बिजुक्छेले भूमि ऐन आफूहरुले ल्याएको भनि भक्तपुरबासीलाई भ्रमित बनाइराखेका छन् । जबकि भूमि ऐन, ०२१ सालमा राजा महेन्द्रले ल्याएका थिए । त्यस्तै, ०४३ असार २ गतेदेखि ०४६ चैत २४ गतेसम्म मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री थिए । त्यतिबेला भूमिसुधार र परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय थिए । उनैले भक्तपुरको नगरकोटलाई क्याबिनेटमार्फत पर्यटकीय स्थल घोषणा गरेका थिए ।
✍ रुषा थापा, भक्तपुर

काठमाडौं उपत्यकाभित्रै पर्दछ भक्तपुर । भक्तपुर नेपालकै सानो जिल्लासमेत हो । यहाँ दुईटा निर्वाचन क्षेत्र छन् । भक्तपुरमा विश्व सम्पदामा सूचीकृत मठमन्दिर, सम्पदा धेरै पाइन्छन् । यहाँको जमिन खेतीपातीका निम्तिसमेत निकै उर्वर मानिन्छ । तर, अहिले प्रायजसो जमिनमा घर र बाटो बनिसकेको छ ।
सानो जिल्ला भएपनि भक्तपुरमा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, आर्यघाट, वनजंगल, तालपोखरी, हदबन्दी बढीलगायतका जग्गा थुप्रै थिए । राजपरिवारको जग्गासमेत यहाँ थियो । तर, अहिले ती सबै जग्गा व्यक्तिका नाममा गइसक्यो । कतिपय नभएपनि व्यक्तिकै कब्जामा छ ।
भक्तपुरमा ढुंगेधारा, कुँवा, इनार, पाटीपौवा, चौतारा पनि पर्याप्त थिए । अहिले यी सम्पदा कतिपय मासिएका छन् त कतिपय जीर्ण अवस्थामा पुगेका छन् । भक्तपुर क्षेत्र नम्बर १, अन्तर्गत भक्तपुर नगरपालिका वडा नम्बर १, सल्लघारी तीनकुनेमा ठूलो खाली चौर छ । यो जग्गाको कुल क्षेत्रफल एक सय आठ रोपनी दुई आना एक दाम छ ।
वि.सं.२०२४ सालमा तत्कालिन राजा महेन्द्रले आफ्ना कान्छा छोराका निम्ति यो जग्गा प्रतिरोपनी एक हजार रुपैयाँमा स्थानीयसँग खरिद गरेका थिए । ०६५ सालमा राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको संरक्षणमा आएको छ । तर, ट्रष्ट यो जग्गाबारे बेखबर छ, जसको अनुचित लाभ मजदुर किसान पार्टी र तिनका कार्यकर्ताले उठाइरहेका छन् ।
एक सय आठ रोपनी जग्गामध्ये अहिले बढीमा ६०–६५ रोपनीमात्र बाँकी छ । अन्य जग्गा कब्जा गरेर मजदुर किसान पार्टीका कार्यकर्ताले ठूल्ठुला घर ठड्याएका छन् । अहिले यहाँ जग्गाको मूल्य आनाकै २५ लाखदेखि तीन करोडसम्म छ । यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुन लागेको नेकपा एमालेको ११औं महाधिवेशन सल्लाघारी तीनकुनेको यही खाली चौरमा हुँदैछ ।
महाधिवेशनका निम्ति मंसिर २०–२१ गतेदेखि नै तयारी शुरु भएको हो । अहिले धमाधम तयारी भइरहेको छ । सल्लाघारी तीनकुनेको खाली चौरमा कराँते, ड्राइभिङ सिकाउनेदेखि चटपट, चिया, बदम बेचबिखन गरिन्छ । घाम ताप्न वृद्धवृद्धाहरु तथा फुटबल, क्रिकेट खेल्न युवा, बालबच्चाहरु आउने गरेका छन् । तर, अहिले त्यहाँ बस्नै नसक्ने अवस्था सिर्जना भएको छ ।
एमालेले मजदुर खटाएर महाधिवेशनका लागि स्टेज बनाउने, अध्यक्ष केपी शर्मा ओलीको फोटो टाँस्ने काम गरिरहेको छ । ती मजदुर दिनभर खट्छन् । त्यहाँ आसपास एउटै सार्वजनिक शौचालय छैन । अनि चौरमै खाल्डो खनेर दिसापिसाब गरिरहेको अवस्था छ । जसका कारण पूरै चौर नै दुर्गन्धित र फोहोर बनेको छ ।
एकातिर चौरमा खुल्ला रुपमा दिसापिसाब गर्दा त्यहाँ आउने मानिसहरुलाई हेर्न लाजमर्दो भएको छ, अर्कोतिर जताततै दिसापिसाब गर्दा चौरमा जानै नसक्ने अवस्था सिर्जना भएको छ । सल्लाघारी चौरमा घाम ताप्न भनेर पुगेका एक व्यक्तिले भने, ‘अब त यहाँ आउँदिनँ । एमालेका कार्यकर्ता र मजदुरले जथाभावी दिसापिसाब गरे । न हिँड्न सक्ने अवस्था छ न बस्न । यस्तै रहिरहे महामारी नै फैलिन्छ ।’
एमालेले महाधिवेशन भव्य रुपमा मनाउने दाबी गर्दै आएको छ । तर, महाधिवेशनका कारण सल्लाघारीबासी रोगी बन्नेचाहिँ सम्भावना प्रवल छ । एमाले कार्यकर्ता र मजदुरको दिसापिसाबले यहाँ महामारी फैलाउने सम्भावना बढ्दै गएको हो । सरकारले नेपाललाई दशकअघि खुल्ला दिसापिसाबमुक्त घोषणा गरेको थियो । तर, मुलुककै प्रमुख राजनीतिक दलका कार्यकर्ताले खुल्ला रुपमा दिसापिसाब गर्दा यसबारे गम्भीर प्रश्न उब्जिएको छ ।
अर्कोतिर मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकाको कार्यक्षमतामाथि समेत प्रश्न उठेको छ । मजदुरका अध्यक्ष नारायणमान बिजुक्छे, पूर्वसांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आफूहरुले भक्तपुरमा धेरै विकास गरेको दाबी गर्दै आएका छन् । अनि मानिसको अधिक चहलपहल हुने स्थानमा एउटा सार्वजनिक शौचालय समेत नबनाउनु कस्तो विकास हो ?
सल्लाघारीमा मात्र होइन, भक्तपुरका अन्य ठाउँमा पनि कतै सार्वजनिक शौचालय भेटिँदैन । जबकि भक्तपुरमा पाँचतले मन्दिर, पचपन्ने झयाल, सुनको ढोका, दत्तात्रय मन्दिरलगायत सम्पदा हेर्न दिनहुँ हजारौंको संख्यामा सवदेशी र विदेशी पर्यटक आउने गरेका छन् । तर, उनीहरुलाई दिसापिसाब लागेमा जाने ठाउँ नै छैन । एउटै सार्वजनिक शौचालय यहाँ बनाएको पाइँदैन । यसले पर्यटकलाई असर पर्नुका साथै विदेशीसामु नेपालकै बेइज्जत हुन पुगिरहेको छ ।
मजदुरका अध्यक्ष नारायणमान बिजुक्छे, पूर्वसांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आफूहरुले भक्तपुरमा धेरै विकास गरेको दाबी गर्दै आएका छन् । अनि मानिसको अधिक चहलपहल हुने स्थानमा एउटा सार्वजनिक शौचालय समेत नबनाउनु कस्तो विकास हो ?
सल्लाघारी तीनकुनेको चौरमा भक्तपुर नगरपालिका र मजदुर किसान पार्टीको रजाइँ चलिआएको छ । जग्गा नेपाल ट्रष्टको भएपनि भाडाचाहिँ नगरपालिकाले असुल्दै आएको छ । हरेक वर्ष सल्लाघारी चौरमा विभिन्न जिल्लाबाट खसीबोका ल्याएर बेचबिखन गरिन्छ । त्यसरी खसीबोका बेचेबापत व्यापारीसँग नगरपालिकाले एक साताकै ४५ हजारदेखि लाखौँ रकम असुल्यो । यहाँ कराँते, ड्राइभिङ सिकाएको पनि रकम नगरपालिकाले उठाउने गरेको छ । तर, त्यसरी असुलेको रकम फेरि नगरपालिकाको खातामा नगइ मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छे, सुवाल, प्रजापतिलगायतको गोजीमा जाने गरेको बताइन्छ ।
सल्लाघारी चौरमा दिनहुँ हजारौँ सर्वसाधारण आउँछन् । फुटबल, क्रिकेट, कराँते सिक्ने, विभिन्न खानेकुरा बेचबिखन गर्ने पनि उत्तिकै हुन्छ । उनीहरु यहाँ घण्टौँ बस्छन् । अनि केही गरी दिसापिसाब लागेमा खुल्ला रुपमै गरिन्छ । अनि यस्तो ब्यस्त ठाउँमा नगरपालिकाले एउटै सार्वजनिक शौचालय नबनाउनुको कारण के हो ?
२०८१ फागुन १६ गतेदेखि १९ गतेसम्म मजदुर किसान पार्टीले आठौं महाधिवेशन यही जग्गामा गरेको थियो । त्यतिबेला पनि खाल्डा खनेरै दिसापिसाब गरिएको थियो । पछि त्यो खाल्डा नपुर्दा त्यहाँ बस्नै नसक्ने अवस्था सिर्जना भएको थियो । कतिपय त बिरामी नै परे । ०४८ देखि ०७० सालसम्म भक्तपुर क्षेत्र नम्बर १, बाट मजदुरका अध्यक्ष नाराणमान बिजुक्छेले चुनाव जिते । ०७४ देखि ०७९ सम्म उनैले उठाएका प्रेम सुवालले चुनाव जिते । तर, चुनाव जितेको यतिका वर्ष भएपनि उनीहरुले नगरीनहुने काम पनि गरेका छैनन् । उल्टै राजाको पालामा या ०४६ सालअघि गरिएका कामलाई आफ्नो दाबी गरी उनीहरुले भक्तपुरबासीलाई भ्रमित बनाउँदै आएका छन् ।
बिजुक्छेले भूमि ऐन आफूहरुले ल्याएको भनि भक्तपुरबासीलाई भ्रमित बनाइराखेका छन् । जबकि भूमि ऐन, ०२१ सालमा राजा महेन्द्रले ल्याएका थिए । त्यस्तै, ०४३ असार २ गतेदेखि ०४६ चैत २४ गतेसम्म मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री थिए । त्यतिबेला भूमिसुधार र परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय थिए । उनैले भक्तपुरको नगरकोटलाई क्याबिनेटमार्फत पर्यटकीय स्थल घोषणा गरेका थिए ।
तर, यो पनि आफैंले गरेको भनि बिजुक्छे, सुवालले भक्तपुरबासीलाई भ्रममा राखेका छन् । भक्तपुरमा जतिपनि मठमन्दिर, सम्पदा छन्, ती राजाको पालामा बनेका छन् । ०४६ सालपछि यहाँ एउटै मठमन्दिर बनेको पाइँदैन । अनि बिजुक्छे, सुवालहरू चाहिँ भक्तपुरका सबै मठमन्दिर, सम्पदा आफूहरुले बनाएकोजस्तो स्वाङ गर्छन् ।
सल्लाघारी आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेश, दुवाकोट जाने ट्याम्पो पार्क, सिर्जनानगर, राधेराधे र राधेराधेको भाटभटेनी, निर्माणाधीन १५ तले भवन, ड्राइभिङ सेन्टरहरु, राजेश हार्डवेयर र आसपास घर बनेका जग्गा सरकारी, ऐलानी हुन् । ०२१ सालमा नापी हुँदा यो जग्गालाई सरकारी, ऐलानी, गुठी भनि राखिएको थियो । यहाँ ०२९ सालसम्म एउटै घर बनेको थिएन । ०३२ सालमा मजदुरका एक कार्यकर्ताले यहाँ छाप्रो हाले । ०३५ सालमा तिनै व्यक्तिले ढुंगामाटोमा घर बनाए । त्यसपछि यहाँ मजदुरका अन्य कार्यकर्ताले पनि जग्गा कब्जा गरे । कतिपयले घर बनाए त कतिपयले अरुलाई बेचे । सल्लाघारी चौरअगाडि ठूलो घर छ, त्यो विकुलाल खिउँजुको हो । मजदुरका कार्यकर्तासमेत रहेका उनले तीन वटा ढुंगेधारा पुरेर घर बनाएको आरोप छ ।
भक्तपुरमा एउटै व्यापार/व्यवसाय दर्ता भएको छैन । बत्ती, पानी, फोहोरको शुल्क लिइँदैन । सरकारी जग्गा, बाटो नभएको जग्गामा घर बनाएपनि नगरपालिकाले प्रमाणपत्र दिन्छ । घरबहाल कर पनि तिर्नुपर्दैन । कर नलिने अनि भोट लिने ! यही कारणले मजदुरले यत्रो वर्षादेखि यहाँ चुनाव जित्दै आएको छ । भक्तपुरमा मजदुर पार्टीले विकास होइन विनास गरेको छ र एकप्रकारले जङ्गली राज चलिरहेको छ भनियो भने अतिरञ्जना ठहरिने छैन ।
प्रतिक्रिया