह

त्यस्तै ज्योतिर्विद कमलाकर भट्टले सिद्धान्त तत्वविवेक ग्रन्थमा अदृष्य फलसिद्धिका निम्ति गरिने कर्मका निम्ति सूर्यसिद्धान्तलाई नै अनुशरण गर्नुपर्ने र देखिने कुराहरूका लागि दृक्सिद्धान्तबाट गर्नु भनेर लेख्नुभएको छ ।

वि.सं. २०३८ कार्तिक १६ गते आइतबार बसेको पञ्चाङ्ग विषयक सभामा वेधशाला प्रमुख पण्डित केशवराम जोशीद्वारा प्रस्तुत ‘वि.सं. २०३९ सालको क्षयाधिमास सम्बन्धी गणनाको सार’ नामक पत्रको विषयमा टिप्पणी – केशवरामले प्रस्तुत गरेको पत्रमा –
१. ज्योतिष गणना केन्द्र २. ज्योतिर्गणित ३. सूर्यसिद्धान्तयी तीन पक्षबाट सङ्क्रान्तिहरू ल्याई तिनको तुलना देखाइएको छ । १ तथा २ दृग्गणितअनुसारका हुन् । ३ चाहिँ परम्परावाद अनुसारको हो । दृग्गणितको विरुद्ध भएकोले सूर्यसिद्धान्त त्याज्य छ भन्ने केशवरामको भनाइ छ । दृग्गणितवादीहरू धेरै शाखामा बाँडिएका छन् । ती जम्मैको तुलना गर्नु यस सानो निबन्धमा सम्भव भएन । यसकारण दृग्गणितवादीहरूका दुईओटा प्रमुख पक्ष, चैत्रपक्ष तथा रैवतपक्षका सङ्क्रान्तिको सामान्य भेदसम्म देखाउने काम यस निबन्धमा गरिन्छ ।

वेङ्कटेश केतकर चैत्रपक्षका अघिसरा विद्वान् हुन् । उनको मुख्य ग्रन्थ ज्योतिर्गणित हो । वेधशाला निरीक्षक गोविन्द आप्टेले बनाएको सर्वानन्दकरण रैवतपक्षको प्रमुख ग्रन्थको रूपमा पाइएको छ । सिद्धान्तज्यौतिषको आचार्यपरीक्षाको अन्तिम वर्षको पाठ्यग्रन्थ भएर रहेको हुनाले सर्वानन्दकरण प्रसिद्ध भएको छ । अब पहिले चैत्रपक्षअनुसार वि.सं. २०३९ का अब्दप तथा तिथिशुद्धि ल्याइन्छन् । ज्योतिर्गणित (चैत्रपक्ष) अनुसार ३ वार ४९ घ १५ प २०.३१ तिथि, सर्वानन्दकरण (रैवतपक्ष) अनुसार ६.७७९१७२ वार १६.२०५२९२ तिथि यसको अर्थ – चैत्रपक्षअनुसार वि.सं. २०३९ को मेषसङ्क्रान्ति वैशाखकृष्ण षष्ठी मङ्गलवार परी पुण्यकाल बुधबार पर्छ । अर्थात् बैशाखसङ्क्रान्ति बुधबार पर्छ । रैवतपक्षअनुसार चाहिँ वि.सं. २०३९ को मेषसङ्क्रान्ति वैशाखकृष्ण द्वितीया शुक्रबार परी पुण्यकाल शनिबार पर्छ । अर्थात् बैशाख सङ्क्रान्ति शनिबार पर्छ । यहाँ बैशाख सङ्क्रान्तिको गणना देखाई तिनको फरक देखाइयो । यसरी प्रत्येक महिनामा चैत्रपक्ष तथा रैवतपक्षका सङ्क्रान्तिमा ४ दिनको फरक पर्छ । यताबाट दृग्गणितवादीहरूमा एक मत छैन भन्ने कुरा स्पष्ट हुन्छ । यो कलह भारतमा सुरु भएको १०० वर्ष जति भयो । तर तिनीहरूमा एकरूपता आउन सकेको छैन । यस अवस्थामा परम्परादेखि आइरहेको सूर्यसिद्धान्तको परम्परालाई विनाश गरी दृग्गणितअनुसारको पञ्चाङ्ग चलाउने भन्ने केशवरामको जो योजना छ – त्यो कुरा विभिन्न पक्षमा विभक्त दृग्गणितवादीहरूमध्ये एउटा पक्षको पिछलग्गु हुने सिवाय अरू केही होइन भन्ने स्पष्ट छ ।

अर्को कुरो ‘सङ्क्रान्ति भन्ने पदार्थ वेधशालाबाट निर्णित हुन सक्ने होइन’ भन्ने सिद्धान्तज्योतिष पढेका मानिस बुझ्दछन् । सामान्य ज्ञान भएका मानिस पनि यो कुरो बुझ्नु भनी दृग्गणितवादका दुई प्रमुख ग्रन्थबाट वि.सं. २०३९ का मेषसङ्क्रान्तिको गणना यहाँ देखाइएको हो । वेधशालाबाट मैले सङ्क्रान्ति मिलाएँ भनी जो मानिस भन्छन्, तिनले सङ्क्रान्ति भन्ने पदार्थको परिभाषासम्म पनि बुझेका छैनन्, अथवा तिनीहरू जानाजान झुटो बोलेर दुनियाँमा भ्रम फैलाउन लागेका छन् भन्ने कुरो स्पष्ट छ । सङ्क्रान्ति नै वेधोपलब्ध नभएपछि अधिमास तथा क्षयमास स्वतः वेधोपलब्ध हुँदैनन् भन्ने कुरो स्पष्ट हुन्छ ।

यसरी ज्योतिष विषयका आधिकारिक विद्वान् नयराज पन्तले नै स्पष्टसँग गणित गरेरै सूर्यसिद्धान्तीय ग्रहगणना पद्धतिलाई स्वीकार गर्नुपर्दछ भन्नुभएकाले र हाल भारतमा प्रचलित पञ्चाङ्गहरू पनि त्यसै अनुरुप चलिरहेका हुनाले सूर्यसिद्धान्तीय पञ्चाङ्ग छोडेर १८०० शकसंवत्लाई आधार मानी पाश्चात्य पद्धतिले ग्रहहरू हेर्नका लागि साधन गरिएका केतकी इत्यादि मत हाम्रा पञ्चाङ्ग साधनका लागि उपयुक्त छैनन् । केतकीय पद्धतिअनुसार साधन गरिएका ग्रहहरू हाम्रा धर्मशास्त्रले बताएका ईश्वरीय नियमअनुसार उपयुक्त हुँदैनन् । अनि अर्को कुरो हाम्रा पञ्चाङ्गहरू परिवर्तन गर्ने भन्ने कुरा चानचुने विषय होइनन् । भारत नेपाल भुटान आदि स्थानमा बस्ने विद्वान्हरूको साथ नलिई यिनलाई चलाउनु भनेको आफ्नै शरीरमा आफै बम बिष्फोट गराउनु बराबर हो ।

अन्त्यमा, धार्मिक उपयोगको निम्ति सत्ययूगदेखि अनुशरण गर्दै आएका वैदिक कालगणनाभित्रबाट तयार गरिएको सूर्यसिद्धान्तलाई निरन्तरता दिनु उचित हुन्छ । सूर्यसिद्धान्तसँग विरोध नपर्ने अन्य विषय अरु ग्रन्थबाट लिई पञ्चाङ्गमा समावेश गर्न सकिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिले पनि यो कुरो बडो राम्ररी बुझ्न जरुरी छ । यदि बुझेन र पशुपतिनाथ र रामलाई चलाएजस्तो सम्झी सुधारका नाममा बिगार गर्न थाल्यो भने कुनै पनि सनातनीलाई पच्नेवाला छैन । केतकीका आधारमा पञ्चाङ्ग निकाल्यो भने ती पञ्चाङ्गको बहिष्कार हुनेछन् । सनातनीहरूले सूर्यसिद्धान्तीय पञ्चाङ्गकै आधारमा अघि बढ्ने निश्चित देखिन्छ र आयतित ती पञ्चाङ्ग त्याज्य हुनेछन् । त्याज्य मात्र होइन त्यस खालका पञ्चाङ्ग निकाल्नुपर्दछ भनेर स्वीकृत दिने पञ्चाङ्ग निर्णायक विकास समितले पनि इतिहासमा कालो धब्बाका रूपमा चित्राङ्कित हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । सबैलाई चेतना होस् ।